आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

कुलमान, रवि र बालेनको गठजोड : एक चर्चा


  • आक्रमण न्युज
  • २०८२ पौष १४, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ३१३ पाठक संख्या
  • अचेल चिया पसलमा समेत सुन्न थालिएको छ – बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङहरू मिल्नैपर्छ । तीनैजना मिलेर चुनावमा जानुपर्छ अनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जस्ता पुराना दललाई धूलो चटाएर बहुमतको सरकार बनाउनुपर्छ । एउटै नयाँ दल भएर चुनावमा जानुपर्छ, अलग–अलग जानु हुँदैन । बालेन, रवि र कुलमानहरू मिल्नैपर्छ र पार्टी एकता गर्नैपर्छ भनेर मत प्रकट गर्ने एक सर्वसाधारणलाई यस पंक्तिकारले सोध्यो– बहुदलीय व्यवस्थामा यी तीनैजनाले आ–आफ्नै पार्टी बनाएर चुनावमा जाँदा हुँदैन ?
    जवाफ आयो– आम्मै ! त्यसो गर्यो भने त यिनै कांग्रेस एमालेहरूले नै फेरि चुनाव जितिहाल्छन् नि ! एउटै पार्टी बनाएर जानुपर्छ । पंक्तिकारले फेरि सोध्यो– त्यसो भए कांग्रेस, एमाले र माओवादीले पनि एउटै पार्टी बनाएर, पार्टी एकता नै गरेर चुनावमा जान सम्भव छ त ? पार्टी भनेको त एउटा निश्चित विचारका आधारमा देशलाई दीर्घकालीन रूपमा अगाडि बढाउनका लागि बन्ने संस्था होइन र ? कि पार्टी भनेको चुनावमा अर्कोलाई हराउने र सत्तामा पुग्ने गणितीय खेलो फड्को मात्रै हो ? एउटा मात्र नयाँ पार्टी खोजिरहेका ती सम्वादकर्ता धेरै बोलेनन् । मनको भाव पोख्दै यत्ति भने– यी ओली, देउवा प्रचण्डहरूलाई जसरी भए पनि हराउनु पर्यो सर । यिनीहरूले देश बर्बाद बनाए ।
    आजको मितिसम्म बालेन, रवि र कुलमान घिसिङका आ–आफ्नै पार्टीहरू छन् । ती पार्टीको लक्ष, उद्देश्य र सिद्धान्त के हो ? भोलि चुनाव जितेपछि गर्ने कामहरू के–के हुन् ? उनीहरूको वर्गीय पक्षधरता के हो ? शासकीय स्वरूप, राज्य प्रणाली र राज्य सञ्चालनको नीति र विधि के हो ? यी प्रश्नहरूमाथि छलफलै नगरी कांग्रेस–एमालेलाई हराउन वा उनीहरूमाथि रिस पोख्नका लागि मात्रै एकता गर्ने हो भने नयाँ गठबन्धनले चुनाव त जित्ला तर जितेपछि के गर्ने ? नयाँ पार्टीले लिने कार्यक्रम र नीतिका विषयमा हामीबीच पर्याप्त छलफल र बहस हुन सकेको देखिँदैन । युवा पुस्तामा यत्तिमात्रै हुटहुटी छ, नयाँहरू मिलुन् र पुरानालाई हराउन् । तर, हराएपछि के गर्ने ? अगाडिको बाटोबारे खासै बहस भएको छैन । बरु, अलमल छ ।
    रवि लामिछाने जुझारु क्षमता भएका व्यक्ति हुन् । उनीसँग आँट पनि छ, जोश पनि छ । अचम्मको ‘डोपामिन’ छ उनीभित्र । उनलाई कार्यकर्ता र समर्थकहरूको बलियो साथ पनि छ । आफ्नो निर्वाचन क्षेत्र चितवनमा उनी ढुक्क छन् । र, अहिलेको परिस्थितिले रविलाई राम्रैसँग साथ पनि दिएको छ । यो अवस्थामा रवि लामिछाने कांग्रेस–एमालेलाई चुनौती दिन सक्ने बलिया पात्र हुन् भन्नेमा शंका छैन । उनी कुलमान, बालेन लगायत धेरै नेताहरूलाई सँगै लिएर अघि बढ्न सक्ने क्षमता राख्छन् । तर, रवि लामिछानेसँग फ्यान फलोअर्स र अवसरहरू मात्र छैनन्, यक्ष प्रश्नहरूको घेराबन्दी पनि छ ।
    रवि लामिछानेलाई पनि धेरै मानिसहरूले पुरानै पार्टीका शीर्षनेता (ओली, देउवा र प्रचण्ड) सँगै राखेर हेरिरहेको अवस्था छ । ०७९ को चुनाव जितेपछि उनले के–के गरे ? सरकारमा जान केपी शर्मा ओलीसँग किन गठबन्धन गरे ? त्यसयता देशका विभिन्न सहकारीमा उनी किन मुछिए ? के यसमा रवि दूधले धोएकै व्यक्ति हुन् ? के उनलाई ओली सरकारले निराधार आरोप लगाएको हो ? उनलाई विभिन्न अदालतले किन धरौटी राख्न लगाए ? अन्तिममा उनी आफैंले आफ्नो ‘भागमा पर्न सक्ने’ बिगो तिरेर काराबारबाट निस्किएका हुन् या अदालतले उनलाई सहकारी ठगीमा निदोर्षिताको प्रमाणपत्र दिइसकेको हो ?
    यसरी विभिन्न अदालतमा मुद्दैमुद्दा भएको व्यक्तिमा भोलि भ्रष्टाचारविरुद्ध अभियान चलाउने नैतिक बल कहाँबाट आउँछ ? जीबी राई अहिलेसम्म किन पक्राउ परेका छैनन् ? ग्यालेक्सी टीभीमा कार्यरत पत्रकारको तलब कहिले निकासा हुन्छ ? यस्ता विविध प्रश्नहरूको घेराबन्दीमा छन् रवि लामिछाने । भैरहवा काराबारबाट विगो जरिवाना तिरेर बाहिर निस्कँदै गर्दा रवि कुनै युद्ध जितेर आएको शैलीमा थिए । चितवन, काठमाडौं लगायतका ठाउँमा उनका भाषण सुन्दा भावावेग र गालीबाहेक केही सुनिएन । उनी नरमरूपमा प्रस्तुत भएनन् । अर्कालाई गाली मात्रै गरे । तर, सहकारीको विषयमा उनी खासै बोलेनन् । सहकारी पीडितहरूका बारेमा बोलेनन् । विगतमा आफूले धेरै भूल गरेको थिएँ कि ? आत्मालोचनाको ‘आ’ सम्म निस्किएन उनको मुखबाट । उनले अदालतप्रति सम्मान गरौं, आलोचना नगरौं भनेर कार्यकर्तालाई भनेनन् । उनमा यस्तो दम्भ देखियो कि मानिलिऊँ उनी अहिल्यै सिकन्दर भइसके । त्यसैले अज्ञात शत्रु खडा गरेर उनले त्यसमाथि हवाइ फायर गरे । के उनको यो प्रस्तुतीले जेनजी पुस्ताबमाट खोजिएको नेताको अभाव पूर्ति होला ? यो बहसको विषय हो ।
    भनिन्छ, प्रेमीसँग शब्द सकियो भने एक अर्कालाई चुम्बन गर्छन्, नेतासँग शब्द सकियो भने अरूलाई गाली गर्छन् । जुन नेतासँग शब्द सकिएको हुँदैन, उसले आफ्नो भाषणमा कसैलाई गाली नगरिकन आगामी दिनमा देशलाई कता लैजाने भन्ने सिर्जनात्मक ढाँचा प्रस्तुत गर्छन् । आफ्ना आलोचकहरूलाई गाली गर्न र घृणात्मक अभिव्यक्ति दिनका लागि रवि लामिछाने पनि केपी ओलीभन्दा कम छैनन्, बरू बढ्तै छन् । विपक्षीहरूप्रति उनको व्यवहार लोकतान्त्रिक हुने गरेको छैन । मूल धारको मिडियालाई हेर्ने नजर पनि पूर्वाग्रही छ । ‘१२ भाइ’ को बिल्ला भिराएर पत्रकारितालाई बदनाम गर्ने उनै हुन् । यति मात्र होइन, पार्टी सञ्चालनमा पनि रविमाथि केपी ओलीकै शैली अपनाएको आरोप लाग्ने गरेको छ । मुकुल ढकाल त्यसै भनेर पार्टीबाट निस्किए । पछि, सुमना श्रेष्ठको विद्रोह पनि यही कुरासँग सम्बन्धित छ ।
    आफूमाथि मुद्दा लाग्दा परिवारका सदस्यलाई खटाएर पूर्वन्यायाधीश भेट्न लगाई भनसुन गराउने अनि अदालतमा राजनीतिक हस्तक्षेपको भरमग्दुर प्रयास उनले गरेको हुनाले स्वतन्त्र न्यायालयप्रति पनि रविको प्रतिबद्धतामा शंका छ । भनिन्छ, प्रेमीसँग शब्द सकियो भने एक अर्कालाई चुम्बन गर्छन्, नेतासँग शब्द सकियो भने अरूलाई गाली गर्छन् । जुन नेतासँग शब्द सकिएको हुँदैन, उसले आफ्नो भाषणमा कसैलाई गाली नगरिकन आगामी दिनमा देशलाई कता लैजाने भन्ने सिर्जनात्मक ढाँचा प्रस्तुत गर्दछन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑