Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ८, मंगलबार | Tue, 24, Nov, 2026

कटहरियामा खानेपानी बन्द हुँदा बोतलको पानी किन्न बाध्य १६ सय परिवार, ट्युबेलको पानी पनि पिउन नसकिने गुनासो


  • आक्रमण न्युज
  • २०८३ मंसिर ८, मंगलबार मा प्रकाशित २८ मिनेट अघि
  • २५ पाठक संख्या
  • रौतहट। रौतहटको कटहरिया नगरपालिकामा खानेपानीको विद्युत् लाइन काटिएपछि १६ सय परिवारको दैनिक जीवन कष्टकर बनेको छ। आठ दिनदेखि धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा ट्युबेल र बोतलको पानीको भरमा गुजारा गर्न बाध्य भएका छन्।

    खानेपानीको अभावले स्थानीयको दैनिक जीवनमा गम्भीर असर पारेको छ। कतिपय परिवार ट्युबेलको पानी प्रयोग गरिरहेका छन् भने धेरै परिवारले पिउनका लागि बोतलको पानी खरिद गर्नुपरेको छ। यसले सर्वसाधारणको दैनिक खर्चसमेत बढाएको छ।

    स्थानीय शिक्षक अजय कुशवाहाका अनुसार ट्युबेलको पानी पिउन सहज नलाग्ने भएकाले कैयौँ परिवार बोतलको पानी किनेर उपभोग गर्न बाध्य भएका छन्।

    ‘ट्युबेलको पानी मिठो लाग्दैन। त्यसैले धेरै परिवारले बोतलको पानी किनेर खानुपरेको छ,’ कुशवाहाले भने।

    खानेपानीको नियमित आपूर्ति बन्द भएपछि स्थानीयले पिउने पानीका लागि थप पैसा खर्च गर्नुपरेको छ। सामान्यतया घरघरमा धाराबाट आउने पानीमा निर्भर रहेका परिवार अहिले पानीको जोहो गर्न थप समय र रकम खर्च गरिरहेका छन्।

    महसुल नतिर्दा मिटर निकालियो

    नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत् मिटर निकालेर लगेपछि कटहरिया नगरपालिका–४ र ५ मा पानी आपूर्ति ठप्प भएको हो।

    प्राधिकरण मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार खानेपानी उपभोक्ता समितिको नाममा १० लाख ४२ हजार ५०६ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ। पटक–पटक ताकेता गर्दा पनि रकम भुक्तानी नभएपछि विद्युत् सेवा बन्द गरिएको उनले बताएका छन्।

       जनताको पानी बन्द, क्रिकेटमा २४ लाख खर्च

    खानेपानीको विद्युत् महसुल तिर्न नसक्दा १६ सय परिवार प्रभावित भइरहेका बेला नगरपालिकाले करिब २४ लाख रुपैयाँ खर्च गरेर क्रिकेट प्रतियोगिता आयोजना गरेको भन्दै आलोचना भइरहेको छ।

    खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नगरपालिकाले क्रिकेट प्रतियोगितामा लाखौँ रुपैयाँ खर्च गर्न खोज्नु गलत प्राथमिकता भएको आरोप लगाएका छन्।

    वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले पनि मेयर अजय प्रकाश जैसवालको लापरवाहीका कारण सर्वसाधारणले खानेपानीको समस्या भोग्नुपरेको बताएका छन्।

    मेयर जैसवालले भने प्रमुख प्रशासकीय अधिकृतको पटक–पटक सरुवा भएका कारण विद्युत् महसुल भुक्तानी गर्न नसकिएको भन्दै आफ्नो बचाउ गरेका छन्।

         पानीको संकट, नगरपालिकाको जिम्मेवारी

    खानेपानी बन्द भएको आठ दिन बितिसक्दा पनि समस्या समाधान हुन नसक्नु नगरपालिकाको सेवा व्यवस्थापनमाथि गम्भीर प्रश्न बनेको छ। धारामा पानी नआउँदा स्थानीय परिवारले ट्युबेलको पानीमा निर्भर हुनुपर्ने वा बोतलको पानी किनेर पिउनुपर्ने अवस्था सिर्जना भएको छ।

    स्थानीयवासीले विद्युत् महसुल तत्काल भुक्तानी गरी खानेपानी सेवा नियमित गर्न माग गरेका छन्। उनीहरूको माग स्पष्ट छ—क्रिकेट प्रतियोगिताभन्दा पहिले जनताको धारामा पानी फर्काउनुपर्छ।

    खानेपानीजस्तो आधारभूत सेवामा देखिएको संकट समाधान गर्न नगरपालिकाले अब ढिलाइ गर्नु हुँदैन। जनताको प्यास मेटाउनु मेयरको पहिलो जिम्मेवारी हो, मनोरञ्जनात्मक कार्यक्रम त्यसपछि मात्रै।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑