
मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकमना सरकार छ । झन्डै दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको रास्वपाका प्रमुख दुई कमाण्डर सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साह हुन् । रास्वपा नामको विमान हाँकिरहेका रवि र बालेनबीच सम्बन्ध बलियो हुनु पार्टीका लागि मात्रै नभएर सिंगो मुलुकका लागि नै हितकारी छ । बालेन र रविको सम्बन्धमा दरार आएमा रास्वपा नामको विमान मात्रै दुर्घटनाग्रस्त हुने छैन, सिंगो मुलुकको भविष्य नै अँध्यारो सुरुङभित्र कैद हुने देखिन्छ !
हिजोका राजनीतिक दलहरूबीचको शक्ति संघर्षबाट पाठ सिकेका रवि लामिछाने र बालेन साह आखिर एक ठाउँमा कसरी आइपुगे ? यो निकै दर्बिलो प्रश्न छ । रवि र बालेनको राजनीतिक पृष्ठभूमि एउटै होइन । रवि लामिछाने सञ्चार क्षेत्रबाट राजनीतिमा आएका हुन् भने बालेन साह स्थानीय तहबाट आफ्नो प्रभाव स्थापित गर्दै राष्ट्रिय राजनीतिमा उदाएका हुन् । तर दुवैको राजनीतिक यात्रामा एउटा समानता भने स्पष्ट देखिन्छ- पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने दाबी । रविले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत परम्परागत राजनीतिक दलहरूको विकल्प खोजिरहेका मतदातालाई संगठित गरे ।
बालेनले काठमाडौं महानगरको नेतृत्व गर्दै स्थापित राजनीतिक दलभन्दा बाहिरबाट पनि प्रभावशाली राजनीतिक शक्ति निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिए । यही समान सोचले उनीहरूलाई नजिक ल्याउने आधार तयार भयो । रविसँग पार्टी संगठन थियो, देशभर फैलिएको राजनीतिक सञ्जाल थियो । बालेनसँग जनतामाझ बनेको अलग पहिचान, युवा पुस्ताको आकर्षण र परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिन सक्ने जनाधार थियो । त्यसैले रवि र बालेनको मिलन केवल दुई व्यक्तिको मिलन होइन, दुई प्रकारका राजनीतिक शक्तिको संयोजन पनि हो । यी दुई शक्ति एक ठाउँमा आउँदा रास्वपा झनै शक्तिशाली बन्न पुग्यो ।
फागुन २१ को निर्वाचनमा जनताले दिएको ठूलो जनमत त्यसैको परिणामका रूपमा बुझ्न सकिन्छ । जनताले पुराना दलको विकल्प खोजिरहेका बेला रवि र बालेनले आफूहरूबीचको मतभेदभन्दा साझा लक्ष्यलाई प्राथमिकता दिए । यही कारण रास्वपाले एकमना सरकार बनाउने अवस्थासम्मको राजनीतिक यात्रा तय गर्न सफल भयो । रवि र बालेन किन मिले भन्ने प्रश्नको उत्तर जति सजिलो छ, उनीहरू कति लामो समयसम्म मिलेर बस्न सक्छन् भन्ने प्रश्न त्यति नै कठिन छ ।
किनभने विगतका राजनीतिक घटनाले के पाठ पढाएका छन् भने साझा शत्रु वा साझा लक्ष्यले नेताहरूलाई एक ठाउँमा ल्याउन सक्छ, तर सत्ता सञ्चालनका क्रममा उत्पन्न हुने शक्ति संघर्षले त्यही एकतालाई कमजोर बनाउन सक्छ । रवि र बालेन दुवै परम्परागत राजनीतिक दलको कार्यशैलीप्रति असन्तुष्ट मतदाताको प्रतिनिधित्व गर्ने दाबी गर्छन् । त्यसैले उनीहरूको राजनीतिक यात्राको मुख्य आधार नै परिवर्तनको नारामा अडिएको छ । नेपालको राजनीतिमा नयाँ पुस्ताको भूमिका निर्णायक बन्दै गएको छ । पुराना दल र पुराना नेताप्रतिको निराशाबीच नयाँ अनुहार र नयाँ राजनीतिक संस्कारको खोजी भइरहेको अवस्थामा रवि र बालेन दुवै त्यसै मनोविज्ञानका प्रतिनिधि बनेका छन् । रविको सबैभन्दा ठूलो शक्ति पार्टी संगठन र राष्ट्रिय राजनीतिक अनुभव हो भने बालेनको शक्ति जनतामाझ बनेको स्वतन्त्र छवि र कार्यशैली हो ।
यदि यी दुई शक्ति एकअर्काका प्रतिस्पर्धी बन्नुको सट्टा साझेदार बने भने रास्वपाको संगठन र जनआकर्षण दुवै बलियो हुन सक्छ । जनताले ठूलो बहुमत दिएर सरकार सञ्चालनको जिम्मेवारी दिएको अवस्थामा रवि र बालेनबीच व्यक्तिगत तथा राजनीतिक समझदारी कायम रहनु उनीहरूका लागि मात्रै होइन, सरकारको स्थायित्वका लागि पनि महत्त्वपूर्ण हुन्छ । किनभने जनताले उनीहरूलाई सत्ता सञ्चालन गर्न मात्रै होइन, परिवर्तनको परिणाम देखाउन मत दिएका हुन् । रवि र बालेनबीच भविष्यमा फाटो ल्याउन सक्ने पहिलो कारण शक्ति बाँडफाँट हुन सक्छ । पार्टीको अन्तिम निर्णय कसले गर्ने भन्ने विषयमा भविष्यमा विवाद उत्पन्न हुने खतरा पनि उत्तिकै छ । जनताको अगाध माया पाएको रास्वपालाई दुर्घटना नगराईकन गन्तव्यमा पुर्याउने प्रमुख जिम्मेवारी रवि र बालेनको काँधमा छ ।
अहिले रवि र बालेनबीच फाटो ल्याउने प्रमुख कारण सुकुम्बासी बस्तीमा डोजर पनि एक हो । काठमाडौं लगायत देशभरि नै प्रधानमन्त्री बालेनले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा हजारौँ सुकुम्बासीको बिचल्ली भएको छ । यद्धपी व्यवस्थापनको काम पनि तीव्र बनाउनमा सरकार लागि परेको छ । त्यही विषयलाई लिएर रवि–बालेनबीच दूरी बढेको आकलन गरिएको छ ।
रविले भने दुई नेताबीच कुनै पनि असमझदारी नरहेको बारम्बार बताउदै आइरहेका छन् । यस्तै अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यशैलीलाई लिएर बालेन असन्तुष्ट मात्र छैनन्, उनलाई मन्त्रीबाट हटाउने रणनीतिका साथ पनि अगाडि बढेका छन् । स्वर्णिम सभापति लामिछानेका विश्वासपात्र भएका कारणले उनलाई हटाउँदा रवि र बालेनबीच खटपट हुने देखिन्छ । व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढे मात्र रास्वपाको विमान गन्तव्यमा पुग्नेछ । यदि राजनीतिक स्वार्थमा नेता अल्झिएमा नेकपाकै हविगत हुने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस