बाँके। बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३÷८४ मा बजेट सिलिङ बढेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा सिक्टा आयोजनालाई रु दुई अर्ब ५५ करोड विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा सो आयोजनालाई रु एक अर्ब ५७ करोड विनियोजन गरिएको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको बजेटमा भन्दा यस वर्ष करिब रु एक अर्ब बढाएर बजेट विनियोजन भएको छ । सिक्टा आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण धमाधम भइरहेको छ भने सिधनीया, प्रसेनीपुर र अकलघरवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
गुरुवागाउँ र अकलघरहवाका उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पूर्व तयारीका कामहरू भइरहेका सूचना अधिकारी साहले बताउनुभयो । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आव २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सूचना अधिकारी साहले जानकारी दिनुभयो । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस