
मंसिर १८, २०८१ / प्रभातराज पाण्डे
चारैतिर अनिष्टै अनष्टि । कहिले बस खस्ने त कहिले विमान दुर्घटना त कहिले बस ठोक्कीने त कहिले मोटरसाईकल दुर्घटना । यी यावत समाचारबाट नेपालमा केहि डरलाग्दो अनिष्ट हुने संकेत अझै देखिदैछ, यसको मुख्य कारण दोलखा भिमसेनलाई पसिना आउनु नै हो । किम्वदन्ति अनुसार दोलखा भिमसेनलाई पसिना आएपछि देशमा ठुलै अनिष्ट हुने गर्दछ । दोलखा भिमसेनलाई पसिना आएपछि शास्त्रोक्त विधि अनुसार देशको मुख्य प्रतिनिधि राष्ट्राध्यक्षबाट क्षमापूजा गर्ने प्रचलन रहिआएको छ । यस पटक दोलखा भिमसेनलाई दिनहुँजसो पसिना आईरहनु पनि अनिष्टकै संकेत मानिन्छ । यसरी पसिना आएको केहिदिन मै सिमलतालमा दुई वटा बसलाई लेदोले बगाएर त्रिसुली नदिमा खसेर बेपत्ता भएको १६ दिन वितिसक्दा पनि ६५ यात्रु मध्ये केहिको शव मात्र फेला परको र उद्धारकार्य स्थगित गर्नु परेको थियो । अर्कोतिर त्रिभुवन विमास्थलबाट उडेको केहि सेकेन्ड मै सौर्य एयरलाईन्सको जहाज अनियन्त्रित भई धावनमार्ग देखि केहि पर बज्रेर आगलागि भई १८ जना मानिसको हृदयविदारक मृत्यू भयो । अनिष्टको अर्को रुप अतिबृष्टी त कतै खण्डबृष्टी पनि हुनु हो । खेतिपातिको समयमा पानी पर्न नसकी खण्डबृष्टि भई रोपाई भएको गर्न गाह्रो हुनु भने कतै चाहिने भन्दा बढी पानी परि अतिबृष्टि भई राजमार्गहरु समेत अवरुद्ध हुनु, यसलाई पनि अनिष्ट कै संज्ञा दिँदा फरक पर्दैन ।
अनिष्टको अर्को संकेत नेपालको राजनितिमा देखिएको छ । राजनीति ढलपलको स्थितिमा रहेको छ । दलहरुवीच कृत्रिम मेलमिलाप देखिएको छ । ढाल्ने र ढल्ने प्रतियोगिता जस्तै तिव्र भएको छ । ढल्नेले अर्को दल प्रति तितो पोख्दै गालीगलोजमा उत्रिएका छन् भने ढाल्ने घुम्ने कुर्सीमा अन्धो मानिस झैँ मस्त देखिन्छन् । यसरी दल दल वीच फाटो आउनु पनि अनिष्ट कै संकेत हो । तिन–तिन महिनामा प्रधानमन्त्री फेर्ने होडबाजी चल्नु, गर्नु हुने नहुने सवै कुकृत्य गर्न भ्याई भ्रष्टाचार गर्नुलाई पनि अनिष्ट नै भन्नु पर्दछ । भ्रष्टाचार, पापाचार, लोकाचार र दुराचारी नेता र तिनका कार्यकर्ताहरु अनुशासनहिन छाडा गाईबाच्छा जस्तो देखिएका छन् । कसैको कसैप्रति तालमेल नहुनुलाई अनिष्ट भनिन्छ ।
सहकारी ठग नेता, भ्रष्टाचारी नेता, अत्याचारी नेता अर्थात् भ्रष्ट नेतैनेता भएको देशमा अनिष्ट नभएर अरु के नै हुन्छ र ? केहि नेताहरु बोल्ने एकथोक गर्ने अर्कैथोक तथा स्टनबाजीमा रमाईरहेका छन् । पशुपतिनाथमा भएको ठुलो घण्टी जस्तै घण्टीघर भित्र बसेका नेता तथा कार्यकर्ताहरु त झन अनिष्टलाई निम्त्याउन उद्धत देखिएका छन् । घण्टी मात्र नभई हलो, तिर, सुर्य, हसिया हथौडा चिन्ह भएका दल र ती दल भित्रका पात्रहरु सवै अनिष्टको रुप हुन । यीनै दलका नेताहरु अन्टसन्ठ बोलेर एक अर्का प्रति पानी बाराबारको स्थितिमा पुग्न पछि पर्दैनन् । खानु परे एकमुख हुने खाईसकेपछि फेरि गालिगलोजमा उत्रने यीनीहरुको नानिदेखिको बानी हो । नेपाललाई सिंगापुर बनाईदिने नाममा सिंगानपुर बनिसक्दा पनि क्षणिक गालिगलोज मै उत्रिनुलाई अनिष्ट नै भन्नुपर्दछ ।
न्यायालयमा अनिष्ट, कार्यपालिका र व्यवस्थापिकामा अनिष्ट भएपछि दोलखा भिमसेनलाई मात्र होईन कुनै दिन पशुपतिनाथलाई पनि पसिना आयो भन्ने दिन अव पर छैन । काठमाण्डौको मुहार फेरिदिने मेयर बालेन्द्र शाहले फुटपाथ बढाउने जस्ता राम्रा कार्यहरु गर्दा उछित्तो काडी केहि पार्टीका झोले, अरौटे, भरौटेहरु एकै पटक सडकमा आई विरोध गर्नु पनि अनिष्ट नै हो । त्यस्तै बैदेशिक रोजगारमा गएका यूवाहरुको अनहाकमा मृत्यु भई दैनिक २÷३ वटा लास बाकसमा आईरहनुलाई पनि अनिष्ट नै भन्नु पर्दछ । सरकारले रोजगारीको व्यवस्था गर्न नसक्दा काम गर्न ४०–५० डिग्रीको गर्मीमा पनि विदेश जान मरिहत्ते गरेका विर गोरखालीका सन्तान परलोक भएर बाकसमा बन्द भएर आउनुलाई पनि अनिष्ट नै हो भन्नुपर्दछ ।
देश, देश जस्तो रहेन । देश चारैतिर अनिष्टको भुमरिमा फसि थिलथिलो भईसकेको छ । नेपाल आमा माथि पनि अनिष्टताले घेरिसकेर रुन बाध्य भएकी छिन । नेपाल आमाका यस्ता कपुत सन्तानहरु आँशु पुस्ने नभई लुट्न मै व्यस्त देखिन्छन् । जसका कारण नेपाल आमा टुहुरो भई अनिष्टै अनिष्टको चित्कार सहन नसकी मुर्छित भएकी छिन । नेपाल आमाका नालायक सन्तान टुलुटुलु आमाको रुन्चे अनुहार हेरेर बसेका छन् । लुट कान्छा लुट को गितमा जस्तै लुट्नेहरु लुट्न मै व्यस्त देखिएका छन् । ठगनिति, भ्रष्टनिति, चाप्लुसिनिति, कुटनिति र अनैतिकनिति व्याप्त भई देश तहसनहस भईसक्दा पनि माया दया नलाग्नु लाई अनिष्टको नाम दिनै पर्दछ । यसरी अनिष्टै अनिष्टबाट गुज्रीएको नेपालमा हिन्दुत्व समाप्त गर्न चारैतिर विदेशी धर्म गुरुका दुतहरुले घेरी प्रहार गर्न पछि परेका छैनन् । नेपाल मियो विनाको देशमा परिणत भएको छ, नियम कानुन र अनुशासनहिन भई एक्लीएको छ । धनी र गरिव वीचको खाडल बड्दो छ । देश ऋण लिएर चल्दा पनि ऋणमुक्त भनिदैछ । नेपालीहरु बहादुर बाट कान्छामा परिणत भईसकेका छन् । आशाको त्यान्द्रो कहिकतै देखिएको छैन ।
यस्तो विकराल परिस्थितिमा अनिष्ट हटाउन क्षमापूजा गर्नुको विकल्प छैन । नेपाली जनतासामु देशलाई परेको अनिष्टबाट मुक्त गर्ने एउटै उपाय २०७२ को संविधान खारेज गरि २०४७ सालको उत्कृष्ट संविधान लागु गर्नुपर्ने देखिन्छ । अनिष्ट हटाउन गईसकेको मियो लाई फेरी सकृय गराई गणतन्त्रलाई सदाका लागि विदा गरी अनिष्टरहित मुलुक बनाउनु आजको एक मात्र आवश्यकता हो । गणतन्त्र, लोकतन्त्र नै अनिष्ट भईसकेकोले यसलाई कुचोले बढारेर फ्याकी नेपालबाट अनिष्ट सदाका लागि हटाउनु परेको छ । यो पुनित कार्यमा लाग्न सवै राष्ट्रवादी देशभक्त जनताजनार्दनमा हार्दिक आह्वान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस