Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ८, मंगलबार | Tue, 24, Nov, 2026

२८ छक्काको वर्षा गर्दै वैभव सूर्यवंशीको विश्व कीर्तिमान, ५३ बलमा बनाए २०४ रन


  • आक्रमण न्युज
  • २०८३ मंसिर ८, मंगलबार मा प्रकाशित २१ मिनेट अघि
  • १३ पाठक संख्या
  • रौतहट। भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले छक्काको वर्षा गर्दै क्रिकेट इतिहासमा अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका छन् । मात्र १५ वर्षको उमेरमा उनले एकै इनिङ्समा २८ छक्का प्रहार गर्दै व्यावसायिक क्रिकेटमा एउटै पारीमा सर्वाधिक छक्का लगाउने विश्वकै पहिलो ब्याटर बनेका छन् ।

    दोहामा भारत ‘ए’ र यूएईबीच एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत खेलिएको मुकाबिलामा वैभवले आक्रामक ब्याटिङ गर्दै ५३ बलमा २०४ रन बनाए । उनको विस्फोटक इनिङ्समा सात चौका र २८ छक्का समावेश रहे ।

    वैभवले आफ्नो पारीमा लगातार छक्का प्रहार गर्दै विपक्षी बलरलाई निरीह बनाएका थिए । क्रिकेटको कुनै पनि फर्म्याट, उमेर समूह वा व्यावसायिक प्रतियोगितामा एकै इनिङ्समा २८ छक्का प्रहार गर्ने उपलब्धि यसअघि कुनै खेलाडीले हासिल गरेका थिएनन् ।

    यस प्रदर्शनसँगै वैभवले लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो १००, १५० र २०० रन पूरा गर्ने विश्व कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन् । उनले मात्र ५२ बलमा दोहोरो शतक पूरा गर्दै एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा छिटो २०० रन बनाउने कीर्तिमान कायम गरेको विवरणमा उल्लेख छ ।

    एउटै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी

    व्यावसायिक क्रिकेटको एक इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटरहरूको सूचीमा वैभव सूर्यवंशी शीर्ष स्थानमा पुगेका छन् ।

    १. वैभव सूर्यवंशी — २८ छक्का (लिस्ट ‘ए’)
    २. तन्मय अग्रवाल — २६ छक्का (फर्स्ट क्लास)
    ३. कोलिन मुन्रो — २३ छक्का (फर्स्ट क्लास)
    ४. डार्सी शर्ट — २३ छक्का (लिस्ट ‘ए’)

    यसअघि भारतका तन्मय अग्रवालले रणजी ट्रफी २०२३–२४ को प्लेट समूहमा अरुणाचल प्रदेशविरुद्ध हैदराबादबाट खेल्दै एक इनिङ्समा २६ छक्का प्रहार गरेका थिए । उनले उक्त खेलमा १८१ बलमा ३६६ रन बनाएका थिए, जसमा ३४ चौका र २६ छक्का समावेश थिए ।

    त्यस्तै, न्युजिल्यान्डका कोलिन मुन्रोले सन् २०१४–१५ मा प्लन्केट शिल्ड प्रतियोगितामा फर्स्ट क्लास क्रिकेटको एक इनिङ्समा २३ छक्का प्रहार गरेका थिए ।

    अस्ट्रेलियाका डार्सी शर्टले सन् २०१८ मा वेस्टर्न अस्ट्रेलियाबाट खेल्दै क्वीन्सल्यान्डविरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा एकै इनिङ्समा २३ छक्का प्रहार गरेका थिए ।

    वैभवको यो ऐतिहासिक प्रदर्शनले युवा उमेरमै विश्व क्रिकेटमा उनको असाधारण प्रतिभा र आक्रामक ब्याटिङ क्षमतालाई पुनः प्रमाणित गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑