
छठ पर्व अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख हुँदै गएको छ। वर्तमानमा विश्वका जुन-जुन ठाउँमा मैथिली र भोजपुरीभाषीको बसोबास छ, त्यहाँ यो महापर्व धूमधामका साथ मनाउने गरिएको छ। मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनको अनुपम उदाहरण हो। जीवनदायिनी र जीवन सञ्चालक प्रकृतिकाप्रति आभार व्यक्त गर्ने माध्यम हो छठ।



यस जगत्को सञ्चालनमा प्रत्यक्ष जाग्रत देवता मानिने सूर्यको अनुपस्थिति असम्भव छ, तिनै सूर्यप्रति मानवले अनुग्रह भाव प्रकट गर्ने पर्व नै छठ हो। यसका साथै, छठ पर्वले प्रदूषण नियन्त्रण र वातावरण संरक्षणको गहिरो सन्देशसमेत दिने गरेको छ। विश्वका धेरै संस्कृतिमा सूर्यको उपासना हुने गरे पनि अस्ताउँदो सूर्यको समेत उपासना गरिने सांस्कृतिक पर्व सम्भवतः छठ मात्र हो । यो केवल उदाउँदो शक्तिको सम्मान होइन, बरु यो सृष्टि आजको अवस्थासम्म आइपुग्न आधार बनेको विगतको शक्ति (अस्ताउँदो सूर्य) प्रति समेत आदर र कृतज्ञता प्रकट गर्ने पर्व हो । सूर्य ऊर्जाका मुख्य केन्द्र हुन् र यिनै ऊर्जाबिना जीवन सञ्चालन हुन सक्दैन ।
धेरैको मनमा जिज्ञासा हुन सक्छ- पूजा सूर्यदेवको तर सम्बोधन भने ‘छठी माता’ । वास्तवमा, ‘छठी’ लाई प्रकृतिको प्रतीकका रूपमा स्वीकार गरिएको छ । षष्ठी तिथिमा मनाइने भएकाले कालान्तरमा यो पर्व ‘षष्ठी’ बाट अपभ्रंश हुँदै ‘छठि’ मा रूपान्तरित भएको मानिन्छ। यसरी षष्ठी, छठि र प्रकृति एकअर्काका पर्याय बन्न पुगेका छन्। अर्को मान्यता अनुसार छठी मातालाई भगवान् ब्रह्माकी मानसपुत्री पनि भनिन्छ । त्यस्तै, सूर्यकी दुई पत्नी उषा र सन्ध्या हुन् भन्ने धार्मिक विश्वास छ। अस्ताउँदो सूर्यलाई पूजा गर्नुको अर्थ ‘सन्ध्या’ को पूजा गर्नु र उदाउँदो सूर्यलाई पूजा गर्नुको अर्थ ‘उषा’ को पूजा गर्नु हो भन्ने मान्यता पनि समाजमा विद्यमान छ।
आ-आफ्ना विश्लेषण र मान्यता जे-जस्ता भए पनि सत्य के हो भने यो पर्व अत्यन्त श्रद्धा, भक्ति, समर्पण र उत्साहका साथ चार दिनसम्म निष्ठापूर्वक मनाइन्छ। प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोष षष्ठी) को साँझ र सप्तमीको बिहान सूर्यलाई अर्घ्य अर्पण गरी मनाइने यो पर्व चार दिनको कठिन अनुष्ठान हो। यस पर्वअन्तर्गत पहिलो दिन नुहाइधुवाइ गरी शुद्ध हुने क्रम, दोस्रो दिन खरना (व्रतालुद्वारा व्रतको औपचारिक प्रारम्भ), तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पारण गरेपछि यो पर्व समापन हुन्छ। पछिल्लो समय यो पर्व एउटा सीमित भूगोलबाट फराकिलो बन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वको भइसकेको छ। आज अमेरिका, अस्ट्रेलिया, बेलायत र युरोपका विभिन्न देशमा समेत यो पर्व भव्य रूपमा मनाइन्छ। नेपालको सन्दर्भमा हेर्दा, विभिन्न पेसा, रोजगारी र सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेका मैथिली तथा भोजपुरीभाषीले यसलाई आफ्नै स्थानमा मनाउन थाले ।
फलस्वरूप, अहिले पूर्वी पहाडको पाँचथर, ताप्लेजुङदेखि पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मै छठ पर्व मनाउन थालिएको छ । राजधानी काठमाडौंसहित उपत्यकाका विभिन्न तलाउ र पोखरीहरूमा यो पर्व भव्यताका साथ मनाउन थालिएको वर्षौं भइसकेको छ। २०२०-३० को दशकतिर कीर्तिपुर, बल्खु, कालिमाटी र कुलेश्वर क्षेत्रमा सामान्य रूपमा मनाइने यो पर्व हाल सम्पूर्ण उपत्यकामा विस्तार भएको छ। यसले यस पर्वको सांस्कृतिक एकीकरणको क्षमतालाई स्पष्ट पार्छ र यो राष्ट्रिय एकताको एक बलियो प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। यो पर्वको आरम्भ कहिलेदेखि भयो भनी यकिनका साथ भन्न सकिँदैन, तर यसको उपासना विधिले यो पूर्ण रूपमा प्रकृतिपूजनसँग जोडिएको स्पष्ट पार्छ। यो पर्व जलाशय, नदी, पोखरी र तालतलैयाजस्ता जलस्रोतका किनारमा, प्रकृतिमा उपलब्ध सामग्रीहरू (जस्तै-उखु, बोटसहितको अदुवा, बेसार र अन्य कृषि उपज) को प्रयोग गरी मनाइन्छ। यसले प्रकृतिको सम्मान र संरक्षण गर्नुपर्ने गतिलो पाठ सिकाउँछ।
नेपालको मध्य तथा पूर्वी तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइने यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुस्वास्थ्य एवं उज्ज्वल भविष्यको निर्माणतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास गरिन्छ। स्वास्थ्य, निरोगिता, सन्तानप्राप्ति, परिवारको सुख र उन्नति कामना गरिने यस पर्वले कुनै किसिमको भेदभावलाई स्थान दिँदैन। छठ घाटमा जातजाति, धनी-गरिब, उचनीच वा वर्गीय कुनै किसिमको विभेद देखिँदैन । सूर्य र प्रकृतिले जस्तै छठले पनि सबैलाई समान रूपमा अँगाल्छ। तसर्थ, “सर्वजन हिताय, सर्वजन सुखाय” यसको मूल मन्त्र हो। संक्षेपमा भन्नुपर्दा, छठ पर्व सामाजिक एकताको अनुपम सूत्र हो जसले धर्म, भाषा, समुदाय, जातजाति र छुवाछूतका आधारमा कसैलाई पनि वर्जित वा निषेध गर्दैन।
समाजका सबैको अस्तित्व, महत्त्व र सहनशीलतालाई स्वीकार गर्दै यसले सबैलाई समेटेर सार्थक समाज निर्माणको सन्देश दिन्छ। समाजका कथित निम्न वर्गले तयार गरेका सामग्रीहरू पूजामा प्रयोग गरिनु र त्यसैमार्फत सूर्यदेवलाई अर्घ्य अर्पण गरिनु यसको ज्वलन्त उदाहरण हो। यस पर्वले घरमुली महिलाहरूको नेतृत्वमा सम्पूर्ण विधिको सञ्चालन गराउँदै मातृसत्तात्मक अवधारणालाई पनि बलियो रूपमा वकालत गरेको छ। पवित्रता, सरसफाइ र स्वच्छता स्वास्थ्य एवं निरोगिताका लागि अनिवार्य सर्त हुन् भन्ने सन्देश दिँदै यसले पर्यावरणको सन्तुलन र संरक्षणतर्फ गहिरो जनचेतना जगाउँछ। प्रकृति सबैको साझा र सामूहिक सम्पदा हो, जसको सदुपयोग गर्ने अधिकार सबैलाई समान रूपमा हुनुपर्छ भन्ने मान्यता यो पर्वले स्थापित गरेको छ। ( छठ पर्वको शुभकामना, छठिमाइले सबैको कल्याण गरुन )


प्रतिक्रिया दिनुहोस