
भरतपुर । चितवन उद्योग संघको संरक्षकत्व तथा चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा हरितालिका तीजको अवसरमा भदौ १९, २० र २१ गते भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८३ को उद्घाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय सोविता गौतम ले गर्ने भएकी छन्।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे का अनुसार तीजलाई खर्चिलो र मनोरञ्जनमुखी पर्वका रूपमा सीमित नराखी महिला उद्यमशीलता, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणसँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो।
महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेल ले बंगलादेशको छुट्टै प्याभिलियनसहित स्थानीय हस्तकला, रैथाने उत्पादन, बुटिक, गरगहना, तीज सामग्री, कृषि उत्पादन, बैंक तथा बीमा सेवा र खाद्य परिकार गरी १०० भन्दा बढी स्टल रहने जानकारी दिइन्।
एक्स्पोको पहिलो दिन कृष्ण भजन प्रतियोगिता र दोस्रो दिन ‘उद्यमशीलता र रोजगार प्रवर्द्धनमा स्थानीय सरकार’ विषयक तीज गीत प्रतियोगिता सञ्चालन हुनेछ। उत्कृष्ट समूहलाई नगद पुरस्कार प्रदान गरिनेछ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा २० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र करिब १ करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ। साथै बंगलादेश–नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजको सहकार्यले यस वर्षको एक्स्पोलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस