आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

जेन जी आन्दोलन भित्र लुकेका गोप्य रहस्य


  • आक्रमण न्युज
  • २०८२ आश्विन १५, बुधबार मा प्रकाशित १२ महिना अघि
  • ३५० पाठक संख्या
  • जेनजीको कथित आन्दोलन अलपत्र भयो भन्नु अब अतिशयोक्ति होइन । यो आन्दोलनले शुरु भएको आधा घण्टामै अपहृत भएर उपद्रवको रूप लिइसकेको हो । कलेजको पोशाकधारी विद्यार्थी संसद भवन पुग्नुअघि नै एक हुल मोटरसाइकल चालकहरूको चहलपहलले के संकेत गरेको थियो ? उनीहरूले पत्तै पाएनन् ।

    नेपाली सेनाले प्रहरीलाई जबर्जस्ती भिडाएको थोत्रो एसएलआर राइफल र भारतले दिएको÷बेचेको इन्सास राइफलले धातुको गोली बर्साउन थाल्दासम्म ढिलो भैसकेको थियो । गोली बर्साउनेहरू आदेशको पालन गर्दैथिए । तर आदेश दिने को थियो ? शेरबहादुर–आरजु जोडीका गुमस्ता गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुअघि निरीह भएर भने, ‘मैले त रबरको गोली मात्र चलाउन आदेश दिएको थिएँ ।’ अहिले उनको चालचुल छैन । तत्कालीन प्रधानमन्त्री केपी ओली सेनाको ‘सुरक्षा’ बाट बाहिर आएर भक्तपुर गुण्डुस्थित एक भाडाको घरमा बसेका छन् । उनको सुरक्षा हेर्ने सेना छैन, एसपी स्तरको कमाण्डमा रहने सुरक्षा व्यवस्थाको स्तर झारिएको छ । उनी एक प्रहरी निरीक्षकको नेतृत्वअन्तर्गत सुरक्षित छन् ।

    धेरैलाई थाहा नहुन सक्छ, ‘अहिले शिवपुरीमा सुरक्षामा छु’ भन्दै आएको बक्तब्य उनको थिएन । ओलीलाई असाध्यै माया गर्ने साइबर सेनाले जेनजीको उत्पातलाई वर्तमान भारतीय सत्तासँग नेपालको चुच्चे नक्सा र त्यसमा ओलीले लिएको अडानसँग जोडेर प्रचार गर्ने चेष्टा पक्कै गरेको हो । तर यो धेरैबेर टिकेन । शुरुमा शिवपुरीमा रहेका ओलीलाई पूर्व राष्ट्रपति विद्या भण्डारीलाई समेत त्यहीं सुरक्षा दिनुपर्ने अवस्था आएपछि अचानक मकवानपुरको सुपारीटार ब्यारेक पुर्‍याइएको थियो । यो लेखकसँग निकट एक सैन्य अधिकारीका अनुसार, ओली र भण्डारीको भेट हुनै पाएन ।

    सैन्य सुरक्षाबाट बाहिर आएका ओलीले आफ्नो स्वभावअनुरूप अर्को पत्ता फाले, ‘मैले गोली चलाउने आदेश नदिएपछि प्रहरीसँग नभएका स्वचालित हतियारबाट नरसंहार भएको छ ।’ एक निवर्तमान प्रधानमन्त्रीबाट आएको यो गम्भीर कुरा हो । ओलीको दावीमा कति सत्यता छ, गौरीबहादुर कार्की आयोगले गर्न लगाउने ‘फरेन्सिक’ जाँचबाट थाहा हुनेछ । तर अब ओलीको राजनीतिक भविष्य सकियो भन्नु गलत हुँदैन ।

    उनको नेकपा एमाले संकटमा छ । यो पार्टीसँग देखाउन लायक दोश्रो पुस्ताका नेता बाँकी छैनन् । राजीनामा दिनु अघिल्लो दिन ओलीलाई गोदावरीको बिधान अधिवेशनले उत्तर कोरियाका किम जोन उंग, चीनका सि जिनफिङ वा रूसका भ्लादिमिर पुटिनकै कोटीमा आजीवन नेता घोषित गरेको हो । तर समयले उनको अभीष्ट पुरा हुन दिएन । अब एमालेले देखाउने अनुहार को हो ?

    जहाँ एमालेसँग अहिले आफ्नो दुखेको घाउ सुम्सुम्याउने हात छैन, नेपाली कांग्रेसभित्रको उहापोह चरममा छ । यो पार्टीका महामन्त्रीद्वय उदाएका छन् । गगन थापाले घोषणा गरिसके, ‘अब सभापतिलाई सम्झाउने हो, नमाने अघि बढ्ने हो ।’ उनको माग विशेष अधिवेशनको छ । तर गगन र विश्वभन्दा अघिल्लो पुस्ताका कथित दोश्रो तहका नेता यसमा तयार छैनन् । पूर्णबहादुर खड्का, प्रकाशशरण महत, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विजय गच्छदार समेतलाई थाहा छ, देउवाको आशीर्वाद बिना उनको भविष्य छैन । देउवा पत्नी आरजु राणा यो समीकरणलाई आफ्नोअनुकूल भजाउन अस्पतालबाटै सक्रिय छिन् ।

    राणाको कृपाप्राप्त नेपाल प्रेस युनियनका एक पूर्व पदाधिकारीले यो लेखकलाई भनेअनुसार, ‘महारानी अस्पतालबाटै फोनमा सबैसँग सम्पर्कमा होइसिन्छ ।’ त्यसैले, उनको दावीअनुसार गगनको अभियान सफल हुने सम्भावना छैन । किनभने, आरजु उल्लिखित सबै दोश्रो पुस्ताका दावेदारहरूलाई भन्दैछिन्, ‘अब हुने तपाईंहरू नै हो । तर यो बिशेष महाधिवेशनको मागलाई ‘क्वास’ गर्नुपर्‍यो । सभापति बिरामी भएको बेला यस्तो गर्न हुन्छ ?’ गगन थापा बिशेष महाधिवेशन बोलाउने बाध्यात्मक परिस्थिति तयार गर्न आवश्यक हस्ताक्षर बटुल्न सक्षम हुन्छन् कि हुँदैनन् ? नेपाली कांग्रेसको आगामी यात्रा यसैमा निर्भर छ ।

    बिस्थापित प्रधानमन्त्री केपी ओलीले आफू पहिलोपटक सत्तामा आउनेबित्तिकै राज्यका गुप्तचरी र राजश्व अनुसन्धान निकायलाई सिधै आफ्नो नियन्त्रणमा ल्याएका थिए । राज्यको सिन्दूर हालेका कर्मचारीलाई एउटा व्यक्तिको स्वार्थका निम्ति परिचालित गर्ने ओलीको अधिनायकवादी सोच अन्ततः उनकै लागि घातक सिद्द भएको छ । जसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुफिया निकायबाट आफूले चाहेको जस्तै सूचना मात्र सुन्न रुचाउँछन्, ओलीको प्रवृत्ति पनि त्योभन्दा भिन्न थिएन । उनलाई आफूले चाहेको कुरा सुनेर खुशी हुने बानी परेको थियो । सूचना संकलन गर्ने निकायका हाकिमहरूलाई पनि सजिलो थियो ।

    राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले यो लेखकलाई भनेअनुसार, ‘संसद भवनमा आक्रमण गर्न दुर्गा प्रसाईंले उतारेका एक विशिष्ट समूहको नियोजित हात थियो । उनीहरू नेपाली नागरिक थिएनन् । सिंहदरवारमा आगजनी गर्न पनि चैत १५ को हिंसामा सहभागी समूहको जस्तै राजावादीहरूको उल्लेख्य भूमिका थियो ।’

    गुप्तचर निकायका हाकिमहरूको निश्कर्ष छ, प्रचण्डको ‘स्लिपर सेल’ जस्ता पुराना वाइसिएलका कार्यकर्ताहरू यी दुवै आगजनीमा नियोजित रूपले सहभागी थिए । सर्वोच्च अदालतमा आक्रमण गर्दा माओवादी र रास्वपा सभापति समर्थक झुण्डको भूमिका थियो । सडकबाट संकलित सूचना गुप्तचरका हाकिमहरूसम्म बेलैमा नपुगेको मात्र होइन, ती सूचना नियतबस ओलीसम्म पुगेन । गोदावरी भेलाले सर्वाधिकारसम्पन्न तुल्याएको अवस्थामा ओली यी झडप सामान्य बल प्रयोग गरेर अस्त हुने भ्रममा थिए ।

    सिंहदरवारको रक्षा गर्न खटिएको सेनाको एउटा सिङ्गै गणले मूल ढोका छोडिदिएको ओलीलाई पत्तै भएन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवासको तीन नम्बर गेटसम्म भीड आएपछि मात्र ओली झस्किए । सेनाले त्यो ढोका खुला छाडेर भित्री गेटमा कडा पहरा दिएको थियो । भीड त्योभन्दा अगाडि बढ्न पाएन । बाहिर बाहिर आगजनी र तोडफोड भयो । नेपाली सेनाका प्रमुख अशोक सिग्देल ओलीसमक्ष ‘स्थिति नियन्त्रणभन्दा बाहिर पुगिसकेको’ रिपोर्टसहित उपस्थित भए । बाहिर सेनाले भीड रोकेकै थियो । तर ओली तर्सिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑