आज: २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15, May, 2026

बाँकेमा पाँचौँ जिल्लास्तरीय डोजाङ प्रमुख प्रशिक्षण सम्पन्न, तेक्वान्दो विकासमा नयाँ ऊर्जा


  • आक्रमण न्युज
  • २०८२ पौष २७, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ४०५ पाठक संख्या
  • नेपालगन्ज । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेको आयोजनामा सञ्चालित पाँचौँ जिल्लास्तरीय डोजाङ प्रमुख प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    कोहलपुर नगरपालिका वडा नम्बर १, कौशिलानगरस्थित सुपरस्टार तेक्वान्दो डोजाङमा पुस २६ र २७ गते गरी दुई दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा बाँके जिल्लाभर सञ्चालनमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुख तथा प्रशिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    ‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल मन्त्रका साथ आयोजना गरिएको कार्यक्रममा तेक्वान्दो खेलका आधुनिक प्रशिक्षण प्रविधि, अद्यावधिक खेल नियम, खेलाडी विकासका रणनीति तथा डोजाङ व्यवस्थापनसम्बन्धी विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रमको समापन समारोहमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) बोर्ड सदस्य श्रीमान थापा मगरले जिल्लास्तरमै यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुनु तेक्वान्दो खेलको दीर्घकालीन विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले प्रशिक्षकहरूको दक्षता वृद्धि नै गुणस्तरीय खेलाडी उत्पादनको आधार भएको उल्लेख गरे।

    उक्त कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेले बाँके जिल्लामा तेक्वान्दो खेललाई व्यवस्थित, अनुशासित तथा प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

    समापन समारोहमा सहभागी प्रशिक्षक तथा डोजाङ प्रमुखहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। नेपाल तेक्वान्दो संघ बाँकेका सचिव जगवीर चौधरीका अनुसार यस किसिमका प्रशिक्षण कार्यक्रमहरूले जिल्लाभरका डोजाङहरूमा एकरूपता कायम गर्नुका साथै खेलाडीहरूलाई दक्ष, अनुशासित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

    कार्यक्रमले बाँके जिल्लामा तेक्वान्दो खेलको समग्र स्तर उकास्न सकारात्मक योगदान पुर्‍याउने सहभागीहरूको धारणा रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट