
चितवन । नारायणी नदी किनारमा आज मंगलबारदेखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको महोत्सव मंसिर २ गतेसम्म चल्नेछ ।



मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले काठमाडौंबाट भर्चुअल माध्यममार्फत महोत्सव उद्घाटन गर्दै खेलकुद र पर्यटनलाई जोड्न यस्तो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले पहिलो दिनको शोभायात्रामा देखिएको उत्साहले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो । लीलाचोकदेखि पुलचोकसम्म निकालीएको झाँकीसहितको शोभायात्रामा हजारौंको सहभागिता थियो ।
महोत्सवमा ३ सयभन्दा बढी व्यापारिक, कृषि र घरेलु उत्पादनका स्टल रहेका छन् । दर्शक आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ प्रवेशद्वार निर्माण गरिएको छ, जसबाट भित्र पस्ने दर्शकले दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब र पेरिसको आइफिल टावरका प्रतिकृति अवलोकन गर्न सक्नेछन् ।
कार्यक्रमअन्तर्गत बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथलेटिक्स र बुद्धिचाललगायतका खेल प्रतियोगिता हुनेछन् । साथै, खेल क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिने आयोजकले बताएका छन् ।
त्यस्तै महोत्सव प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पहिलो दिन आज भने प्रवेश निःशुल्क राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस