
गत फागुन २१ को निर्वाचनबाट रास्वपाले दुई तिहाइ बहुमत ल्याएर अहिले उनै बालेन्द्र साह प्रधानमन्त्री बन्न पुगे । तर मुलुकको कार्यकारी प्रमुखको कार्यभार सम्हालेको सात महिनाको अवधिमै प्रधानमन्त्री बालेनले आशातीत परिणाम दिन नसकेर उल्टै मनोमानीपूर्ण ढंगले अघि बढ्दा आन्तरिक एवं बाह्य रुपमै संकटमा परेका छन् ।



गत साता चितवन पुगेका रास्वपा सभापति रवि लामिछानेले सरकारका कामप्रति घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेका थिए । उनले लोकतन्त्रमा परिणाम मात्रै मुख्य नभएर प्रक्रिया पनि आवश्यक रहेको बताएका थिए । सरकारले मनोमानीपूर्ण तवरले एकपछि अर्को कदम चाल्दै गर्दा त्यसले पार्टी पंक्तिभित्र असन्तुष्टि बढाएको पछिल्लो घटनाक्रमले संकेत गरेको छ । आइजीपी फेरबदल प्रकरण होस् वा समाचार कक्षमै पुगेर पत्रकारको गिरफ्तारी । यी दुबै घटनाले रास्वपा वृत्तमा असन्तुष्टि बढाएको पार्टीका नेताहरुको अभिव्यक्तिले संकेत गरेको छ । सरकारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आइजी नियुक्त गर्ने निर्णय पनि पार्टीसँगको सहमतिमा नगरिएको तथ्य सार्वजनिक भएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको सहमतिमै आइजी परिवर्तन गरेको सञ्चारकर्मीसमक्ष दाबी गरिरहँदा त्यसै दिन रास्वपा प्रवक्ता जगदीश खरेलले पार्टीबाट कुनै निर्देशन र सहमति नदिइएको प्रतिदाबी गरेका थिए ।
यसले पनि बालेन सरकारको आइजी परिवर्तन गर्ने निर्णयमा रास्वपाको संस्थागत स्वीकृति नभएको स्पष्ट हुन्छ । अर्कोतिर, पार्टी सभापति रवि लामिछानेले पनि सरकारले आइजी परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । त्यसको सामाजिक सञ्जालबाट जवाफ दिँदै प्रधानमन्त्री बालेनले ‘देश जोगाउने र पार्टी जोगाउने’मा फरक हुने चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘तपाईँहरुको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन् मानवताले आश गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’ त्यसअघिको समाचार कक्षमै पुगेर पत्रकार गिरफ्तार गरिएको घटनामा पनि बालेन सरकार नराम्रोसँग बदनाम थियो । प्रहरी र प्रधानमन्त्रीको सचिवालयले एकअर्काप्रति दोष लगाउँदै त्यसको जिम्मा लिन नसक्नुले पनि सरकारको आलोचना भएको छ ।
प्रेस स्वतन्त्रता जस्तो गम्भीर विषयमा सरकारको मैमत्त कदमले चौतर्फी आलोचना हुने अवस्था निम्तिएपछि रास्वपाका नेताहरु रक्षात्मक बन्न पुगेका थिए । अझै पनि सरकारले पुरानै कार्यशैलीलाई निरन्तरता दिँदै एकपछि अर्को गरी आफ्नै ‘सनक’का भरमा अघि बढिरहँदा त्यसबाट पार्टी सभापति रवि लामिछाने थप असन्तुष्ट बनेको देखिन्छ । उनले चितवनमा घुमाउरो पारामा सरकारको दम्भ र सनकलाई चुनाती दिँदै जनताले दिएको जनमतको हुर्मत लिन त्यसको दुरुपयोग गर्न नहुने चेतावनी दिनुले पनि सरकार र पार्टीबीच दूरी बढ्दै गएको प्रष्ट हुन्छ । यसअघि पनि सभापति लामिछानेले मुलुकमा व्याप्त संकटको समयमा प्रधानमन्त्री बालेन गैरजिम्मेवारपूर्ण तवरले बेखबर रहँदा आफैँले सक्रियता बढाएर समाधानको प्रयत्न गरेका थिए । चाहे सुनसरीको देवानगन्जको साम्प्रदायिक दंगा होस् या भोटेकोशीको बाढी । यी दुबैमा प्रधानमन्त्री बालेन सामाजिक सञ्जालमा सीमित हुँदा रविले नै सर्वदलीय बैठक आह्वान गरेर राष्ट्रिय समस्या समाधानका लागि पहलकदमी लिएका थिए । अहिले पनि पार्टीभित्र प्रधानमन्त्री बालेन अझै रास्वपा बन्न नसकेको संस्थापन पक्षले आरोप लगाउँदै आएको छ ।
पार्टीका बैठकदेखि संसदीय दलको बैठकमा समेत अनुपस्थित हुँदै आएका प्रधानमन्त्री बालेन अन्तर्मनबाट रास्वपा बन्न नसकेको संस्थापन पक्षको ठहर छ । यसरी पार्टीभित्रबाटै आन्तरिक रुपमै समस्यामा पर्दै गएको बालेन सरकारले बाह्य सम्बन्ध पनि विश्वसनीय बनाउन सकेको छैन । यसअघि परम्परागत दलको सरकारलाई अमुक देशले बनाइदिएको भन्दै भ्रम फैलाँदै आएका बालेन अहिले आफ्नो पालामा भने छिमेकी भारतसँग सम्बन्ध सुधार्न लम्पसार भएका छन् । जेन्जी विद्रोह र त्यसयताका सरकारका क्रियाकलाप एवं घटनाक्रमले बालेन सरकारको अघोषित पक्षधरता प्रष्ट भइसकेको छ । त्यसैले पनि हाम्रा निकट दुई छिमेकीसँग विश्वासको वातावरण बन्न सकेको छैन । दक्षिणी छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारका लागि उनले त्यताको भ्रमण लक्षित गतिविधिलाई तीव्र पारिरहेका छन् । यद्यपि, त्यस भ्रमणको सन्दर्भमा समेत सरोकालवाला निकायसँग कुनै छलफल र समन्वय गरेका छैनन् ।
भारत भ्रमणमा मुलुकको तर्फबाट राखिने एजेण्डाको विषयमा सबै दल, शीर्ष नेता, कूटनीतिक क्षेत्र लगायतसँग पर्याप्त छलफल गर्नुपर्नेमा गुपचुप रुपमा भारत भ्रमणको तयारी अघि बढाएका छन् । बरु उल्टै भारत भ्रमणको वातावरण बनाउन आफ्ना सल्लाहकार कुमार बेनलाई सुटुक्क नयाँ दिल्ली पठाउन समेत पछि परेनन् । गत फागुन २१ को निर्वाचनको अन्तिम तयारीकै बेला रास्वपामा समाहित भएका बालेनलाई पूर्वसहमति बमोजिम प्रधानमन्त्रीको जिम्मेवारी दिएर रवि लामिछानेले राजनीतिक उदारता प्रदर्शन गर्दै मुलुककै जिम्मा लगाएका थिए । त्यसका अलावा बालेन सरकार बनेयता रविले परम्परागत दलसँग समन्वय र सहकार्य गर्दै सरकारका लागि सहजीकरण गरेर कतिपय सन्दर्भमा प्रधानमन्त्रीको दायित्व समेत आफैंले निभाउँदै थिए । स्मरणीय के छ भने, प्रधानमन्त्री भएको सात महिना बित्दा पनि बालेनले अहिलेसम्म भारत भ्रमणका विषयमा संसदीय दलका नेतासँग समन्वय गर्न समेत आवश्यक ठानेका छैनन् ।
पुराना दलको असन्तुष्टिको जगमा आम जनतामा व्याप्त बदलाभावस्वरुप बालेनको दल रास्वपाले दुई तिहाइ बहुमत ल्याएको हो । त्यसकै उपज उनी प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका हुन् । तर राष्ट्रिय हित र सरोकारका विषयमा तिनै प्रतिपक्षलगायत अन्य दलका नेताहरुसँग छलफल गरेर समन्वयकारी ढंगले अघि बढे त्यसले सरकार सञ्चालनमा बालेनलाई अवश्य सहयोग पुग्ने थियो । तथापि, उनी ‘खोपीको देउता’ जसरी पुराना दलका शीर्ष नेताहरुलाई कुनै महत्व नदिएर दम्भ प्रदर्शन गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेका छन् । भनिन्छ, एक्लो वीरले युद्ध जित्न सक्दैन । मुलुकका ज्वलन्त राष्ट्रिय समस्यामा सबैको सहकार्य र समन्वय आवश्यक हुन्छ भन्ने सामान्य चेत समेत प्रधानमन्त्रीमा देखिएको छैन । तिनै परम्परागत दल भन्दा परिणाममुखी काम गरेर जनतामा आशा देखाउनुपर्नेमा त्यस विपरीत प्रतिशोध एवं पूर्वाग्रहप्रेरित उनको संवादहीनता सरकारका लागि किमार्थ हितकर छैन । यसरी आफू बाहेक अरुलाई कुनै महत्व नदिएर एकलौटी ढंगले अघि बढ्ने बालेनको कार्यशैलीले पार्टीभित्र र बाहिर जनमानसमा समेत असन्तुष्टि बढ्दै गएको छ ।
अहिलेसम्म सरकारको कमीकमजोरीलाई ढाकछोप गरेर जोगाउन प्रयत्नशील रहेका पार्टी सभापति रवि लामिछाने पनि प्रधानमन्त्री बालेनका पछिल्ला क्रियाकलापबाट आजित बनेको उनको हालसालैको अभिव्यक्तिले स्पष्ट पारेको छ । अलग–अलग पृष्ठभूमिबाट बाध्यतावश एउटै पार्टीमा समाहित हुन पुगेका रवि–बालेनको एक अर्काको विपरीत कार्यशैलीले नै सरकार र पार्टीबीच दरार उत्पन्न भएको हो । रवि विगतदेखि नै पुराना दल र त्यसका नेताहरुप्रति सौहार्द सम्बन्धका साथ उदारता कायम राख्दै आएका नेता हुन् भने बालेनको स्वभाव त्यस विपरीत छ । बालेनले परम्परागत दल विरोधी पात्रको रुपमा आफूलाई उभ्याउँदै काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । उनले त्यसयता निरन्तर पुरानादलप्रति असहिष्णु अभिव्यक्ति एवं कटाक्षपूर्ण व्यवहार गर्दै आएका छन् ।
यसले पनि रवि बालेनको सहकार्य परिस्थितिजन्य बाध्यताको उपज मात्रै रहेको प्रष्ट पार्दछ । जेनजी विद्रोहअघिसम्म बालेनले रास्वपालाई अन्य पुरानै दलको रुपमा चित्रित गर्दथे । उनले नयाँ र पुरानो दल दुबैलाई चोरको संज्ञा दिँदै कसैलाई पनि देशको माया नभएको बताएका थिए । तर नियोजित रुपमा भएको जेनजी विद्रोह र त्यसबाट उत्पन्न परिस्थितिले उनलाई रास्वपामा समाहित हुन बाध्य पारेको थियो । रवि र बालेनबीचको आन्तरिक द्वन्द्वले मुलुकमा फेरि दुर्घटना निम्त्याउने खतरा नबढोस, शुभकामना !


प्रतिक्रिया दिनुहोस