आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

रूपनगर क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना, जेहेन्दार विद्यार्थीलाई वार्षिक सहयोग


  • आक्रमण न्युज
  • २०८३ बैशाख २, बुधबार मा प्रकाशित १ दिन अघि
  • ४७ पाठक संख्या
  • सप्तरी । सप्तरीको रूपनगरस्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ। शिक्षा क्षेत्रमार्फत समाजसेवामा योगदान पुर्‍याउने उद्देश्यले उक्त छात्रवृत्ति सञ्चालनमा ल्याइएको हो।

    उच्च अदालतका न्यायाधीशबाट अवकाश प्राप्त प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालको स्मृतिमा सो छात्रवृत्ति स्थापना गर्नुभएको हो। क्याम्पस प्रमुख दीपक कुमार गजुरेलका अनुसार ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ अन्तर्गत क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिनेछ।

    छात्रवृत्ति सञ्चालनसम्बन्धी क्याम्पस र दाता ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। उक्त अवसरमा ढकालले आफ्नो जन्मथलोमा शिक्षा क्षेत्रमा केही योगदान गर्ने अभिप्रायले छात्रवृत्ति सुरु गरिएको बताउँदै आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।
    सम्झौताअनुसार कम्तीमा पाँच वर्षसम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।

    क्याम्पसले तोकेको मापदण्डका आधारमा योग्य विद्यार्थी छनोट गरी उपयुक्त समयमा छात्रवृत्ति वितरण गरिने क्याम्पस प्रशासनले जनाएको छ।
    यस पहलले स्थानीय स्तरमा उच्च शिक्षामा पहुँच विस्तार गर्न र आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट