
श्रावण २७, २०८१
नयाँदिल्ली । केन्द्रीय लोक निर्माण विभागले तीन इन्जिनियरलाई निलम्बन गरेको छ ।
उनीमाथि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सरकारी निवासको नवीकरणमा कथित अनियमितता भएको आरोप छ ।
केजरीवालको आदेशमा यी इन्जिनियरहरूले अन्य चार जनासँग मिलेर परिमार्जनको नाममा धेरै नियम उल्लङ्घन गर्दै सामानको मूल्य पनि बढाएका थिए ।
यी इन्जिनियरहरूको नाम प्रदीप कुमार परमार, अभिषेक राज र अशोक कुमार राजदेव हुन्। यी तीनले केजरीवालको बंगला नवीकरणमा सबैभन्दा ठूलो भूमिका खेलेका थिए । उनलाई समर्थन गर्ने चार जनालाई पनि निलम्बन गरिएको छ । सीबीआईले यस मुद्दामा पहिले नै अनुसन्धान गरिरहेको छ ।
प्रदीप परमार हाल गुवाहाटी, आसाममा, अभिषेक राज पश्चिम बंगालको खड़गपुरमा कार्यरत छन् । सतर्कता विभागका अनुसार यी इन्जिनियरहरूले सार्वजनिक निर्माण विभागसँग मिलेर काम गरेका थिए । उनले कोभिड–१९ को समयमा केजरीवालको नयाँ बंगला निर्माण गर्न अनुमति दिन आपतकालीन खण्ड प्रयोग गरे, यद्यपि त्यतिबेला त्यस्तो कुनै आपतकालीन अवस्था थिएन ।

प्रतिक्रिया दिनुहोस