Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

सम्मानित ब्यक्तित्व सुशिला ”आमा”


  • आक्रमण न्युज
  • २०८२ फागुन २६, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • २७४ पाठक संख्या
  • भदौ २३ गते, २०८२ साल, सोमवारको दिन नेपालको इतिहासमा कहिले पनि क्षम्य हुन नसक्ने घटना घट्यो। प्रहरीले जता पायो उतै ताकेर प्रदर्शनकारीहरूमाथि गोली वर्षायो। कलिला विद्यार्थीको घाँटी, मुटु, छाती जताततै गोली लाग्न थाल्यो; ६ घन्टाको बीचमा १९ जनाको हत्या भयो। त्यो मृत्यु होइन, हत्या नै थियो। त्यो सत्ताको बर्बरता थियो। आफूभन्दा दुई पुस्ता तलकाले केही गर्न सक्छन् भन्ने कल्पनासम्म नगरेकाहरूले, जसरी भए पनि सत्ता र शक्तिमै रहिरहन गरेको निर्दयीपनको हद थियो। भोलिपल्ट, सायद धेरै अघिल्लो दिनको आक्रोश र अलिकति घुसपैठ (यसको जवाफ कार्की आयोगको रिपोर्टले दिन्छ होला!) ले अर्को विध्वंस मच्चियो। नेताका घर जले; सिंहदरबार जल्यो; सर्वोच्च अदालत जल्यो; थुप्रै व्यापारिक र सरकारी भवनहरू जले।

    यो दिन यत्तिकै आएको थिएन। तीस वर्षदेखिको राजनीतिक र नीतिगत भ्रष्टाचारले नेताहरूले थुपारेका अकुत सम्पत्ति, देश र जनताको दिन–प्रतिदिनको समस्या समाधान नहुँदा भोगेको नैराश्यता, देशमा रोजगारी सिर्जना नहुँदा घरघरबाट खाडी, कतार, मलेसिया पुग्नुपर्दाको पीडा सबै समेटिएको थियो। सोमवार शान्तिपूर्ण प्रदर्शनको आह्वान गरियो। मंगलवार जताततैको अराजक गतिविधिले विषम परिस्थितिको अवस्था खडा गर्यो। बुधवार ‘डिस्कोर्ड’ लगायतका सामाजिक सञ्जालबाट अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने भनेर भोट गरियो। बिहीवार सरकार गठन गर्ने कानुनी कुराहरूबारे छलफल भयो र शुक्रवार नयाँ प्रधानमन्त्रीले शपथ खानुभयो। यति छिटो सत्ता परिवर्तन कहाँ हुनसक्छ होला !

    यहाँनिर एउटा स्मरणीय कुरा के छ भने, युवाहरूको रोजाइमा देशले पहिलो महिला प्रधानमन्त्री पायो। यो निर्णय, महिला नै हुनुपर्छ भनेर भएको होइन; संकटको घडीमा युवाहरूको आड, भरोसा र विश्वास लिएर देश अगाडि बढाउन सक्ने नेतृत्वमा उहाँ छानिनुभयो। उहाँको नाम सुशीला कार्की थियो, जो देशको पहिलो महिला प्रधानन्यायाधीश हुनुहुन्थ्यो। तर प्रधानमन्त्री भएको दिनदेखि पुराना सत्ताका चाटुकारहरूका साथै प्रायःजसो नेतृत्व पंक्तिका व्यक्तिहरूले समेत बस्न–खान दिएनन्।

    त्यतिमात्रै होइन, जुन नवयुवाहरूले उहाँको नाम डिस्कोर्डबाट छानेर पठाएका थिए, उनीहरूले समेत टोकस्न छाडेनन्; ‘अहिले नै सत्ता छाड्नुस् !’ भनेर धम्क्याइरहे।

    उहाँमाथि कस्ता-कस्ता आरोप लगाइए भनेर लेख्न पनि लाज लाग्छ। कसैले पिसाब फेर्न बसेर उठ्न नसक्ने, कसैले पूर्वराजाका छोरीको सम्पत्तिसम्बन्धी मुद्दा हराइदिएकोले प्रधानमन्त्रीको पदमा रहन योग्य नभएको, कसैले सारी फेरि-फेरि लगाउने, कसैले विदेशीको दलालसँग मिलेर देश डुबाउन लागेको, कसैले देशलाई खरानी पारेर आफू सत्तामा जान चाहेको आदि-आदि आरोप लगाइरहे। त्यो समयमा दुईवटी महिलाको हदैसम्म अपमान भइरह्यो; पहिलो- प्रधानमन्त्री कार्की र दोस्रो- बारबरा एडम्स। प्रधानमन्त्री कार्की त जीवित नै हुनुहुन्छ, उहाँमाथि लागेको आरोप त उहाँले चाहनुभएको खण्डमा जवाफ पनि दिन सक्नुहुन्थ्यो; तर उहिल्यै यो संसार छाडेर गइसकेकी बारबरा बारम्बार अपमानित भइरहनुभयो।

    अर्का स्वघोषित नेता दुर्गा प्रसाईं र राजावादीहरूको डफ्फाले त सक्ने भए उहिल्यै कुर्सीबाट खेदिसकेका हुन्थे। अन्टसन्ट बक्ने ज्योतिषीहरूका त के कुरा गर्नु र ! यो सन्दर्भमा सबैभन्दा दुःख लागेको कुरा त, बारबरा एडम्स जीवित हुँदा रातदिन समय बिताएकाहरू हुन् वा फाउन्डेसनबाट मनग्गे फाइदा लिएकाहरूले समेत दिवंगत एडम्सलाई लगाइएको आरोपबारे एक शब्द बोल्न चाहेनन्। यहाँनिर अचम्म त के लाग्यो भने, जुन बारबराले पचासौँ वर्ष नेपालमा बिताएर दिवंगत हुनुभन्दा एकाध वर्ष अगाडिसम्म नेपाली नागरिकता लिनका लागि संघर्ष नै गरिरहनुपरेको थियो, यदि उहाँ वा त्यो संस्था त्यति शक्तिशाली थियो भने, उहाँले त्यतिबेलै आफूले चाहेको कुरा तुरुन्तै हासिल गर्न सक्नुहुन्नथ्यो होला ? खैर, यो सन्दर्भलाई यहीँ रोकौँ।

    फागुन २१ गते चुनाव सिद्धिएपश्चात् पत्रकार तथा बुलबुल प्रकाशनका संस्थापक अच्युत घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, ‘भदौको अन्तिम हप्तादेखि लगातार वा आंशिक रूपमा प्रधानमन्त्रीलाई बारबराको नियुक्ति, विदेशी चलखेल, पक्षपोषण गर्न आएकी, कांग्रेस श्रीमान्की पत्नी भएकीले कांग्रेसलाई जिताउन आएकी, हिँड्न नसक्ने, प्रधानन्यायाधीश हुँदादेखि गल्ती गरेकी जस्ता घटिया स्तरको प्रहार भयो। यति मात्र कहाँ हो र ? लोकतन्त्र भँड्खालोमा पर्यो, प्रम पद पाउनकै लागि भदौ २३ मा सडकमा बोल्न आएकी, जेनजी आन्दोलनको तयारीमै यिनको हात थियो समेत भन्ने आरोप लगाए। प्रम खान उफ्रिँदै सडकमा निस्केकी जस्ता क्षुद्र वचन सोसियल मिडियामै लेख्नेहरूले कृपया आज उहाँको तारिफ नगर्नुहोला ! तपाईं दुईजिब्रे नबन्नुस् ! एउटा सर्तमा तपाईंले उहाँको तारिफ गर्न सक्नुहुन्छ- म सोसियल मिडियामा त्यसै बहकिने पिँध नभएको लोटा रहेछु, बल्ल बुद्धि फिर्यो; आइन्दा मनमा शंका लागेकै भरमा वा कसैको चरित्र हत्या गर्न जे पायो त्यही भन्ने छैन !’

    रह्यो चुनावको कुरा। हामी ६ महिना भन्छौँ, तर पूरा ६ महिना उहाँले पाउनुभएन। ५ महिना र चानचुन समयमा आगोको भुङ्ग्रोमाथि सरकार बनाउन लगाएर ‘अनि ६ महिनाभित्र चुनाव गराऊ’ भन्नु आफैँमा तिमी पनि फेल भइहाल्छौ भनेर दिएको डेडलाइन थियो। नपत्याए सम्झिनुस् असोजदेखि आजसम्मका घटनाक्रम। १५ दिनअघिसम्म पनि यो चुनाव पक्का हुन्छ भन्ने तपाईं-हामी कसैलाई ढुक्क थिएन। हिजोसम्म तरलताको फाइदा उठाउँदै नाथु एउटा फलित ज्योतिषसमेत उफ्रिँदै थियो- ‘चुनाव हुनै सक्दैन’ भनेर !

    खोइ त उसको भविष्यवाणी मिल्यो ? अब मतगणना जेसुकै होस्, चुनाव भयो त। एक थोपो रगत नबगी चुनाव सम्पन्न भयो। ५५-६० प्रतिशत हाराहारीमा भोट खस्नु सफल चुनाव हो। धमिलो पानीमाथि माछा मार्नेहरू कति थिए ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑