
गत साउनमा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाड्न बाध्य भइन् । आरक्षणको विषयमा भएको सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै जाँदा उनी सत्ता गुमाउने अवस्थामा मात्रै पुगिनन्, देशमै बस्न नसक्ने परिस्थिति निर्माण भएसँगै भारत भागेकी थिइन् । स्थितिलाई समयमै सम्बोधन नगर्दा प्रदर्शनकारीहरूले हसिनाको राजीनामालाई मुख्य एजेण्डा बनाए । स्थिति अत्यन्त नाजुक बनेपछि भारत भागेकी उनीविरुद्ध अहिले देशमा कैयन् मुद्दा चलाइएको छ । भारतमै निर्वासित अवस्थामा रहेकी उनलाई बंगलादेशको अन्तरिम सरकारले सुपुर्दगीको माग गर्दै आएको छ ।



२०७९ असारमा श्रीलंकाका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे विदेश भाग्नुपरेको थियो । दशकौँसम्म शासन गर्ने पारिवारिक वंशका एक सदस्य उनी जनताको बलमा भएको आन्दोलनपछि विदेश भाग्नुपरेको थियो । श्रीलंकाको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन हुँदै गर्दा उनको निवासमा भिडले आक्रमण गरेपछि राष्ट्रपति देशमै बस्न नसक्ने परिस्थिति निर्माण भएको थियो । अवस्था शान्त बनेपछि उनी स्वदेश त फर्किए तर, त्यसअघि नै उनले सत्ताको सर्वस्व गुमाइसकेका थिए । सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असद पनि गत मंसिरमा देश छाडेर भाग्न बाध्य भए । जबकि उनी सन् २००० देखि सरकारको नेतृत्वमा थिए । उनी हाल रुसमा निर्वासित रहेको बताइन्छ ।
यसबाहेक तालिबानले काबुल कब्जा गर्न लागेपछि अफगानिस्तानका तत्कालीन राष्ट्रपति अशरफ घानी सन् २०२१ मा देश छोडेर संयुक्त अरब इमिरेट्स भागेका थिए । यस्तै सन् २००८ मा पाकिस्तानका तत्कालीन राष्ट्रपति परवेज मुसर्रफ पनि देश छाडेर भागेका थिए । यसबाहेक कैयन् शासकहरू सत्ता पलटपछि देशभित्रै पक्राउ परेका घटना पनि विश्व इतिहासमा छन् । तर, नेपालको हकमा २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्र ढल्दा न त तत्कालीन राजा ज्ञानेन्द्र शाह जेल बस्नुपर्यो, न त देश नै छाड्नुपर्ने अवस्था आयो । एउटा नागरिकको हैसियतमा उनलाई सम्मानजनक ढंगले देशभित्रै बस्ने वातावरण मिलाइएको थियो ।
दरबारभित्रको विवाद, सामन्ती राजसंस्था अन्त्य हुनुपर्ने तत्कालीन विद्रोही माओवादीको मागका साथै निरंकुशताविरुद्ध भएको २०६२÷०६३ सालको जनआन्दोलनको बलमा राजसंस्था ढलेको थियो । २०६५ जेठ १५ मा पहिलो संविधान सभाले नेपाललाई औपचारिक रूपमा गणतन्त्र घोषणा गरेको थियो । यसरी २४० वर्ष लामो शाह वंशको शासन समाप्त भई नेपालमा गणतन्त्र स्थापन भएको बखत तत्कालीन राजाको अनेक अत्याचारमाथि प्रश्न गर्ने ठाउँ हुनसक्थ्यो । त्यतिबेला राजसंस्थाविरोधी भावना पनि उस्तै थियो । यद्यपि उनलाई राजनीतिक दलहरूले स्वदेशमै एउटा नागरिकको हैसियतमा सम्मानजनक ढंगले बस्ने सहिष्णु वातावरण मिलाइदिएका थिए ।
उनै पूर्वराजाको ‘समर्थन’मा पछिल्लो समय वर्तमान व्यवस्थालाई चुनौती दिँदै शान्तिपूर्ण आन्दोलनको नाममा सडकमा अराजकता प्रदर्शन गर्ने काम भएको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा ‘शान्तिपूर्ण प्रदर्शन’ गर्ने भनेर प्रशासनबाट अनुमति लिइएको थियो । तर, त्यसविपरीत निजहरूले निषेधित क्षेत्र तोड्नका लागि कार्यकर्तालाई प्रोत्साहित गर्ने, प्रहरीमाथि ढुंगामुढा गराउनेमात्र होइन, प्रहरीको समूहलाई गाडीले ठेलेर हुत्याउने कामसमेत भयो । निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनमाथि तोडफोड र आगजनी भयो । तीनकुनेस्थित एक घरमा त मानिस भएकै अवस्थामा आगो लगाएर टेलिभिजनकर्मीको मृत्यु भयो भने अर्का प्रदर्शनकारीले पनि अनाहकमा ज्यान गुमाए । उक्त घटनाका सम्बन्धमा सार्वजनिक भएका भिडियो तथा रातोपाटीकर्मीहरूको स्थलगत रिपोर्टिङमा पनि दुर्गा प्रसाईंका साथै केही राजावादीले भिडलाई उत्तेजित बनाएका कारण प्रदर्शन हिंसात्मक भएको देखिन्छ ।
दुर्गा प्रसाईंलाई ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले कमाण्डरको जिम्मेवारी दिएको थियो । कमाण्डर रणनैतिक रूपमा दक्ष हुनुपर्दछ । भिडलाई निश्चित दायराभित्र वा भनौँ आफ्नो नियन्त्रणमा राख्नु कमाण्डरको दायित्व हुन्छ । तर प्रसाईं शान्तिपूर्ण प्रदर्शनस्थलमा ‘साउथ इन्डियन हिरो’को शैलीमा गाडीको लावालस्करसहित पुगे । त्यहाँ उनी रोकिएनन्, बरु आफैँले गाडी चलाउँदै प्रहरीलाई किच्नेशैलीमा बानेश्वरतर्फ अघि बढे । सार्वजनिक भिडियोमा प्रसाईंको शैलीको आलोचनामात्र भएको छैन, उनको त्यही हर्कतका कारण स्थिति अप्रिय बन्न पुगेको निष्कर्ष उक्त घटना सम्बन्धी सार्वजनिक भिडियो हेर्ने जोकोहीले निकालेका छन् । प्रसाईंको यस्तो शैलीका साथसाथै राप्रपाका उपाध्यक्ष समेत रहेका संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले समेत भिडलाई उत्तेजित बनाएको सार्वजनिक भिडियोमा देखिन्छ ।
प्रहरीले निषेधित क्षेत्र तोड्न नदिने र शान्तिपूर्ण प्रदर्शनलाई जोड दिइरहेकै बेला राजावादी प्रदर्शनकारीको तर्फबाट प्रसाईं, मिश्रहरूले नै उक्साउँदै आन्दोलनकारीलाई अघि बढ्न निर्देशन दिएपछि प्रहरी हस्तक्षेप हुन पुगेको सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका साथै समाचार संकलनका क्रममा पुगेका सञ्चारकर्मीहरूको एउटै मत देखिन्छ । यतिमात्र होइन, प्रहरी हस्तक्षेपपछि आन्दोलनलाई उक्साउनेहरू मैदान छाडेर अन्यत्र लागे भने आन्दोलन नेतृत्वविहीन बन्न पुग्यो । न त गर्ने भनिएको सभा नै हुनसक्यो । त्यसपछि तोडफोड, आगजनी र लुटपाटसम्मको परिस्थिति निर्माण भएसँगै स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुपर्यो भने प्रहरीको सहयोगका लागि सेना सडकमा निस्कनुपर्ने अवस्था निम्तियो । आन्दोलनमा सरकार या सुरक्षा निकायको तर्फबाट पनि पर्याप्त कमजोरी देखिन्छ । तर गृह मन्त्रालय शुक्रबारको घटनाको मुख्य जिम्मेवार दुर्गा प्रसाईं भएको दाबी गर्छ ।


प्रतिक्रिया दिनुहोस