Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

सत्कार्यमा सुख र सन्तुष्टि लुकेको हुन्छ


  • आक्रमण न्युज
  • २०८१ माघ ८, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७२३ पाठक संख्या
  • माघ ०८, २०८१ / प्रभातराज पाण्डे

    समाज, देश, पद्धति र स्वभावको परिवर्तनको वाहकका रूपमा रहेको नेता नै निराश भएपछि मुलुक अधोगतिमा लाग्नु स्वाभाविकै हो । यसर्थ नेपाली समाजमा हँसमुखको प्रतीक नेता नै हुनुपर्छ । यो विनयशीलताको प्रतीक हुनुपर्छ । सधैं केही गरौं भन्ने उत्सुकता र क्रियाशीलताको प्रतीक ठहरिनुपर्छ । आफ्ना लागि होइन, अरूलाई उत्साह बाँड्न आफूले जिम्मेवारी पाएको कुराको हेक्का सबैले राख्नुपर्छ । यसबाट राष्ट्र, जनतामा खुसी बढ्छ । ठीक यसै गरी असल मानिसको सङ्गतमा रहेका सबै} सुखी छन् ।
    यस विपरीत गलत मानिसको सङ्गत गर्नेहरू सुविधाको खोजीमा भौंतारिएका छन् । ती द्रव्य, सुन्दरी र मदिराको खोजीमा छन् । ती आफ्नै कर्मका कारण विरक्तिएका छन्, जीवनसँग । सुखको मार्ग भनेको सत्मार्ग, सद्विचार र सदाचार नै हो । मानिसले सुख खोजे सुख पाउँछ भने दुःख रोजे दुःख नै पाउँछ । अहिले धेरैभन्दा धेरैले दुःख बेसाइरहेका छन् । ‘दुःख पायौ मङ्गले आफ्नै ढङ्ग’ले भन्ने उखान यहाँ सार्थक छ ।
    मानिसले नयाँ जिम्मेवारी पाएपछि आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ भन्ने सन्देश यसबाट पाइन्छ । तर केही मानिस आफूसँग असीमित क्षमता भएर पनि त्यसको प्रयोग गर्न सकिरहेका छैनन् । केही गर्ने पहल गरे गर्न सकिन्छ । आफू केही गर्न क्रियाशील नहुने तर मलाई गर्न दिएनन् भनेर कुण्ठित हुने स्वभावले दुःखी भएको हो । प्रत्येक पदधारी व्यक्ति आफ्नो क्षमता प्रदर्शनमा अघि सरेर खुसी हुन सिक्नुपर्छ । तीन ओटा अलग–अलग भाँडामा एकसाथ आलु, अन्डा र कफीको दाना राखेर उमालियो । केही क्षणपछि हेर्दा सारो आलु पूर्णतः गलित भएछ । भित्र तरल पदार्थ भएको अन्डा पुनः तरल हुन नसक्ने गरी सारो भएछ । कफीको दाना फुटेर पूरै पानीलाई सुगन्धित बनाइदिएछ । पहिलेको पानी हाल कफी भएछ । यसर्थ हामी आलु, अन्डा वा कफी के बन्ने हाम्रै हातमा छ ।
    निजामती, जङ्गी, प्रहरी सेवा लगायतमा जेहेन्दार मानिस प्रवेश गर्छन् । ती परिवर्तनका संवाहक पनि हुन् । ती फुक्न चाहे फुक्न सक्छन् र चाउरिन खोजे निचोरिन्छन् । कुनै बखत मुलुकको मुख्यसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक जस्तो पदमा पुगेका मानिस पनि गुमनाम छन् । ती शक्तिहीन, क्षमताहीन र विवेकहीन कसरी बन्न सके होलान् ? ती निराशा, कुण्ठा र नकारात्मक सोचभन्दा माथि उठ्न सकेनन् । ‘नबिराउनू, नडराउनू’ भन्ने सिद्धान्त अनुसार कर्मचारीतन्त्र कानुनबमोजिम काम गर्न सक्षम हुनुपर्छ । यसैबाट सन्तुष्टि र खुसी प्राप्त हुन्छ । कहिलेकाहीं सतीले सरापेको देश भन्नेहरूको स्मरण हुन्छ । तर, कर्तव्यमा अब्बल ठहरिएको आफू दुःखी हुनुपर्ने कुनै कारण छैन ।
    देशका मुख्यसचिव, सचिव, प्रधानसेनापति र रथीवृन्द, प्रहरी महानिरीक्षक र सहसचिव आदि उच्च पदाधिकारी एक्लै काम गर्ने, एक्लै जिम्मेवारी बोक्ने, अरूको कुरै नसुन्ने, आफैं जान्नेसुन्ने पल्टिंदा कामको बोझले च्यापिएर दुःखी भएका हुन् । यथार्थमा ठूलो पदमा पुगेकाले आफैं काम गर्नेभन्दा पनि काम लगाउने हो । असल नेतृत्व अरूबाट काम सम्पन्न गराउन सक्षम हुन्छ । अरूलाई विश्वासमा लिने हो । कामको बाँडफाँट गर्ने हो । यही सामान्य सूत्रभित्र सफलता र सुख लुकेको छ । सार्वजनिक क्षेत्रमा उच्च पदमा आसीन व्यक्ति सदैव त्यागी, रोलमोडेल र सदाचारी एवम् निष्ठावान् हुनुपर्छ । यही गुणका आधारमा मातहतका कर्मचारीले उनीप्रति आदर व्यक्त गर्छन् । यही आदर्श व्यक्तिकै आदेश पालनामा सहजता आउँछ । यसबाट तोकिएको कामको परिणाम प्राप्त हुन्छ । जसका कारण नेतृत्वमा रहेकाले समाजबाट स्यावासी पाउँछन् ।
    यसरी उच्च पदमा रहेका व्यक्तिमा थप केही गरौं भन्ने जोस–जाँगर बढ्दै जान्छ । यसले समाजलाई नै अतिरिक्त लाभ पुर्याउँछ । आदर्शवान् र नैतिकवान् मानिस कसैको पनि हुँदैन । ऊ साझा व्यक्तित्वका रूपमा अगाडि बढ्छ । झट्ट हेर्दा कसैको पक्षमा नलागी जागिरे जीवनको उन्नति नहुने जस्तो प्रतीत भए पनि अन्त्यमा सत्यकै विजय हुन्छ । मूल कुरा धैर्यवान्, निष्पक्ष र निर्भीक व्यक्तिकै बढुवा या राम्रो स्थानमा सरुवा हुने गर्दछ । अपवादलाई अन्तिम सत्य मान्नुहुँदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑