Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

राजावादी आन्दोलनमा देखिएको क्रुर दृश्य


  • आक्रमण न्युज
  • २०८१ चैत्र १७, आईतबार मा प्रकाशित १ साल अघि
  • ५९७ पाठक संख्या
  • तीनकुने पुल पुग्दा शुक्रबार दिउँसोको १ बजेको थियो । पुल अगाडी सुरक्षाकर्मी तैनाथ थिए । बानेश्वरतर्फ प्रदर्शनकारीलाई प्रवेशमा रोक लगाइएको थियो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेका दुई तीन जना राजावादी समर्थकलाई प्रहरीले नियन्त्रणमा लियो । उग्र बनेका प्रदर्शनकारी भनिरहेका थिए, ‘संसद भवन छिर्ने हो ।’ प्रहरीले निषेधित क्षेत्र प्रवेश नगर्न माइकिङ गरिरहेका थिए । आक्रोशित थियो भीड ।

    प्रहरीलाई औंला ठड्याउदै त्यो भीडले गणतन्त्र पक्षधर नेताहरू विरुद्ध चर्को नारा लगायो । चैतले तातिएको सडकमा आन्दोलनको राप पनि मिसिएको थियो । त्यसपछि हामी राजावादीको कार्यक्रम स्थल मञ्च भएतर्फ अगाडि लाग्यौं । राजावादी आन्दोलनका नेताहरूले सम्बोधन गर्ने तयारी हुँदै थियो । उद्घोषकले चर्का चर्का र भड्किला अभिव्यक्ति दिइरहेका थिए । यहि बीचमा तीव्र गतिमा एउटा गाडी बानेश्वरतर्फ हुइँकियो । प्रहरीलाई नै किच्नेगरी गाडी गुडाइएको थियो । गाडीको रफ्तार हेर्न नसकिने थियो । ‘कति मान्छे सोतर भए होला,’ आँखा चिम्म पारेँ । मन चिसो भयो ।

    संयोग त्यो गाडीबाट मानवीय क्षति हुन पाएन । गाडीभित्र बसेका आन्दोलनका कमान्डर चिच्याइरहेका थिए, ‘आओ आओ अगाडि आओ !’ प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र प्रवेश गर्‍यो । प्रहरीले गाडिलाई रोक्ने प्रयास गर्‍यो तर सकेन । तीव्र गतिमा गुडिरहेको गाडीलाई अघिल्लो लेयरका प्रहरी बाटो छोड्न बाध्य भए । बाटो छोडेर प्रहरीले ज्यान जोगाए । दोस्रो लेयरतिर पुगेपछि प्रहरीले प्रसाईंको गाडीको चाबी खोस्न खोज्यो । गाडीमा प्रहरीले लठ्ठी प्रहार गर्‍यो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो ।

    त्यसपछि प्रहरीलाई तथानाम गाली गर्दै प्रसाईं निषेधित क्षेत्रबाट कार्यक्रम स्थलतर्फ फर्किए ।उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुपर्‍यो । एकाएक तीनकुने क्षेत्र रणभूमीमा परिणत भयो । ज्यान जोगाउन हम्मेहम्मे पर्‍यो । तीनकुने क्षेत्रका घरहरू प्रदर्शनकारीको निशानामा परे । कोही चौरबाट ढुंगा सडकमा पुर्‍याउन थाले । कोही सडकबाट घरहरूमा ढुंगा प्रहार गर्न थाले ।

    घरभित्र मानिसहरू थिए । घरको छतबाट भनिरहेका थिए, ‘यहाँ प्रहरी छैनन् । ढुंगा नहान्नुहोस ।’ तर, प्रदर्शनकारीले घरमा प्रहार गर्न छोडेन । हेर्दाहेर्दै घरहरू क्षतिग्रस्त भए । घर हेर्न लायक रहेनन् । प्रदर्शनकारीले र पनि घरमा आक्रमण गर्न छोडेनन् ।घरका सिसाहरू एकैछिनमा छिया-छिया भए । तीनकुने मैदानको वारि र पारी दुवैतिरका घरहरूको सिसा फोरिए ।

    मानिसको भागाभाग भयो । ज्यान जोगाउन हम्मेहम्मे पर्‍यो । घर तोडफोड भएको क्षेत्रमा प्रहरी समयमै आइपुग्नै सकेन । स्थिति नियन्त्रणभन्दा बाहिर गयो । मार्बल हाउसको घरभित्रै प्रदर्शनकारी छिरे । दोसो तेस्रो तलाबाट क्यालेन्डर र कागजात फालेर घरको पेटीमा आगो लगाए । माथिबाटै कोठाभित्रका फर्निचर सडकमा फालेर जलाइयो ।

    ‘अब घर बालौं । भित्र आगो लगाऔं,’ चर्को चर्को स्वरमा प्रदशर्नकारी भनिरहेका थिए । माथिबाट कागजात फाल्दै अन्दोलनकारी सडकमा उफ्रिरहेका थिए । कसैको हातमा रड, कसैकोमा ढुंगा त कसैकोमा लठ्ठी थियो । उनीहरूले एकपछि अर्को सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण गरिरहे ।
    तलबाट हामीले देखिरहेका थियौं एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक घरको भित्र पसेर भिडियो खिचिरहेका थिए ।

    आक्रोशित अनियन्त्रित भीडले घरभित्रै आगो लगाए । अघिसम्म घरको पेटीमा कागजात र फर्निचर जलिरहेको थियो । अहिले पूरै घर दन्किन थाल्यो । केहीले भागेर ज्यान जोगाए । मानिस तल झर्दै थिए । सुरेश रजक प्रदर्शनकारीको हर्कत क्यामेरामा कैद गरिरहेका थिए । उनी निस्कन भ्याएनन्, हुरहुर्ती दन्भिएको आगोले क्षणभरमै उनको प्राण लियो ।

    आगो निभाउन एपीएफको गाडी आएको थियो । तर, प्रदर्शनकारीले निभाउन दिएनन् । `हान हान मार मार´को आवाज आइरहेको थियो । पानीको फोहोरा हानेर आगो निभाउने प्रयासमा रहेको सुरक्षाकर्मीलाई ताकेर गाडीमा ढुंगामुढा प्रहार भइरह्यो । प्रहरीको गाडी आगो निभाउन छाडेर भाग्न बाध्य भयो ।

    आगो लागेको घर नजिकै एउटा चेपमा १०–१२ जना प्रहरी थिए । उनीहरूमाथि ढुंगामुढा प्रहार भयो । केही घरभित्रको चेपमा छिरे । ३–४ जना इट्टा भएको चेपमा परे । दायाँबायाँ भाग्ने ठाउँ नै थिएन । एक महिला प्रहरी रोइरहेकी थिइन । ‘नहान नहान,’ दुई हात जोडेर प्रहरी भनिरहेका थिए । प्रहरीको चित्कार आन्दोलनकारीले सुनेन । प्रहरी महिला धुरुधुरु रुँदै थ्याच्चै भुइँमा बसिन् ।

    तर, ढुंगा प्रहारको क्रम रोकिएन । हात उठाएर प्रहरीले याचना मागिरहे । प्रदर्शनकारीले ढंगा प्रहार गरिरहे । अरुलाई सुरक्षा दिने प्रहरी नै असुरक्षित बने । त्यहीबीचमा मैले एक युवाको हातमा बन्दुक देखें । अश्रुग्यासका सेलन प्रहार गर्ने गन थियो त्यो । बन्दुक बोकेर ती युवा तीनकुने चौरभित्र छिरे । बन्दुक बोकेका युवालाई पछ्याउँदै म पनि चौर तिरै लागेँ ।

    ‘कहाँबाट ल्याएको बन्दुक ?,’ मैले सोधेँ । ‘प्रहरीको खोसेको,’ बन्दुक म भएतिर तेर्साउँदै उनले भने । फोटो र भिडियो खिच्न थालेपछि ती युवाले नखिच्न भन्दै धम्की दिए । त्यही बीचमा पछाडीबाट एक हुल आन्दोलनकारी आए । बन्दुक बोकेको फोटो भिडियो नखिच भन्दै मलाई हुत्याइदिए । ‘सीआईडी हो । ठोक–ठोक,’ भीडबाट आवाज आइरहेको थियो ।

    त्यहीक्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल छेउमै आइपुग्यो । भीड तितरवितर भयो । त्यसपछि उनीहरूले ममाथि आक्रमण गर्न पाएनन् । प्रहरीको हातबाट बन्दुक खोसिनुले नै प्रष्ट देखाउँथ्यो स्थिति कति भयानक भएको थियो । अराजक भीडसामू प्रहरी नै निरीह भएको देखिन्थ्यो । अमानवीय दृश्यले मन मुटु नै चसक्क हुन्थ्यो । चौरमा भागदौड मच्चियो । दुर्गा प्रसाईं र रवीन्द्र मिश्र लगायतले भीडलाई बानेश्वरतर्फ जाने उत्तेजित बनाए ।

    राजावादी अभियानका संयोजक नवराज सुवेदी लगायतका नेताहरू त्यसअघि नै मञ्च छोडेर हिँडेका थिए । हातहातमा ढुंगामुढा रड डन्डी सहित प्रहरीतर्फ आक्रमण हुन थाल्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑