आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

दुध र पानी छुट्याउनु जरुरि


  • आक्रमण न्युज
  • २०८३ बैशाख १९, शनिबार मा प्रकाशित ३३ मिनेट अघि
  • २८ पाठक संख्या
  • सूचना प्रविधिको अलावा अन्य विज्ञान-प्रविधिको विकास सँगसँगै प्राप्त सुविधाले प्रकाशमय अथाह संसारमा कावा खाँदै रमाउँदै जीवनको दिव्य अनुभूति गर्ने केवल मानव जातिले मात्रै हो । अनि यही विज्ञान-प्रविधिको माध्यमबाट पृथ्वीको त कुरा छोडौँ अनन्त ब्रह्माण्डको अनुमानसमेत लगाउन थालेका छन् मान्छेहरूले ! हो न हो, भोलिका दिनमा पत्ता लाग्ने अकल्पनीय तथ्य हामीले पत्याउन बाध्य भयौँ भने त्यो पनि कुनै अनौठो हुने छैन ! अर्थात् अहिलेको विज्ञान-प्रविधिको विकासले लिएको गतिलाई प्रकृतिले रोकेन भने सुदूर भविष्यका सन्ततिहरूले आजको हाम्रो जीवनकाललाई पनि जंगलीहरूको जीवन कथा मानेर अभिरूचिपूर्वक अध्ययन गर्नेछन् ।

    हाम्रा सनातनी धर्मग्रन्थ र धर्मशास्त्रमा वर्णित कथाहरूले हामीलाई पृथ्वी, अन्तरिक्ष र ब्रह्माण्डसम्म सजिलै काल्पनिक शयर गराउँछन् । यदि विज्ञानलाई छाडेर शास्त्रीय र आध्यात्मिक बन्ने हो भने ईहलोक, परलोक, पाताललोक र भएभरका सबै लोकतिर हामी घुम्न सक्छौँ अनि चित्तानन्दको अनुभूति गर्न सक्छौँ । त्यस्तै, जन्म-जन्मान्तरसम्म निरन्तर जन्मिइरहन सक्छौँ । त्यसो त, देवी-देवताहरूले स्वर्गलोकदेखि पृथ्वीलोकसम्म यात्रा गर्दा पनि मनचाहे बाहनमा यात्रा गर्दै आफ्नो लक्ष्यमा पुग्थे ।

    शास्त्रीय मान्यतालाई आधार लिँदा द्रुतगतिका वायुयान र वायुपंखी घोडामा देवता र दानवहरू सवार भएका कथा सुने/पढेकै हौँ । अझ भनौँ, देवदेवीहरू मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । तर यी साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो होला ! दैवीय शक्तिको क्षमता नहुनेहरूमा उड्न र गुड्न असम्भव थियो । अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । यी र यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ ।

    यहाँ भौतिक विज्ञान र आध्यात्मिकतालाई जोड्नुमा खास अर्थ छ र केही भन्नु पनि छ ! विज्ञान-प्रविधिले भौतिकरूपमा आफ्नो लक्ष्यलाई स्पर्श गराउँछ भने आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ । हरेक लक्ष्यलाई सरलतापूर्वक काल्पनिक भेदन गर्दछ । बाहिरी चक्षुको दृश्यशक्ति र मनचक्षुको दृश्यशक्तिमा पनि उस्तै अन्तर हुन्छ । जुन अंक र शून्य जस्तै नै हो । अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । अब यहाँ भन्दा भित्र र गहिराइमा नजाऔँ किनकि हामीलाई बाहिर निस्कन बाधा हुन्छ ।

    हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ । जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ । समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए ! सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होलान् !

    विद्यार्थीकालमा विद्यार्थी नेताहरूले ‘पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् । हुनपनि परम्परागत मौसमी उत्पादनमा निर्भर नेपालीहरूले छरिएको भ्रमलाई कतिपयलाई ‘हो’ लाग्यो ।

    अहिले त सबै देखियो नि के रहेछ सत्य र के रहेछ भ्रम भन्ने सबै बुझियो ! राजाहरूको त हैसियत थियो खर्च गरे तर अचेल जनताका सर्वहारा गरीब नेताहरूले लगभग करोडका घडी, लाखौंका ह्याण्डब्याग, रिसोर्टमा बाहेक होटलमा निन्द्रै नलाग्ने ऐयाशी जीवन कुन हैसियतले मिल्यो ?

    दशौँलाखका थ्रीपीस सुट कुन हैसियतले लगाउँछन् होला ? जनताका छोराछोरीका घर जलेपछि खुला आकाशमुनि बास हुन्छ, त्रिपाल पनि पाउँदैनन् । तर नेताको घर जल्दाबित्तिकै लखनउका नवाफका जस्ता भव्य महलमा बास कसरी हुन्छ ? राजाले बेमौसमको सामान्य सागसब्जी विदेशबाट मगाएर खाएकाले उनलाई सामन्तीको नाइके देख्ने झीरले खोलेका आँखाले गरीब जनताको नेता भन्नेले एकाध वर्ष मन्त्री-सन्त्री हुँदैमा राजाभन्दा डबलको हैसियत र अझ डबलको सामन्तीका नाइके भएको दुनियाँले देखेका छैनन् र ?

    त्यस्तै मौसमको तुलनात्मक जानकारी पाएको त फेसबुकमा देखिने तस्बिरहरूमा लगाएका पोशाकहरू मजैले देखिएकै छन् त ! अनि आधुनिक नेपालका निर्माता शाहवंशका राजाहरूको शताब्दिऔँ पुरानो विरासत र हैसियतले कहिलेकाहीँ फरक भूगोलका उत्पादित बस्तु हवाईजहाजको माध्यमबाट नियमित उडानमा ल्याउनु र उपभोग गर्नु कति नै ठुलो कुरा थियो र ! छर्नेले भ्रम धुमधामले छरे, हामीले त्यही भ्रमलाई पत्याउँदै गायत्रीमन्त्र बनाएर जप्यौँ । यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ !

    विज्ञान र प्रविधिको विकास सँगसँगै उपलब्ध साधनहरूका माध्यमबाट राजसंस्थाका बारेमा छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए । स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका धोल्लो बोली र लुला खुट्टा देखिनु त्यसैको द्योतक मान्न सकिन्छ !

    शास्त्रीय कुराहरूलाई पाण्डित्यपूर्ण तरिकाले ब्याख्या गर्दा अनुमानित मनको आनन्द वा मनमा अशान्ति जे गराउने हो गराइरहन्छ । गोलो पृथ्वीका त कुरा छोडौं, अन्तरिक्ष यात्रीका रकेटभित्रका गतिविधि पनि पृथ्वीबाटै प्रत्यक्ष देख्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट