Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

मुलुक जलेर पनि अशान्त


  • आक्रमण न्युज
  • २०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३९८ पाठक संख्या
  • दुई अतिवादका विरुद्ध यतिबेला कठिन लडाइँ लड्नु छ । त्यो लडाइँ नागरिक बाहेक अरु कसैले लड्न सक्नेछैन । नागरिक नलडे भयानक रक्तपातको लामो चक्र पार गर्दै यस राज्यको अस्तित्व मानचित्रबाट गायब हुन बेर छैन । नागरिकले हारे मुलुक रुवाण्डाको बाटोमा हिँड्ने छ । हामीसँगको अन्तिम विकल्प हो, दुई अतिवादका विरुद्ध नागरिकले एक कठोर लोकतान्त्रिक प्रतिज्ञाका साथ लड्नैपर्ने छ र कुनै पनि मूल्यमा अतिवादसँगको लडाइँ जित्नैपर्नेछ ।

    सामान्य आँखाले हेर्दा राजनीतिक इतिहासमा आउने आँधीबेहरीहरु बडो गर्जनसाथ आकस्मिक र अप्रत्यासित रुपमा प्रकट हुने गर्छन् । तर तिनको पृष्ठभूमि दशकौंअघिका घटनाक्रमसँग पोखिँदै, ठोक्किँदै र हुत्तिँदै आएको हुन्छ । तिनको अलिखित स्क्रिप्ट प्रत्येक नागरिकको मनमा गढ्दै र बढ्दै गएको हुन्छ । राज्य संयन्त्रमा देखापर्ने भ्रष्टाचार,स्वेच्छाचार र अत्याचार जब बिस्तारै अनपेक्षित भल्गर हुन थाल्छ । ठिक त्यहीबेला आम नागरिकमा घृणाको स्तर पनि आफ्नो चरम सीमामा पुग्छ । समय एकैसाथ समान रेखामा प्रकट हुन्छ सत्तासीनहरु अहंकार, दम्भ र उन्मादको कलाइमेक्समा हुन्छन् भने भुईंमान्छेहरु निराशा, दिक्दारी र डरत्रासको चरण पार गर्दै शासकका विरुद्ध आक्रोशका कलाइमेक्समा हुन्छन् ।

    निर्जीव संरचना बालेर आगो ताप्दै अँध्यारो रातमा विजयको घोडा दौडाउन हौसिएको विद्रोही जमात जनताको लाइफ लाइन प्रहरी प्रशासन र अदालतमाथि धावा बोल्न गर्जियो । मुलुक जलिसकेपछि पनि त्यो शान्त छैन । शासक अहंकारको त्यो घोडाबाट यसरी गर्जिन्छ । मानौं, उसको त्यही रवाफिलो फर्मान बिना अब पातहरु हल्लिने छैनन् । निकट समयमै हावाले शासकसँग अनुमति लिएर मात्रै चल्ने कबुलनामा गर्नुपर्नेछ । भुईंमान्छेहरु यसरी जुर्मुराउँछन्, मानौं उनीहरुको रगतले मानव जातिको इतिहासकै भयानाक प्रलय सिर्जना गर्नेछ र त्यो शासकको चिहानमा गएर रोकिनेछ ।

    यही उत्कर्षको संघर्षले सत्ता परिवर्तनको निर्णायक ढोका खोल्छ । यस्ता संघर्षहरु अक्सर नागरिकको स्वस्फूर्त आयोजनामा हुन्छन् कहिलेकाहीँ ती कुनै दर्शन, वाद वा विचारधाराको पक्षका रुपमा प्रकट हुन्छन्, त्यसको नेतृत्व तिनका नेताहरुले गर्छन् । कहिलेकाहीँ ती असंगठित विद्रोहको झुल्कोका रुपमा आउने गर्छन् । नेतृत्वविहिन हुँदा त्यो तुहिने खतरा हुन्छ ।

    कहिलेकाहीँ ती सामाजिक मनोविज्ञानका जगमा प्रायोजित खालका हुन्छन् । त्यसको डिजाइन, रणनीति, लक्ष्य र भविष्यका लागि जसले पूर्व फन्डिङ गर्छ, उसैको इशारामा त्यस्ता आन्दोलनहरुको दशा र दिशा तय हुन्छ । असंगठित, लक्ष्यविहीन र आक्रोशको उत्कर्षका रुपमा अभिव्यक्त हुने त्यस्ता आन्दोलन वा विद्रोहमा मौकामा चौका हान्न आइपुगेका केही थान टाठाबाठा र प्रायोजित मानिसहरुको हातमा जब सत्ताको बागडोर पर्छ, तिनले आफ्ना पूर्ववर्ती शासकको भन्दा लाखौं गुणा मुलुक खरानी बनाउँछन् र त्यही बाँकी खरानी उडाउने आँधी सिर्जना गर्न पनि ती कसैको गोटीका रुपमा परिचालित भइरहन्छन् ।

    हामी आकस्मिक र अप्रत्यासित राजनीतिक आँधीको निशानामा पर्‍यौँ सत्य कुरा यही हो । त्यसका आयोजक र प्रायोजक को थिए ? त्यो पछि छलफल गरौंला, समीक्षा गरौँला र पाठ सिकौंला । यस पृष्ठभूमिका लागि मलिलो जमिन उपलब्ध गराउने भने हामी नै थियौं । यसमा कुनै लेकिन, किन्तु, परन्तु गर्न आवश्यक छैन । तर अब अगाडिको बाटो कसरी तय गर्ने ? कसले के भूमिका पूरा गर्ने, खासगरी नागरिकहरुको भूमिकालाई कति महत्व दिने र नागरिकहरु भूमिका खेल्न कति जागरुक हुने ? मूल विषय यही हो ।

    यतिबेला नागरिकले अढाई फ्रन्ट वार एकैसाथ लड्नु परेको छ । निशस्त्र, निहत्था र निमुखा नागरिकले अढाई फ्रन्ट वारको सामना गर्न तयार हुने कुरा इतिहासकै असमान्य र विरलै परिघटना हो । एउटा मोर्चामा विध्वंसकारी जत्था छ । त्यसको माग के हो ? त्यसको निशाना कता हो ? जलेर खण्डहर बनेको, ऐतिहासिक दस्तावेजविहीन, शासन प्रशासनका फर्म्याटविहीन कुरुप र अत्यासलाग्दो सिंहदरबारको भग्नावशेष कब्जा गरेर संसार जितेको भ्रममा रहेको त्यस उत्तेजित जमातलाई आफ्नो वास्तविक धरातलमा ओर्लन कति समय लाग्ने हो ? धरातलमा ओर्लनु अघि त्यसले के विध्वंस गर्ने हो र राज्यलाई खतराको कुन बिन्दुमा पुर्‍याउने हो भनेर अनुमान गर्न कठिन छ ।

    निर्जीव संरचना बालेर आगो ताप्दै अँध्यारो रातमा विजयको घोडा दौडाउन हौसिएको विद्रोही जमात जनताको लाइफ लाइन प्रहरी प्रशासन र अदालतमाथि धावा बोल्न गर्जियो । मुलुक जलिसकेपछि पनि त्यो शान्त छैन । आफ्नै सरकार बनाउँदा पनि त्यो सन्तुष्ट छैन । आँखा चिम्लेर प्रतिशोधको बाटो हिँड्ने धम्की बाहेक त्यसले राजनीतिक संवाद, सहमति, सहकार्य र सम्झौता पनि एउटा चरणमा पुगेपछि आवश्यक हुन्छ भन्ने कुरा बोध गर्न चाहेकै छैन । यसको निशाना भ्रष्टाचारी र त्यसको संरक्षण गर्ने दल प्रमुखहरुमाथि हो वा भ्रष्टाचारको बहानामा दलीय व्यवस्था विरुद्ध हो, अझै स्पष्ट छैन ।

    यो लगातार निषेधको बाटोमा छ । सिंहदरबारको धुवाँले तर्सिएको समाज र केही घण्टा आतंकित भएका दलमाथि त्यही दृश्य स्मरण गराउँदै दादागिरीकै शैलीमा शासन चलाउने आकांक्षा अब डरलाग्दो महत्वाकांक्षामा परिणत भएको छ ।महत्वाकांक्षाको राजमार्गमा निर्वाध दौडन पाउने आत्ममुग्धता नै यस जमातका लागि सबैभन्दा अहितकर हो । संसारका सबै शक्तिले प्रतिरोधको सामना गर्नुपर्छ । तर मूलधारको नेतृत्वमा आइपुग्दा पनि निषेध र प्रतिशोधको सिद्धान्तलाई आफ्नो कर्म बनाउने चरित्रले कहिल्यै सही दिशा दिँदैन । पहिलो प्रतिशोध हमेसा काउन्टर प्रतिशोधको सिकार बन्छ । प्रतिशोधको श्रृंखला अनन्त हुँदैन । एक निश्चित विन्दुमा पुगेपछि आफू विजयी भएर पनि प्रतिशोधको बाटो तय गर्ने शक्ति नकारात्मक ऊर्जाका साथ विचलन, विलय र बन्ध्याकरणमा पुगेर टुंगिन्छ । यसर्थ आम नागरिक र नागरिक समाजको एउटा फ्रन्ट लडाइँ विध्वंस र विघटनवादी शक्तिविरुद्ध आवश्यक छ ।

    आफ्ना यी कार्यभारबाट नागरिक विमुख भए मुलुक अझै रावणको लंका जले झैं जल्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑