आज: २०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

वर्तमान सरकारलाइ माथि उठाउने समय आयो कि ?


  • आक्रमण न्युज
  • २०८३ श्रावण १९, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • ५७ पाठक संख्या
  • ईहलोक, परलोक, पाताललोक र भएभरका सबै लोकतिर घुमि चित्तानन्दको अनुभूति गर्न सक्छौँ !स्वर्गलोकदेखि पृथ्वीलोकसम्म यात्रा गर्दा पनि मनचाहे बाहनमा यात्रा गर्दै मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि पण्डितहरू बताउँछन् ।

    यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ । प्रविधिले भौतिकरूपमा आफ्नो लक्ष्यलाई स्पर्श गराउँछ भने आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ ! अंक स्थिर छ शून्य चञ्चल र अधीर छ, शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । पृथ्वीको एक हिस्सा हाम्रो देश पनि हो । हाम्रो देशको अवस्थितिलाई भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको छ ।

    हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ, जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ ! समयको गतिसँगै प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए । नेपालमा अनेकखाले भ्रमहरू प्रचारमा आए ।

    मुलतः राजारानीका बारेमा थरिथरिका अनर्गल प्रचार र प्रलापहरू बजारमा आउन थाले । राजा वीरेन्द्र भन्दा पनि रानी ऐश्वर्यका बारेमा ज्यादा उछाल ल्याए । रानीले पम्फादेवी ठकुरानीको नाममा अर्बौं रुपैयाँ विदेशी बैंकमा जम्मा गरेको, राजाले समुन्द्रमा छुट्टै टापु किनेको लगायत अनेक भ्रमहरू बजारमा प्रचार गरियो । यस्ता सबै भ्रमहरूका पछि मान्छेहरू दौडे । तत्कालिन समयमा नेपालका क्याम्पसमा सीमित उग्र वामविचारका राजनीति यिनै भ्रमहरूका वरिपरि घुम्थे । त्यस प्रकारका सबै भ्रमहरू यसकारण भ्रम थिए कि अहिले लगभग चार दशक समय ब्यतीत हुँदा पनि उपरोक्त आरोपहरूको कतै कुनै पुष्टि हुँदै भएन ।

    यी सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होला ! ‘ पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् ! अहिले त सबै देखियो नि के रहेछ सत्य र के रहेछ भ्रम भन्ने सबै बुझियो, जनताले दुःख पाए भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् ।

    राजाहरूको त हैसियत थियो खर्च गरे तर अचेल जनताका सर्वहारा गरीब नेताहरूले लगभग करोडका घडी, लाखौंका ह्याण्डब्याग, रिसोर्टमा बाहेक होटलमा निन्द्रै नलाग्ने ऐयाशी जीवन कुन हैसियतले मिल्यो ? दशौँलाखका थ्रीपीस सुट कुन हैसियतले लगाउँछन् होला ? जनताका छोराछोरीका घर जलेपछि खुला आकाशमुनि बास हुन्छ, त्रिपाल पनि पाउँदैनन् , तर नेताको घर जल्दाबित्तिकै लखनउका नवाफका जस्ता भव्य महलमा बास कसरी हुन्छ ? राजाले बेमौसमको सामान्य सागसब्जी विदेशबाट मगाएर खाएकाले उनलाई सामन्तीको नाइके देख्ने झीरले खोलेका आँखाले गरीब जनताको नेता भन्नेले एकाध वर्ष मन्त्री-सन्त्री हुँदैमा राजाभन्दा डबलको हैसियत र अझ डबलको सामन्तीका नाइके भएको दुनियाँले देखेका छैनन् र ? छर्नेले भ्रम धुमधामले छरे, हामीले त्यही भ्रमलाई पत्याउँदै गायत्रीमन्त्र बनाएर जप्यौँ ।

    यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ । दिग्भ्रमित नेताहरूले जनतालाई संधै भ्रमहरू उछाली रहे, आजसम्म पनि राजसंस्थाको बारेमा यही शैलीमा भ्रमहरू ओकल्न बाँकी राखेका छैनन् । तर राजसंस्थाका बारेमा छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए । स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका धोल्लो बोली र लुला खुट्टा देखिनु त्यसैको द्योतक मान्न सकिन्छ । नेताहरूले जनतालाई गलत बुझाएको बुझेपछि यतिखेर जनताले उनीहरूप्रति घृणा र आक्रोश ब्याप्त छ भने राजा र राजसंस्थाप्रति विश्वास प्रेमभाव दिनानुदिन बढेको छ ! त्यसैले अबको जमानामा कसैले कसैलाई भ्रम नछरेको राम्रो ! झुठ र भ्रम के हो सत्य यथार्थ र वास्तविक के हो ? भन्ने थाहा पाउन अब कसैले कसैलाई बताइरहनै पर्दैन । आजकलका मान्छेले दुधको दुध पानीको पानी छुट्ट्याउन हात-हातमा उपलब्ध स-साना यन्त्रका माध्यम काफी छ ।

    देश अहिले कसैले नसोचेको र नचिताएको अन्यौलतामा रुमल्लिन पुगेको छ । यस्तो परिस्थितिमा इतिहासका पानामा भेटिएका गल्ती कमी-कमजोरी केलाएर र सच्याएर देश अघि बढ्न सकेन भने हामी नेपालीहरूले पनि द्वन्द्वग्रस्त मुलुकहरू सरह दुःख सहन बाध्य हुनेछौँ । हामीले चाह्यौँ भने देशमा दीगो र चीरकालपर्यन्त शान्ति कायम गर्दै देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुऱ्याउन कुनै र कसैको भर नपरी गर्न सक्छौ, तेसैले आग्रह,पुर्वाग्रह नराखि निषेधको राजनीतिलाई तिलाञ्जली दिन बर्तमान सरकार लाइ माथि उठाउने समय आयो कि ? चेतना होस !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट