अहिलेको नेपाली राजनीतिमा बालेन्द्र शाह उर्फ बालेन ‘हटकेक’का रूपमा देखा परेका छन् । उनी कुनै ठूलो दलका अध्यक्ष होइनन्, न त राष्ट्रको कार्यकारी प्रमुख नै ।
संवैधानिक रूपमा हेर्दा उनी केवल काठमाडौं महानगरपालिकाका मेयर मात्र हुन् । तर राजनीतिक प्रभावको दृष्टिले उनी आज सामान्य पदमा सीमित छैनन् । उनका ढोका ढकढक्याउनेहरू सामान्य छैनन् । देश हाँकिसकेका पूर्वप्रधानमन्त्री, सुरक्षा र प्रशासन चलाइसकेका पूर्वगृहमन्त्री, बहालवाला मन्त्री, स्थापित दलका शीर्ष नेतादेखि परिवर्तनको भाषामा विश्वास गर्ने नयाँ शक्ति जेनजीसम्म सबैको साझा गन्तव्य बालेन बनेका छन् ।
बालेनको आकर्षण उनको पदमा होइन, उनको प्रतीकात्मक शक्ति र प्रतिनिधित्व गर्ने विचारधारामा छ । उनी कुनै संगठनात्मक संरचना प्रतिनिधित्व गर्दैनन् । उनले लामो समयदेखि जमेको असन्तोष, दलहरूको घोषणापत्रमा हराएका वाचा र सत्ता गठबन्धनको स्वार्थी गणितबाट थाकेको समाजको प्रतिनिधित्व गर्छन् ।
बालेनले आफूलाई कम बोल्ने तर नझुक्ने/नबिक्ने नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्। बालेनको राजनीतिक संवादको केन्द्र बनेको छ ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घर । बिहीबार मात्रै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, शिशिर खनाल, उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र सुनिल शर्मा, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राप्रपा का ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, जेनजी अभियानका प्रतिनिधि रक्षा बम, सागर ढकाल, केपी खनाल र कलाकार निश्चल बस्नेतसँग छलफल गरे ।
उनले ऊर्जा मन्त्री कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवादको सुरुआत गरेका थिए । करिब १४ घण्टा निरन्तर छलफलपछि जेनजी प्रतिनिधिसँगको अन्तिम भेटवार्ता गरेर निस्किए । बालेन संसदीय राजनीतिमा आफ्नो उपस्थिति मजबुत बनाउने तयारीमा छन् । कुपण्डोलमा भेट्न आउने सबै नेताहरूलाई उनले अब सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखेका छन् । भेटवार्तामा उनले सबै नयाँ शक्तिहरू एकीकृत भएर आगामी निर्वाचनमा भाग लिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।विभिन्न व्यक्तिहरुसँगको भेटवार्ताँमा उनले भनेका थिए, “कुलमानजी हामीसँगै हुनुहुन्छ ।
उहाँको बारेमा चिन्ता गर्नुपर्दैन, हामी एकै हौं।” यसैगरी, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग पनि मिलेर अघि बढ्ने तयारी भएको बताएका छन् । बालेन–रवि लामिछाने भेटको क्रम लगातार भइरहेका छन् । बिहीबारको छलफलमा बालेनले सम्भावित प्रधानमन्त्रीको परिस्थितिमा एकताको सहज मार्गबारे प्रस्ताव राखेका थिए ।यसअघि कमलपोखरीमा दुई दिनअघि छलफल गरेका रवि–बालेनबीच पहिलो चरणमा बालेन समेत प्रधानमन्त्री बन्न सक्ने कुराकानी भएको थियो । तर बाहिर आएर रविले त्यसभन्दा भिन्न अर्थ लाग्ने गरी बोलेको भन्दै बालेन बिच्केका थिए ।
रास्वपासँग एकता संवादको अध्याय अघि नबढ्ने सम्भावना रहेको भन्दै बुधबार र बिहीबार बिहान उनले विभिन्न पक्षसँग परामर्श गरेका थिए । बिहीबारको वार्तामा बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन रवि तयार भएको भन्ने अड्कलबाजी चलिरहेको छ । रविले निकटस्थसँग यसबारे स्पष्ट बताएका छैनन् । बालेनले जेनजी विद्रोहको नयाँ राजनीतिक ऊर्जा र रविको सांगठनिक शक्ति बीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीलाई महसुस गरेका छन् ।
रास्वपा केन्द्रीय सचिवालय सदस्य सोबिता गौतमले भनेकी छन् कि संवादको निरन्तरता स्वागतयोग्य छ र जनता नयाँ शक्तिहरूको एकताबाट आशावादी छन्। बालेन, पुराना राजनीतिक दलहरूको निशाना परेका छन् । सामाजिक सञ्जालमार्फत पुराना नेताहरूमाथि तीव्र प्रहार गर्ने बालेन, जेनजी आन्दोलनपछिको आन्दोलनलाई प्रतिनिधित्व गर्ने व्यक्तित्व बनेका छन् । पुराना दलको नेताहरुले जेनजी आन्दोलनको नाममा बालेनले देश ध्वास्त पारेको आरोपलगाउने गरेका छन् ।
केहीले उनलाई ‘लुसिफर’को ट्यागसम्म दिएका छन् । यही कारणले उनी पार्टी निर्माणमार्फत आफ्नो शक्ति सुनिश्चित गर्ने तयारीमा छन् । बालेनले जेनजी अभियानका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर साझा रणनीति बनाउने प्रयास पनि गरिरहेका छन्।बिहीबार जेनजी प्रतिनिधिहरुसँगको सामूहिक छलफल गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका थिए । बालेनको भनाइ उल्लेख गर्दै एक जेनजी अभियन्ताले भने– ‘तपाईंहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ ।’ भ्रष्टाचार, ढिलासुस्ती र झोलाप्रवृत्तिबाट असन्तुष्ट जनमत बालेनको स्पष्ट, कडा र नडराउने आवाजको खोजीमा थियो ।
सडकदेखि सामाजिक सञ्जालसम्मको आक्रोशलाई उनले राजनीतिक एजेन्डामा परिणत गर्न सक्ने क्षमताका कारण बालेन आज सबै भेटघाटको केन्द्र बनेका छन् । जेनजीहरूको दृष्टिमा बालेन ‘सिस्टम च्यालेन्जर’ हुने । उनको शैली, भाषाशैली र जोखिम लिने साहसले उनीहरूलाई प्रेरित गरेको छ । विघटित संसद्, अस्थिर गठबन्धन र विश्वास संकटले वैकल्पिक राजनीतिक अक्षको खोजी बढाएको छ । बालेन त्यही सम्भावनाको प्रतीक बनेका छन् ।
अहिले बालेन पदभन्दा प्रभाव, भाषणभन्दा काम र दलभन्दा जनमतको प्रतिनिधि बनेका छन् । यही कारणले देश हाँकिसकेका पूर्वप्रधानमन्त्रीदेखि नयाँ शक्ति जेनजी सबैका लागि बालेन साझा गन्तव्य बनेका छन् । तर, बालेनमाथि पनि प्रश्न उठिरहेको छ– यो लहरलाई उनीले कहाँसम्म लैजान्छन् ? के सबै नयाँ शक्तिलाई एक ठाउँमा उभ्याउलान् ? जसकारण पनि यस्ता शक्ति निर्माणको जग बलियो राजनीतिक बाटो हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस