आज: २०८३ भाद्र ११, बिहिबार | Thu, 27, Aug, 2026

रास्वपा भित्र “जोगाउने कि बदल्ने”बहस


  • आक्रमण न्युज
  • २०८३ भाद्र ११, बिहिबार मा प्रकाशित २ घण्टा अघि
  • ५६ पाठक संख्या
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र साहबीच सुरुदेखिको शक्ति संघर्षले सरकार जोगाउने कि बदल्ने भन्ने बहस भित्रभित्रै सुरु भएको छ । सरकारको कार्यसम्पादन, मन्त्री हेरफेर, पार्टीको संगठन विस्तार, संसदीय दलको अधिकार र सांसदहरूको भूमिकालाई लिएर दुई पक्षबीच अविश्वास बढ्दै जाँदा सत्तारूढ दलभित्रै सरकारको भविष्यबारे प्रश्न उठ्न थालेको हो ।

    प्रधानमन्त्री साहले सरकारका काम, कारबाही पार्टीको सल्लाह विपरित गर्ने गरेको भन्दै सभापति लामिछाने पक्षधरले असन्तुष्टि जनाउने गरेको छ । त्यस्तै प्रधानमन्त्री र उनीनिकट नेताहरुको भने सरकारको काम कारबाहीलाई पार्टीले सहयोग नगरेको तथा सभापति स्वंयको निर्देशनमा सांसदहरु सरकारको विरोधमा उत्रिएका आशंका छ । दुवै पक्षका बीच भएका आपसी अविश्वास र पार्टीका पछिल्ला तीन बैठक तथा छलफल कार्यक्रमहरुमा प्रधानमन्त्रीको अनुपस्थितिले पार्टी भित्रको असन्तुष्टिलाई विष्फोटको बाटोतर्फ डोहोर्याएको जनाइएको छ ।

    पछिल्ला घटनाक्रमहरुले पार्टी सभापति र प्रधानमन्त्रीका बीच असमझादारी देखिएपनि सभापति लामिछानेले सार्वजनिक रुपमा भने सो कुरालाई इन्कार गरिरहेका छन् । पार्टी बैठकहरुमा प्रधानमन्त्री साहको निरन्तरको अनुपस्थितिले पार्टी र सरकारको सम्बन्धका बिचमा दरार उत्पन्न गराएको कतिपय नेताहरुले बताउने गरेका छन् । सरकारको काम कारबाहीप्रति राजनीतिक वृत्त, स्वयं रास्वपाभित्र र जनताको तहबाट निरन्तर विरोधको स्वर सुनिन थालेसँगै सभापति लामिछानेले सरकारको काम, कारबाहीको ‘ब्रिफिङ’ लिनका लागि गत ३ भदौमा संसदीय दलको बैठक बोलाए ।

    बैठक संसदीय दलका नेता वालेन्द्र साहले बोलाउनुपर्ने र उनकै अध्यक्षतामा बस्नुपर्ने भएपनि सरकारको काम, कारबाही, पार्टी भित्र उठिरहेको असन्तुष्टिको स्वर लगायतको विषयमा छलफल गर्न सबै मन्त्री र सांसदहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए । तर सो बैठकमा प्रधानमन्त्री भने उपस्थित थिएनन् । बैठकमा सहभागि मन्त्रीहरुले आफुले गरिरहेको कामको सम्बन्धमा जानकारी गराएका थिए । सांसदहरुले सरकारको कामका सम्बन्धमा चर्को आलोचना गर्दै मन्त्रीहरुले राम्रो ‘पर्फमेन्स’् दिन नसकेको बताएका थिए ।

    उनीहरुले बिना मापदण्ड मन्त्री बनाएका कारण योग्य व्यक्तिहरु बाहिर रहेकोले सरकारको काम राम्रो हुन नसकेको तर्क गरेका थिए । रास्वपा सांसद अमरेश सिंहले त सरकारको काम गराइका कारण तराईमा जनताको हातबाट कुटाइ खानसक्ने स्थिति रहेको बताएका थिए । सभापति रवि लामिछानेले मन्त्रीहरुलाई सांसदहरुसँग र पार्टीसँगको समन्वयमा काम गर्न निर्देशन दिए । उनले सांसद र मन्त्रीहरुका बिचमा सहकार्य नदेखिएको भन्दै सहकार्यमा काम गर्न निर्देशन दिए । मन्त्रीहरुले मर्यादामा काम गर्न नसकेको भन्दै उनले मर्यादाको ख्याल गर्न पनि आग्रह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट