
कार्तिक २९, २०८१/प्रभातराज पाण्डे
यो भन्न सकिन्छ कि, प्रसाईं ओली प्रवृतिकै उत्पादन हुन् । बौद्धिकतालाई घृणा गर्ने, विज्ञानसम्मत विचारलाई तिरस्कार गर्ने, उडन्ते गफ र उखानटुक्काको राजनीतिलाई प्रवर्द्धन गर्ने, जति धेरै हावादारी बोल्न सक्यो त्यतिधेरै ताली पाइन्छ भन्ने संस्कारलाई बढावा दिनेमध्ये एक स्वयं कमरेड ओली नै थिए ।
लोकतन्त्रले प्रमुख विपक्षी दलको परिकल्पना त्यसै गरेको हैन होला । विपक्षी दल सरकारमा होस् वा नहोस्, त्यो कुनै न कुनै प्रकारले राज्यकै अंग हो । सरकारकै हिस्सा हो । प्रधानमन्त्री, मन्त्री हुनु मात्र राज्यको संस्थापन पक्ष हुनु हैन ।
प्रधानमन्त्री र मन्त्रीस यी दुई पदलाई छोड्ने हो भने विपक्षी दलको उपस्थिति र भूमिका शासन प्रशासनका सबै अंग र सार्वजनिक जीवनका सबै आयाममा व्याप्त हुन्छ । विपक्षी दल संसद्मा हुन्छ । संसदीय समितिमा हुन्छ । संवैधानिक परिषद्मा हुन्छ । राष्ट्रिय महत्त्वका सर्वदलीय बैठकमा हुन्छ । मिडिया र सार्वजनिक जीवनमा हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धका अनेक आयाममा हुन्छ । आम जनताबीच हुन्छ ।
बहुदलीय लोकतन्त्र, त्यसमा पनि संसदीय प्रणालीमा कुन दल कति खेर सरकारमा जान्छ र बाहिरिन्छ, त्यसको हिसाब गरी साध्य हुँदैन । सरकारमा छैन भनेर देशको प्रमुख विपक्षी दल राष्ट्रिय समस्याबाट भाग्न वा पन्छिन मिल्दैन ।
भनिरहनु पर्दैन, देशमा यतिखेर लोकतन्त्र, जनजीविका, सुशासनसँग सम्बन्धित दर्जनौं समस्या छन् । तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिस्पर्धा र जुहारी भने दुर्गा प्रसाईंसँग चलिरहेको छ । एमालेहरू सबै काम छोडेर दुर्गा प्रसाईंसँग भिड्न व्यस्त देखिन्छन् । अध्यक्ष ओलीदेखि, ओलीप्रिय बाहुबली महेश बस्नेत र सामान्य कार्यकर्तासम्म सबै दुर्गा प्रसाईंको खेदो खन्न लागिरहेका छन् । एक्लो दुर्गा प्रसाईं एमाले र ओलीका लागि भारी हुँदै गएका छन्।
देश चरम् आर्थिक संकटमा छ । अर्थतन्त्रलाई मन्दीले घाँटी(घाँटीसम्म गाँजेको छ । महँगीको चर्चा गरी साध्य छैन। वित्तीय संकट उत्तिकै गहिरो छ । राजस्वले चालू खर्च नधान्ने र पुँजीगत खर्चभन्दा वित्तीय खर्च धेरै हुने स्थितिमा छ देश । सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादनको ५० प्रतिशत पुग्न लागेको छ । विगत एक आर्थिक वर्षभित्रै ९ लाख मानिस देशमा भविष्य नदेखेर विदेशिएका छन् । तर, दलका नेताको भाषणमा यस्ता कुराको खासै चर्चा हुँदैन । भएपनि चर्चा मात्र हुन्छ, समस्या सुल्झाउने कुनै वैकल्पिक उपाय र राष्ट्रिय बहस हुँदैन बहस हुन्छ, दुर्गा प्रसाईंसँग ।
दुर्गा प्रसाईं एमाले अध्यक्ष ओलीलाई ‘हजुरबा’ भन्छन् । ओली धेरैका ‘बा’ त थिए नै, प्रसाईंका त ‘हजुरबा’ नै भए । साँच्चैका हजुरबा हुन् वा ख्याल(ख्यालका वा कुनै गोरु बेचेको साइनो जोडिएको हो, थाहा भएन । तर, ‘हजुरबा’ र नाति’ को जुहारी भने जग हसाउने मात्र हैन, दुनियाँ लजाउने खालको छ । ‘खै के गर्नेलाई भन्दा खै देख्नेलाई लाज’ भने जस्तो ।
प्रसाईंले वित्तीय संस्थाका हाकिमलाई ‘कालोमोसो दल्न’ सर्वजनिक अपिल गर्दै आएका थिए । प्रसाईंको यस्तो अपिल सभ्य लोकतन्त्र र विधिको शासनका लागि आफैँमा आपत्तिजनक थियो । कसैलाई कालोमोसो दल्न न कानुनले छुट दिन्छ न सभ्यताले मर्यादित मान्छ, न मानवीय गरिमाका हिसाबले उचित हुन्छ ।
प्रसाईंले ‘ओली(पारस शाह’ बीच आफ्नै मोबाइलबाट वार्ता गराएको र दुवैको सहमतिमा प्रसाईंको अभियान उद्घाटन कार्यक्रम राखिएको दाबी गर्ने गरेका छन् । यो पनि ओलीको लागि निकै ठूलो आरोप हो । ओलीले हैन भन्दैमा जनताले पत्याउने आधार छैन । किनकि ‘गोयलसँगको वार्ता’ पछि संविधानप्रतिको ओली अडान संदिग्ध छ । महेश बस्नेतले ‘हिन्दू(राष्ट्र’ पुनर्स्थापनाको प्रस्ताव पार्टीको बैठकमै ल्याउनु र अर्का ओलीप्रिय पात्र गोकुल बाँस्कोटाले बारम्बार ‘संघीयता खारेज हुनु पर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिनु पछाडिको कारण जनताले बुझ्छन् नै ।
हाम्रो लोकतन्त्रमा दुर्गा प्रसाईंजस्ता पात्रको जन्म किन भइरहेको छ ? महत्त्वपूर्ण प्रश्न यो हो । कमरेड ओली र ओलीहरूले निधार खुम्च्याएर सोच्नपर्ने यो बिन्दु हो । ओली(प्रचण्डले प्रसाईं निवासमा ‘मार्सी भात’ भोजन गर्नुअघि यिनलाई कसले चिन्थ्यो ? यो भन्न सकिन्छ कि, प्रसाईं ओली प्रवृतिकै उत्पादन हुन् । आज उनी स्वयं कमरेड ओलीका लागि घाँडो भएका छन् । बौद्धिकतालाई घृणा गर्ने, विज्ञानसम्मत विचारलाई तिरस्कार गर्ने, उडन्ते गफ र उखानटुक्काको राजनीतिलाई प्रवर्द्धन गर्ने, जति धेरै हावादारी बोल्न सक्यो त्यतिधेरै ताली पाइन्छ भन्ने संस्कारलाई बढावा दिनेमध्ये एक स्वयं कमरेड ओली नै थिए । पछिल्लो चरणमा नेपाली राजनीति जति अराजक, उडन्ते, हावादारी, संस्कार र मर्यादाहीन हुँदै गएको छ, के त्यो कमरेड ओली र ओलीहरूको प्रत्यक्ष(परोक्ष योगदानको प्रतिफल हैन ?
प्रसाईं आफ्नो पीडालाई मल्हमपट्टी गर्न मुद्दा आम बनाउन खोज्दैछन् । तर, आर्थिक संकट, अर्थतन्त्रको मन्दी, वित्तीय प्रवृति र समस्याबारे उनले उठाएका सबै सवाल गलत भने हैनन् । त्यही कारणले उनले समाजको एउटा पीडित तप्काको ध्यान खिच्न र समर्थन प्राप्त गर्न सकिरहेका छन् । यो कुरा कसले बुझ्ने ।
के राज्य वा सरकारसँग कुनै नागरिकलाई यसरी ठूलो आर्थिक तथा वित्तीय संकटमा फसाउने अधिकार हुन्छ ? दुर्गा प्रसाईंका अरु धेरै कमजोरी होलान् । त्योभिन्नै पाटो हो । माओवादीजस्तो कठोर वामपन्थी आन्दोलनमा लागेको मान्छे आज किन फेरि ‘राजावादी’ भए ? त्यसको कारण होला नि । के यसो हुनुमा कमरेड ओलीहरू सर्वथा दोषमुक्त छन् । किमार्थ छैनन् ।




प्रतिक्रिया दिनुहोस