Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ८, मंगलबार | Tue, 24, Nov, 2026

वागमती सिंचाइ आयोजनामा ज्यालादारी कर्मचारीको धर्ना जारी, वार्ताको आश्वासनपछि खुल्यो मुख्य गेट


  • आक्रमण न्युज
  • २०८३ मंसिर ८, मंगलबार मा प्रकाशित १६ मिनेट अघि
  • २१ पाठक संख्या
  • सर्लाही  । वर्षौंदेखि ज्यालादारीमा कार्यरत कर्मचारीलाई नयाँ नीतिका कारण सेवाबाट हटाउन खोजिएको भन्दै आन्दोलनरत वागमती सिंचाइ आयोजनाका कर्मचारीले धर्ना प्रदर्शनलाई निरन्तरता दिएका छन्। समस्या समाधानका लागि विभागीय टोलीले स्थलगत निरीक्षण गरी वार्ता गर्ने मौखिक आश्वासन पाएपछि कर्मचारीले आयोजनाको मुख्य प्रवेशद्वारमा लगाएको ताला भने खोलेका छन्।

    आन्दोलनरत कर्मचारी विनोद पासवानका अनुसार आज बिहान कर्मचारीहरूले आयोजनाको मुख्य गेटमा तालाबन्दी गरेका थिए। त्यसपछि आयोजना प्रमुख सुरेन्द्र पौडेलले सिंचाइ विभागमा समस्या समाधानका लागि पहल गरेपछि आगामी मंसिर ११ र १२ गते विभागीय टोलीले आयोजनाको स्थलगत भ्रमण गरी कर्मचारीका मागबारे छलफल गर्ने आश्वासन दिइएको हो।

    सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको आग्रह र आयोजना प्रमुखको मौखिक प्रतिबद्धतापछि तालाबन्दी फिर्ता लिइएको पासवानले बताए। यद्यपि कर्मचारीको आन्दोलन र धर्ना भने रातदिन जारी रहने उनले स्पष्ट पारे।

    नयाँ सिंचाइ नम्र्स कार्यान्वयनका नाममा वर्षौंदेखि काम गर्दै आएका ज्यालादारी कर्मचारीलाई निजामती कर्मचारीसरह उमेर हद लागू गरी सेवाबाट हटाउन खोजिएको आन्दोलनरत पक्षको आरोप छ। यसबाट आफूहरूको रोजगारी गुम्ने र परिवारको जीविकोपार्जनमा समेत संकट आउने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

    सुरज पासवानको नेतृत्वमा भइरहेको आन्दोलनबाट वागमती सिंचाइ आयोजनाका २४४ जना तथा वागमती, मनुष्मारा र झाँझ सिंचाइ व्यवस्थापन कार्यालयका थप २० जना गरी कुल २६४ जना ज्यालादारी कर्मचारी प्रभावित हुने अवस्था रहेको जनाइएको छ।

    कर्मचारीहरूले गत कात्तिक १६ गतेदेखि आयोजना परिसरमा धर्ना दिँदै आएका छन्। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पाँचबुँदे मागसहित ज्ञापनपत्र बुझाएर सुरु गरिएको आन्दोलन २२ दिनभन्दा बढी समय बितिसक्दा पनि सम्बोधन नभएको भन्दै उनीहरूले सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन्।

    आन्दोलनरत कर्मचारीका अनुसार वर्षौंदेखि आयोजनाले खटाएको जिम्मेवारी पूरा गर्दै आएका उनीहरूले प्रतिकूल मौसम, वर्षा तथा चाडपर्वको समेत पर्वाह नगरी काम गरेका छन्। कतिपय अवस्थामा खुला आकाशमुनि रहेर काम गर्नुपरे पनि सेवा र जिम्मेवारीबाट पछि नहटेको उनीहरूको भनाइ छ।

    कर्मचारीका पाँचबुँदे माग

    आन्दोलनरत ज्यालादारी कर्मचारीले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने, २०८३ कात्तिक ११ गते प्रकाशित सिंचाइ नम्र्समा आवश्यक संशोधन गर्नुपर्ने र सिंचाइ विभागको पत्रसहित मन्त्रालयमा दर्ता भएको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्।

    त्यस्तै, चाडपर्व खर्च तथा पोशाक उपलब्ध गराउनुपर्ने, महँगी भत्ता दिनुपर्ने र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने उनीहरूको माग छ।

    आयोजना प्रमुख सुरेन्द्र पौडेलले विभागस्तरमा वार्ता टोली गठन भइसकेको र टोली चाँडै आयोजनामा आएर कर्मचारीसँग छलफल गरी समस्या समाधानको प्रयास गर्ने बताएका छन्। कार्यालयको कामकाज प्रभावित हुने गरी गरिएको तालाबन्दी फिर्ता गराइएको पनि उनले जानकारी दिए। विभागीय टोलीको स्थलगत भ्रमण र वार्ताबाट आफूहरूको माग सम्बोधन हुने अपेक्षा आन्दोलनरत कर्मचारीले गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑