आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

सुनसरीको घटनाको प्रभाव सप्तरीमा पनि, हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शन


  • आक्रमण न्युज
  • २०८३ श्रावण १३, बुधबार मा प्रकाशित १ दिन अघि
  • ६० पाठक संख्या
  • डिमन क्षेत्रमा सडक अवरुद्ध, दोषीमाथि कडा कारबाही र शान्ति–सुरक्षाको प्रत्याभूति गर्न स्थानीयको माग

    जनता रैका – सप्तरी

    सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको प्रभाव छिमेकी जिल्ला सप्तरीमा समेत देखिएको छ। घटनाको विरोध जनाउँदै सप्तरीको तिरहुत गाउँपालिकास्थित डिमन क्षेत्रमा स्थानीयहरूले प्रदर्शन गरेका छन्।

    प्रदर्शनकारीहरूले हुलाकी राजमार्गको बीच सडकमा टायर बालेर केही समय यातायात अवरुद्ध पारेका थिए। उनीहरूले सुनसरी घटनामा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणको शान्ति–सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।

    सडक अवरुद्ध भएपछि हुलाकी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन रोकिएका थिए भने यात्रुहरूले केही समय सास्ती व्यहोर्नुपरेको थियो। प्रदर्शनका कारण उक्त क्षेत्रमा जनजीवनसमेत प्रभावित भएको थियो।

    स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ। सुरक्षा निकायले प्रदर्शनकारीसँग संवाद गर्दै यातायात सञ्चालनलाई सहज बनाउने प्रयास गरेको थियो।

    स्थानीय प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाउँदै कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

    यस घटनाले स्थानीय तहमा सुरक्षा सतर्कता बढाइएको छ भने सम्बन्धित निकायले सम्भावित तनाव फैलिन नदिन आवश्यक निगरानी र समन्वयलाई तीव्र बनाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट