
ज-जसलाई राजतन्त्रको तलतल लागेको छ, उनीहरूले यति बुझून् कि कम्प्युटर र स्मार्ट फोनको जमानामा टाइपराइटर र आकाशवाणी बोकेर आजको अल्गोरिदम हल गर्न सकिंदैन । झन् भोलिको जटिलताको त भेउसम्म पनि पाउन सकिने छैन । यसले नयाँ युगको आवश्यकता किमार्थ पूरा हुँदैन । त्यसैले ‘राजतन्त्रको’ तलतल केवल मृगमरीचिका मात्रै हो ।



पौडी खेलमा ‘फ्रिस्टाइल’ प्रवर्ग हुन्छ, जहाँ खेलाडीले आफ्नै अनुकूलतामा डाइभ हान्दै हात-खुट्टा फट्कारेर पौडी खेल्न सक्छ । अहिले मुलुकको राजनीतिमा पनि त्यही शैली हावी छ ।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसरी आफू सत्तामा टिकिरहने भन्ने ध्याउन्न छ भने सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेस पालो मिचेरै भए पनि चाँडै सत्तासीन हुन चाहन्छ । सत्ताका साझेदार अन्य पार्टीहरू पनि आ-आफ्नो गच्छे र हैसियत अनुसारको सत्ताको सुस्वाद भोजन अक्षुण्ण रहोस् भन्ने नै चाहन्छन् । यसरी सत्ताधारी दलका विभिन्न घटक सत्ताको पोखरीमा आ-आफ्नै ढंगले बाँकटे हान्दैछन् ।
उता प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई भने सरकारको छायाँसम्म पनि मन परेको छैन । ऊ सदन, सडकदेखि सार्वजनिक कार्यक्रममा समेत सरकारको उछित्तो काढेरै अलोकपि्रयता सावित गर्न कम्मर कसेर लागेको छ । संभवतः वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘गठबन्धन’ बदलेर आफूहरूलाई धोका दिएकोमा एमाले क्षुब्ध छ । तथापि प्रतिपक्षमा बसेर गुण-दोषका आधारमा सरकारको समर्थन र विरोध गर्नुभन्दा फगत आलोचनालाई नै उसले राजनीतिक हतियार बनाएको छ । यसबाट नेकपा एमाले सत्ता गुमाउनुपर्दाको पीडानुभूति गरिरहेको लख काट्न सकिन्छ ।
त्यस्तै अर्का दुई प्रतिपक्षी दलहरूमध्ये तिलस्मी ढंगले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको ‘प्रोग्रेस चार्ट’ ले ‘डाउनवार्ड टे्रन्ड’ -घट्दो क्रम) समातिसकेको छ । उनको लोकपि्रयताको ग्राफलाई ‘अपवार्ड मूभ’ दिन मुलुकमा केही न केही घटना घट्नुपर्ने रहेछ । कुनै प्राकृतिक वा मानवजन्य घटना, जहाँ सरकारलाई एकोहोरो गाली बर्साउन पाइयोस् । पारम्परिक दलहरूलाई एकमुष्ट आलोचना गर्न पाइयोस् । अनि जनतालाई उही आशामुखी मायाजालमा पार्न सकियोस् । अन्यथा शून्य समयको राजनीतिक फन्डा उतिसारो नबिक्ने रहेछ भन्ने कुराको भेउ पाएरै कहिलेकाहीं रवि लामिछाने आफैं अलापिन थालिसकेका छन् ।
प्रतिपक्षकै भूमिकामा रहेको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा भने ‘राजतन्त्र’को उत्खननमा लागेको छ । अक्सर लबेदा सुरुवाल अनि रातो टीकामा ठाँटिने लिङ्देन गेटअपले नै आफूलाई ‘ब्राहृमणवादी’ र सार्वजनिक जीवनमा कट्टर ‘हिन्दुवादी’ देखिन हरसम्भव कोसिस गरिरहेका हुन्छन् । संभवतः उनलाई लागेको छ, राजतन्त्रको फिर्ती त्यही ब्राहृमणवाद र हिन्दुवादको पैयाजडित रथारोहणबाट हुनेछ । पछिल्लो समय लिङ्देनको होस्टेमा हैंसे थप्न बाजुरेली मिश्र पनि उतै पुगेका छन् ।
कुनै बेला प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने स्थानमा पुग्ने उत्कट मनोकांक्षाका साथ ‘वैकल्पिक’ राजनीतिको वकालत गर्दै राजनीतिमा छिरेका बीबीसी नेपाली सेवाका पत्रकार रवीन्द्र मिश्र अहिले ‘राजाको पाउमा’ दाम राख्नुमै उन्नत विकल्प देख्न थालेका छन् । गणतन्त्र आएयता नागार्जुन दरबारमा आश्रय लिइरहेका ज्ञानेन्द्र शाहबाट ‘नारायणहिटी दरबार’मा दशैंको टीका थापेर आशीर्वाद लिन पाइयोस् भन्ने नै उनको अन्तिम राजनीतिक अभीष्ट बन्न पुगेको छ । मिश्र आफ्नो दिलोज्यानले सो अभियानमा निष्ठापूर्वक लागेका छन् । संभवतः उनको राजनीतिक यात्रामा देखिएको साझा-विवेकशीलको मोड ‘राजतन्त्र’कै फायर खोल्ने ‘कभर अप’ थियो । तर, धेरै मानिस उनको मिसनमा झुक्किए ।

प्रतिक्रिया दिनुहोस