Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १०, बिहिबार | Thu, 26, Nov, 2026

कालो चस्मा र सेतो कुर्ता बिचको सुखद मिलन


  • आक्रमण न्युज
  • २०८३ मंसिर १०, बिहिबार मा प्रकाशित १४ घण्टा अघि
  • १०५ पाठक संख्या
  • कालो चस्मा लगाएका बालेन र सेतो कुर्ता पहिरिएका मोदि बिचको सुखद मिलनले यसपटक सही परिणाम निकालेको अनुभूति भएको छ। नेपालका प्रधानमन्त्री बालेन शाहले आफ्नो परिचित कालो पहिरनमा सजिएर गत मंसिर ६ र ७ गते भारतको पहिलो दुईदिने राजकीय भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई छ। यस भ्रमणबाट नेपालले सोचेजस्तो र मागेका प्रायः सबै कुरा प्राप्त गरेको देखिएको छ। लाउने लुगादेखि कपाल-दारीसम्म सेता भएका अनुभवी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत झण्डै दुईतिहाइ बहुमतसहित सरकार बनाएको नेपालको सशक्त युवा नेतृत्व देखेर यसपटक केही झस्किएको आभास मिल्छ।

    जे होस्, नेपालले लामो समयदेखि माग गर्दै आएको भैरहवाको हवाई रुटसहित थुप्रै महत्वपूर्ण विषयमा भारतबाट सहयोग प्राप्त गरेको छ। यस भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। त्यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान हो भने बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रको विकासका लागि सहुलियतपूर्ण ऋण हो। नेपालले २ अर्ब अमेरिकी डलर बराबरको अपेक्षा राखेको सन्दर्भमा रकम केही कम देखिए पनि यसपटकको सहयोग विगतको तुलनामा निकै ठूलो र आत्मीय महसुस हुन्छ। यद्यपि, भारतले गरेका यी प्रतिबद्धताहरूलाई व्यवहारमा उतारेको हेर्न अझै बाँकी छ।

    विशेषगरी भैरहवाबाट प्राप्त हवाई रुटको निकै ठूलो महत्व छ। नेपालले महेन्द्रनगर, नेपालगञ्ज तथा जनकपुरबाट पनि हवाई रुट मागेको भए तापनि यसपटक भैरहवाबाट मात्र प्राप्त भएको छ, जसको व्यावहारिक कार्यान्वयन हेर्न बाँकी नै छ। त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन थाल्ने भनिए पनि विगत ३० वर्षदेखि यस्ता आश्वासन दोहोरिइरहेकाले व्यवहारमा नआउन्जेल ढुक्क हुने अवस्था छैन। भारतीय नीति र कर्मचारीतन्त्र छिमेकी देशप्रति निकै अनुदार र स्वार्थी रहने विगतको अनुभव छ, जसका कारण राजनीतिक नेतृत्वले दिएका वचनसमेत कर्मचारीतन्त्रले पन्छाउने गरेका उदाहरण छन्।

    वर्तमान भारतीय विदेशमन्त्री एस. जयशंकर स्वयं कर्मचारीतन्त्रबाटै आएका अनुभवी र कूटनीतिक रूपमा चतुर व्यक्ति हुनुहुन्छ। यसपटक भारतीय सरकारले नेपालको कृषि, शिक्षा, सूचना प्रविधि (आइटी), धार्मिक पर्यटन र सम्पर्क सञ्जाल (कनेक्टिभिटी) जस्ता क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ। अयोध्याबाट जनकपुरधाम जोड्ने एक्सप्रेस रेल सेवाको आफ्नै ऐतिहासिक महत्व छ। यसले अयोध्याबाट जनकपुर आउन चाहने तीर्थयात्रीहरूलाई सहज बनाउनेछ, जसबाट जनकपुरको जानकी मन्दिरको रौनक र धार्मिक पर्यटकको आगमन स्वतः बढ्नेछ। अर्कोतर्फ, भगवान् बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया र जन्मस्थान लुम्बिनी सर्किट जोड्ने भारतीय योजनाले लुम्बिनीमा आउने धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि गर्नेछ।

    मुख्यगरी भैरहवाको हवाई रुटबाट सीधै विदेशबाट आउने यात्रुहरूले लुम्बिनीको भ्रमण गरी काठमाडौँ आउन सक्नेछन्। नेपालका प्रमुख धार्मिक स्थलहरू पशुपतिनाथ, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, बराहक्षेत्र, हलेसीधाम र स्वर्गद्वारीको दर्शन गर्न आउने तीर्थयात्रीका लागि यस्ता सुगम यातायातका साधनले निकै सहज बनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं धार्मिक आस्थावान् भएकाले उहाँले नेपालका धार्मिक स्थलहरूसँग भारतीय नागरिकको हार्दिक सम्बन्ध जोड्दै कनेक्टिभिटीमा जोड दिनुभएको छ।

    जसरी मोदीले धर्मको माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्न विभिन्न सुविधा विस्तार गरिरहनुभएको छ, नेपालले पनि सोही अनुरूपका पूर्वाधार र सुविधा बढाउन आवश्यक छ। हाम्रो सनातनी वैदिक परम्परा अनुसारको हिन्दु राष्ट्र पुनः कायम गर्ने जनचाहनालाई राजनीतिक दलहरूले मनन गर्नुपर्छ। यसो हुन सकेमा छिमेकी देश भारतलगायत विश्वभरका हिन्दु धर्मावलम्बीहरूको नेपाल आगमन ह्वात्तै बढ्नेछ। वर्षभरि विभिन्न चाडपर्व र धार्मिक अनुष्ठानहरू मनाइने यस पुण्यभूमिको मौलिकता जोगाउन पनि बाह्य दबाब र प्रभावमा लादिएको धर्मनिरपेक्षता खारेज गर्नुपर्छ।

    जसरी मक्का मदिनामा करोडौँ इस्लाम धर्मावलम्बी र भ्याटिकन सिटीमा करोडौँ इसाईहरू पुग्छन्, त्यसैगरी नेपालमा पनि विश्वभरका धार्मिक पर्यटकहरूको ओइरो लाग्नेछ। यदि भारतले साँच्चै नेपालको हित चाहन्छ भने दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा गरेका सम्झौताहरू समयमै पूरा गरेर देखाउनुपर्छ। नेपालले प्रत्येक वर्ष भारतबाट करिब ४० अर्ब रुपैयाँ बराबरको रासायनिक मल खरिद गरिरहनुपरेको अवस्थालाई अन्त्य गर्न भारतले नेपालमै युरिया मल कारखाना निर्माण गरिदिनुपर्छ। साथै, निर्माण सुरु गरिएका र जिम्मा लिएका जलविद्युत् आयोजनाहरू ओगटेर मात्र नराखी धमाधम निर्माण सम्पन्न गर्नुपर्छ।

    पञ्चेश्वर आयोजना समयमै बन्छ कि बन्दैन भन्ने कुरा अबको मुख्य परीक्षा हो। यसका साथै, कालापानी र लिम्पियाधुराबाट भारतीय सेना फिर्ता गराउने विषयलाई ओझेलमा पारिनु हुँदैन भने प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न र कार्यान्वयन गर्न भारतले तत्काल चासो देखाउनुपर्छ। नेपालको क्रिकेट खेलको विकासका लागि आवश्यक मैदान र तालिम उपलब्ध गराउने सहमति स्वागतयोग्य छ। त्यसैगरी, नेपालमा उत्पादित वस्तुहरू बिना रोकटोक सधैंभरि भारतीय बजारमा निकासी गर्न पाउने वातावरण सुनिश्चित गरिनुपर्छ, विभिन्न बहानामा अवरोध सिर्जना गरी नेपाली व्यापारीलाई दुःख दिने प्रवृत्ति सधैँका लागि बन्द हुनुपर्छ। सबैभन्दा मुख्य कुरा, नेपालको आन्तरिक राजनीति र सरकार सञ्चालनमा आफ्नो स्वार्थ लाद्ने र अनावश्यक दबाब दिने कार्य भारतले पूर्ण रूपमा रोक्नुपर्छ।

    अर्कोतर्फ, देशभित्रका विरोधी शक्तिहरूले पनि केवल विरोधका लागि विरोध मात्र गरेर जनतालाई सास्ती दिने र बाह्य शक्तिलाई खुसी पार्ने कार्य बन्द गर्नुपर्छ। यस्ता गतिविधि जारी रहे आगामी निर्वाचनमा जनताले पुनः दण्डित गर्नेछन्। आफ्ना कार्यकर्तालाई सरकारविरुद्ध सडकमा उतार्नुभन्दा किसान र जनताको हितमा परिचालन गर्नु उचित हुनेछ। बालेन सरकारको यस भ्रमणमा थुप्रै सकारात्मक उपलब्धि हासिल भए पनि आन्तरिक विरोधीहरूको आलोचना रोकिने छैन।

    विगतमा कतिपय नेताहरूले भारत भ्रमणमा जाँदा लामो समय बिताउने, अनावश्यक अवलोकन गर्ने, परिवारका सदस्यलाई सपिङ गराउने तथा छोराछोरीका लागि छात्रवृत्ति कोटा माग्ने जस्ता प्रवृत्ति देखाएका थिए। तर, प्रधानमन्त्री बालेनले त्यस्तो कुनै व्यक्तिगत स्वार्थ नदेखाई राष्ट्रको शिर उँचो राख्नुभएकाले पुराना नेतृत्वलाई केही असहज महसुस भएको हुन सक्छ। देशको स्वाभिमान ठूला भाषण र गफले होइन, स्पष्ट नीति, विचार र व्यवहारले जोगिन्छ, जुन कुरा बालेनले संयुक्त राष्ट्रसंघ (युएन) को मञ्चदेखि भारत भ्रमणसम्म सही समयमा सही कुरा बोलेर प्रमाणित गरिसक्नुभएको छ। अब देशमा सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न विगतका भ्रष्टहरूलाई कडा कारबाही गर्दै अघि बढ्नुपर्छ।

    देशको सनातन वैदिक धर्मलाई अंगीकार गर्दै ९० प्रतिशतभन्दा बढी वैदिक सनातनी जनताको भावनाअनुसार धर्मनिरपेक्षता र अनावश्यक बोझ बनेको प्रदेश संरचना खारेज गर्नेतर्फ बालेन सरकार केन्द्रित हुनुपर्छ। राज्यको अनावश्यक खर्च कटौती गर्न स्थानीय तहका प्रत्येक वडामा १ अध्यक्ष र २ सदस्य मात्र राख्ने व्यवस्था गर्नुपर्छ, जसले जनप्रतिनिधिको संख्या र प्रशासनिक खर्च दुवै घटाउनेछ। त्यस्तै, प्रतिनिधिसभाको समानुपातिक प्रणाली परिमार्जन गरी ती सदस्यलाई राष्ट्रियसभामा समायोजन गरेर हालको दोहोरो संरचना हटाउन सकिन्छ।

    यसका साथै, संवैधानिक राजसंस्था कायम राखी हाम्रो सनातनी वैदिक धर्म, कुमारी पूजा, मठमन्दिर र सांस्कृतिक परम्पराको संरक्षण गर्ने जिम्मेवारी राजसंस्थालाई सुम्पिएर राष्ट्रिय एकताको सूत्रमा बाँध्ने प्रयास गरिनुपर्छ। यसले नेपाली समाजको एकता र देशको सार्वभौमसत्तालाई अझ सुदृढ बनाउनेछ। अन्त्यमा, बालेन सरकारले एकपटक सर्वदलीय बैठक आह्वान गरी संविधानमा आवश्यक सुधार गर्दै छिमेकी मुलुकहरूसँगको सम्बन्ध सधैँ सुमधुर राख्नुपर्छ। देशमा शान्ति, अमनचैन र सुशासनसहित चौतर्फी विकासको ढोका खोल्दै युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशिएका सम्पूर्ण क्षमतावान् नेपालीहरूलाई मातृभूमि फर्किने वातावरण निर्माण गर्न सरकार सफल होस् शुभकामना !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑