
प्रायः मानिस आफ्नै लागि मात्र बाँच्छन् । दार्शनिकहरू जीवनलाई ‘जन्मदेखि मृत्युसम्मको अथक र अर्थपूर्ण यात्रा’ भन्छन् । खाने, पिउने, सन्तान जन्माउने र अन्त्यमा जीवन विसर्जन गर्नेहरूको संख्या धेरै हुन्छ । कतिपय मानिस छरछिमेक, गाउँ, टोल र अलि परका मानिसलाई पनि आफ्नै ठान्छन् । गच्छेअनुसार उपकार गर्न खोज्छन्, गर्छन् । उनीहरू आफ्नो र परिवारको भन्दा राष्ट्रको हितमा समर्पित हुन्छन् । विन्स्टन चर्चिलका शब्दमा उनीहरू उत्तम, अब्बल र सराहनीय नागरिक हुन् । राष्ट्रका लागि अहोरात्र सोच्ने र काम गर्ने यस्ता व्यक्ति थोरै हुन्छन् । उनीहरू सरकारलाई प्रश्न सोध्ने साहस गर्छन् । नसोधिएका प्रश्नहरू खोतल्छन् । राजनीति बिग्रियो, कूटनीति बिथोलियो र अर्थव्यवस्था हुँडलियो भनेर चिया दोकानमा गन्थन गर्ने जनताले बेथिति सहेर बस्नुभन्दा सरकारका गलत कर्मको सशक्त विरोध गर्ने साहस गरे भने राष्ट्र सुरक्षित र समृद्ध हुन सक्छ ।एकजना हजुरबा ससाना नाति–नातिनीहरूलाई राति सुत्ने बेलामा दिनैपिच्छे नयाँनयाँ कथा सुनाउँथे । महिनौँ दिन कथा सुनाउँदा बाजेको कथा–भण्डार रित्तियो । पुरानै कथा सुनाउँदा बाठा नानीहरू भन्थे, “यो कथा त हजुरले पहिले नै सुनाइसक्या हो ।” बाजेलाई फसाद प¥यो । उनले ‘चरा उडेको कथा’ सुनाउँछु भन्दै नयाँ जुक्ति झिके । केटाकेटीलाई फुस्ल्याउन खोजे ।



बूढा बाजे कथा सुनाउन थाले, “एकजना राजा आठ÷दश जना सिपाही लिएर जंगलमा सिकार खेल्न गएछन् । बाघ, भालु, चितुवा, हरिण, बँदेल, चित्तल, घोरल आदि केही नभेटेपछि उनले चरा मारेर भए पनि सिकारको धोको मेट्ने विचार गरेछन् । एउटा ठूलो रुखमा हजारौँ चरा बसेका थिए । राजाले हाँगाहाँगामा बन्दुक हान्दै एउटा चरा खसाले । अर्को पनि खसाले । तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौ“, आठौ“, नवौ“, दशौ“, गर्दैगर्दै एक हजार एक, एक हजार दुई, तीन, चार पाँच” बूढालाई यत्तिकैमा कान्छो नातिले सिरकभित्रैबाट तिघ्रामा चिमोटेछ । “अइया .. किन चिमोट्छस् । बद्मास केटो ।” वृद्ध रिसाए । नातिले अभिनय गर्दै प्रतिवाद ग¥यो, “राजाले ड्याम्म बन्दुक हानेर एउटा चरा खसाल्दा अरू चरा उडेर भाग्छन् कि ट्वाल्ल परेर रूखमै बसिरहन्छन् ? हामीलाई मूर्ख बनाउने हजुरबाले ? धत् ” हाहाहा केटो हाँस्यो । अरू केटाकेटी पनि हाँसे । नातिको प्रश्नले बूढा झस्किए । नेपाली जनतालाई पनि मूर्ख ठानेर नेताहरूले दिनहुँ त्यस्तै कथा सुनाउँछन् तर चिमोटिदिने कोही छैनन् । तसर्थ, राजनीति बिग्रियो, कूटनीति बिथोलियो र अर्थव्यवस्था हुँडलियो भनेर चिया दोकानमा गन्थन गर्ने जनताले बेथिति सहेर बस्नुभन्दा सरकारका गलत कर्मको सशक्त विरोध गर्ने साहस गरे भने राष्ट्र सुरक्षित र समृद्ध हुन सक्छ । आफूले रुचाएको दलले राष्ट्रघात गर्दासमेत थप्पडी मार्ने जनताले चुनावमा प्रिय नेताको हबिगत देखेका छन् । जघन्य अपराधी, डाँका, तस्कर, हत्यारा, घुस्याहा, विदेशीका एजेन्ट आदि केही कुमान्छेहरूलाई जिताउने जनताले “मन परेको” दललाई त जिताए तर सत्य परास्त भयो । न्याय, इमान, देशप्रेम, आदर्श, मूल्यमान्यता धुलिसात् भयो । भोलि त्यस्ता कुमान्छेहरू त अझ धनी होलान् तर गाउँ, नगर सबै उजाड बन्छन् । राष्ट्र बर्बाद बन्छ । विदेशीको थिचोमिचो बढ्छ । राष्ट्रिय एकता खल्बलिन्छ ।
चीनका प्रसिद्ध इतिहासकार पान कु भन्छन्, “असाधारण उपलब्धि र सफलता प्राप्तिका लागि असाधारण व्यक्तिकै प्रतीक्षा गर्नुपर्छ ।” प्राचीन कालदेखि सुयोग्य सम्राट् र असल राजाहरूले दरबारमा ख्यातिप्राप्त विद्वान्–विदूषीहरूको सल्लाह लिन्थे । भारतमा निरक्षर सम्राट् अकबरले ‘नवरत्न’ उपाधि दिएर राजनीति, कूटनीति, भूगोल, इतिहास, संगीत, साहित्य, आयुर्वेद, राष्ट्रिय सुरक्षा आदिका विज्ञहरूलाई सम्मानका साथ सल्लाहकार बनाएका थिए । सम्राटको आशय बुझेर उनीहरू नसोधिएका प्रश्नहरूको पनि उत्तर दिन्थे । सम्राट् अकबरका प्रिय मन्त्री थिए वीरबल । उनको ज्ञान, चातुर्य, विद्वता र क्षमताको सुवास देश–देशान्तरसम्म फैलिएको थियो । भनिन्छ, उनी तत्काल हरेक प्रश्नको उत्तर दिन सक्थे । वीरबल युवावस्थामै मन्त्री भए । रानीले अकबारसँग गुनासो गरिन्, “मेरो भाइलाई पो मन्त्री बनाउनुपथ्र्यो, वीरबललाई किन बनाउनु भयो ?” राजाले जवाफ दिए, “वीरबल बुद्धिमान् छन् । तिम्रो भाइ बुद्धु छ ।” रानीले ठुस्स पर्दै प्रश्न गरिन्, “कसरी ?” राजाले रानीको भाइ र वीरबललाई डाके । पहिले सालालाई आदेश दिए, “बगैँचामा कुकुरको खोर छ । कुकुरले बच्चा पाएको सुनेँ, के हो, मलाई सबै जानकारी चाहियो ।” राजाको सालो (रानीको भाइ) दौडिदै गयो र तीनवटा बच्चा रहेछन् भन्ने जवाफ दियो । तीन÷चार पल्टसम्म राजाले कस्ता रंगका, भाले कि पोथी, कता फर्केका छन् भन्दै हेर्न पठाए । वीरबललाई राजाले संवाद नसुन्ने ठाउँमा टाढै राखेका थिए । अन्त्यमा वीरबललाई बोलाएर कुकुरबारे रिपोर्ट मागे । उनले एकैपल्टमा सबै बेलिबिस्तार लगाए । “… हो, यस्तै कारणले तिम्रो भाइभन्दा वीरबल बुद्धिमान् छ भनेको हुँ ।” राजाले जवाफ दिएपछि रानी लज्जित भइन् ।
धेरै वर्षदेखि राजनीतिका नाममा ढाँट्ने, ठग्ने र राष्ट्रघात गर्नेमध्ये कतिपयले नेपालमा यसपाली पनि चुनाव जिते । कैयन् राजनीतिक प्रवञ्चक र रहस्यमय पात्र परास्त भए । सत्ता नपाउँदा राजतन्त्र ठिक र सत्ता पाउँदा गणतन्त्र नै ठिक भन्ने अवसरवादीहरू पनि पराजित भए । जनताले प्रत्यक्ष रूपमा प्रश्न नगरे पनि नसोधिएका प्रश्नको उत्तर आफै दिए । माओवादीका एजेन्डा बोकेर आफ्नो पहिचान गुमाएका कैयन् नेता ठाउँठाउँमा हारे । संसदमा प्रवेश गर्नै नहुने कैयन् पात्रहरूले पनि चुनाव जिते । यस्ता घटनाले मतदाताहरूको क्षमता, योग्यता र इमानदारीको परीक्षा लिइरहन्छन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरूको मृत्युपछि बिस्तारै नक्सलाइट (नक्सलपन्थी) आन्दोलन चर्किंदै गयो । मेची नदीबाट पाँच किलोमिटर पूर्वमा पर्ने नक्सलबाडी बजारबाट फैलिएको हुँदा त्यसलाई ‘नक्सलाइट’ भनियो । चारु मजुमदार, कानु सन्याल र जंगल सन्थाललायतका नेता थिए आन्दोलनमा ।


प्रतिक्रिया दिनुहोस