त्यस्तै, अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका श्रव्यदृश्य सामग्रीका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाका प्रत्यक्षदर्शी राससकर्मी स्थलगत रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा पटाकाको चर्को आवाज र धुवाँले आसपासका सर्वसाधारण प्रभावित भएका थिए । धुवाँका कारण श्वास फेर्नसमेत कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटना पनि देखिएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुन पाएन । उक्त पटाका मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।
घटनास्थलमा सुरक्षाकर्मी पनि उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफूहरू सङ्ख्यामा कम र पटाका पड्काउनेहरू धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका थिए । उहाँका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको थियो । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ । टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका बासिन्दा प्रभावित भएको बताउनुभयो । राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्नसमेत नपाएको उहाँको भनाइ छ । चाडपर्व मनाउने नाममा गरिने यस्ता गतिविधिले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको उहाँले बताउनुभयो ।
पटाकाको आवाजले शान्त वातावरणमा असर पुर्याउनुका साथै धुवाँका कारण घरभित्रै बस्नसमेत असहज भएको स्थानीयवासीको गुनासो छ । बारुदजन्य पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दमलगायत समस्या निम्तिन सक्छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । पटाकाबाट निस्कने धुवाँमा रहेका विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् ।
यद्यपि, एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन । यसको जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत पाँचतल्ले मन्दिरजस्तो ऐतिहासिक सम्पदाका काठका संरचनामा आगोको झिल्को परेर आगलागी भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयवासीले उठाएका छन् ।
सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी भएकाले पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ छ । तिहारको अन्तिम दिन आज पनि यस्तै घटना नदोहोरियोस् र ऐतिहासिक सम्पदा तथा सर्वसाधारणको सुरक्षामा सबैले ध्यान दिऊन् भन्ने अपेक्षा स्थानीयवासीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस