चितवन। आँखाको उपचार गर्ने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, चितवन शाखाले पूर्वी चितवनको पर्सामा रु दुई करोड १५ लाखको लागतमा भवन निर्माण गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती र नेपाल नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले संयुक्त रुपमा उक्त आँखा उपचार भवनको आज उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा जग्गादाता जनकबहादुर पाण्डेको शालिक अनावरण गरिएको थियो ।
नगरप्रमुख खनियाँले भवनबाट स्थानीयलाई आँखा उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । खनियाँले अस्पतालका तर्फबाट आँखा उपचार केन्द्रलाई रु ३० लाखमा खरिद गरिएको फेको मेसिन हस्तान्तरण गर्नुभयो । नेत्रज्योति सङ्घ चितवनका सभापति जयराम श्रेष्ठले दाताले सहयोग गरेको जमिन र भरतपुर आँखा अस्पतालको रु दुई करोड १५ लाखमा भवन निर्माण पूरा भएको बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घ चितवनको मुख्य अस्पताल भरतपुरमा रहेको छ ।
कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको इश्वरपुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटी क्लिनिक छ । सोबाहेक सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस