सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले सुनसरीको कप्तानगन्न घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबैमा अपिल गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज एक अपिल जारी गरी नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको मुलुक भएकाले सामाजिक, सांस्कृतिक तथा धार्मिक उत्सवहरू मनाउँदा एकअर्काको भावना र शान्तिमा खलल नपुग्ने गरी मर्यादित व्यवहार गर्न आग्रह गरिएको छ । साथै सामाजिक सञ्जालमा अफवाह, घृणायुक्त अभिव्यक्ति वा भ्रामक सामग्री पोस्ट वा साझा गरेर समाजमा वैमनस्य फैलाउने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।
प्रदेश सरकारले कानुन हातमा लिने, सामाजिक सद्भाव भड्काउने तथा अराजकता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन राज्यका निकाय सक्रिय रहेको जनाएको छ । प्रदेशका नागरिकलाई संयमता अपनाई कुनै गतिविधि गर्नु परे स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ । सुनसरी घटनाको सम्भावित प्रभावलाई दृष्टिगत गर्दै खुला सीमाका कारण हुन सक्ने घूसपैठ तथा अवाञ्छित गतिविधि रोक्न सुदूरपश्चिमका सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको पनि अपिलमा उल्लेख छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई पूर्ण तयारी अवस्थामा रही सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत निर्देशन दिइएको जनाइएको छ । यस्तै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट समाजमा उत्तेजना, घृणा र वैमनस्य फैलाउने गरी सार्वजनिक अफवाह र गलत सूचना प्रवाह गर्ने जो–कोहीलाई कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ । साथै सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पनि सामाजिक सद्भावमा आँच आउने खालका सामग्री प्रसारण नगरी सत्य, तथ्य र वस्तुनिष्ठ समाचार मात्रै सम्प्रेषण गर्न आग्रह गरिएको छ ।
“शान्ति, सुरक्षा, सामाजिक एकता, धार्मिक सहिष्णुता र पारस्परिक भाइचारा कायम राख्न सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, उद्योगी–व्यवसायी, सामाजिक संस्था, सञ्चारमाध्यम र आमनागरिक सबैको सहकार्य आवश्यक छ । त्यसका लागि सामाजिक एकता थप बलियो बनाउने कार्यमा योगदान गर्न सबैमा आह्वान गर्दछु,” विज्ञप्तिमा भनिएको छ । सुनसरीमा र अन्य जिल्लामा प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस