आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाण्डौमा ः सहमतिमै नेतृत्व चयन हुने दाबी


  • आक्रमण न्युज
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ५२० पाठक संख्या
  • काठमाण्डौ असार १६, – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । काठमाण्डौको कमलादिको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई एकीकृत समाजवादीले आमन्त्रण गरेको छ ।

    यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आउने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ । झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

    हिजो भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी दिनुभयो । उहाँले पार्टी विधान अनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने जानकारी पनि दिनुभयो । महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन नगरिने भएको छ ।

    त्यसैगरी पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने पार्टी महासचिव भुसालले जानकारी दिनुभयो ।

    महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने नेताको दाबी छ । तर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल तीन जना अध्यक्षको दावेदारका रूपमा रहनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट