
विज्ञान-प्रविधिको विकासले लिएको गतिलाई प्रकृतिले रोकेन भने सुदूर भविष्यका सन्ततिहरूले आजको हाम्रो जीवनकाललाई पनि जंगलीहरूको जीवन कथा मानेर अभिरूचिपूर्वक अध्ययन गर्नेछन् । यदि विज्ञानलाई छाडेर शास्त्रीय र आध्यात्मिक बन्ने हो भने ईहलोक, परलोक, पाताललोक र भएभरका सबै लोकतिर हामी घुम्न सक्छौँ अनि चित्तानन्दको अनुभूति गर्न सक्छौँ । त्यस्तै, जन्म-जन्मान्तरसम्म निरन्तर जन्मिइरहन सक्छौँ ।
देवी-देवताहरूले स्वर्गलोकदेखि पृथ्वीलोकसम्म यात्रा गर्दा पनि मनचाहे बाहनमा यात्रा गर्दै आफ्नो लक्ष्यमा पुग्थे । अझ भनौँ, देवदेवीहरू मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । तर यी साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो ! दैवीय शक्तिको क्षमता नहुनेहरूमा उड्न र गुड्न असम्भव थियो । अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । यी र यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ ।
विज्ञान-प्रविधिले भौतिकरूपमा आफ्नो लक्ष्यलाई स्पर्श गराउँछ भने आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ । अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । अब यहाँ भन्दा भित्र र गहिराइमा नजाऔँ किनकि हामीलाई बाहिर निस्कन बाधा हुन्छ ! पृथ्वीको एक हिस्सा हाम्रो देश पनि हो । हाम्रो देशको अवस्थितिलाई भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको छ । हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ । जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ !
समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए ।
०४६ सालको परिवर्तनको संघारमा नेपालमा अनेकखाले भ्रमहरू प्रचारमा आए । मुलतः राजारानीका बारेमा थरिथरिका अनर्गल प्रचार र प्रलापहरू बजारमा आउन थाले । राजा वीरेन्द्र भन्दा पनि रानी ऐश्वर्यका बारेमा ज्यादा उछाल ल्याए । रानीले पम्फादेवी ठकुरानीको नाममा अर्बौं रुपैयाँ विदेशी बैंकमा जम्मा गरेको, राजाले समुन्द्रमा छुट्टै टापु किनेको लगायत अनेक भ्रमहरू बजारमा प्रचार गरियो । यस्ता सबै भ्रमहरूका पछि मान्छेहरू दौडे ।
तत्कालिन समयमा नेपालका क्याम्पसमा सीमित उग्र वामविचारका राजनीति यिनै भ्रमहरूका वरिपरि घुम्थे । त्यस प्रकारका सबै भ्रमहरू यसकारण भ्रम थिए कि अहिले लगभग चार दशक समय ब्यतीत हुँदा पनि उपरोक्त आरोपहरूको कतै कुनै पुष्टि हुँदै भएन । यी सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होला ! ‘पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए ।
यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् । हुनपनि परम्परागत मौसमी उत्पादनमा निर्भर नेपालीहरूले छरिएको भ्रमलाई कतिपयलाई ‘हो’ लाग्यो । अहिले त सबै देखियो नि के रहेछ सत्य र के रहेछ भ्रम भन्ने सबै बुझियो ! त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् ।
राजाहरूको त हैसियत थियो खर्च गरे तर अचेल जनताका सर्वहारा गरीब नेताहरूले लगभग करोडका घडी, लाखौंका ह्याण्डब्याग, रिसोर्टमा बाहेक होटलमा निन्द्रै नलाग्ने ऐयाशी जीवन कुन हैसियतले मिल्यो ? दशौँलाखका थ्रीपीस सुट कुन हैसियतले लगाउँछन् होला ? जनताका छोराछोरीका घर जलेपछि खुला आकाशमुनि बास हुन्छ, त्रिपाल पनि पाउँदैनन् । तर नेताको घर जल्दाबित्तिकै लखनउका नवाफका जस्ता भव्य महलमा बास कसरी हुन्छ ?
राजाले बेमौसमको सामान्य सागसब्जी विदेशबाट मगाएर खाएकाले उनलाई सामन्तीको नाइके देख्ने झीरले खोलेका आँखाले गरीब जनताको नेता भन्नेले एकाध वर्ष मन्त्री-सन्त्री हुँदैमा राजाभन्दा डबलको हैसियत र अझ डबलको सामन्तीका नाइके भएको दुनियाँले देखेका छैनन् र ?
आधुनिक नेपालका निर्माता शाहवंशका राजाहरूको शताब्दिऔँ पुरानो विरासत र हैसियतले कहिलेकाहीँ फरक भूगोलका उत्पादित बस्तु हवाईजहाजको माध्यमबाट नियमित उडानमा ल्याउनु र उपभोग गर्नु कति नै ठुलो कुरा थियो र ! छर्नेले भ्रम धुमधामले छरे, हामीले त्यही भ्रमलाई पत्याउँदै गायत्रीमन्त्र बनाएर जप्यौँ । यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ ।
दिग्भ्रमित नेताहरूले जनतालाई संधै गोयवल्स शैलीमा भ्रमहरू उछाली रहे ।आजसम्म पनि राजसंस्थाको बारेमा यही शैलीमा भ्रमहरू ओकल्न बाँकी राखेका छैनन् । तर राजसंस्थाका बारेमा छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए । स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका धोल्लो बोली र लुला खुट्टा देखिनु त्यसैको द्योतक मान्न सकिन्छ । नेताहरूले जनतालाई गलत बुझाएको बुझेपछि यतिखेर जनताले उनीहरूप्रति घृणा र आक्रोश ब्याप्त छ भने राजा र राजसंस्थाप्रति विश्वास प्रेमभाव दिनानुदिन बढेको छ !
विज्ञानको चमत्कारले गर्दा पुष्पकविमानको ठाउँमा लौहविमानलाई हावामा उडाउन सकियो । धृतराष्ट्रलाई झैँ ‘आँखोदेखा हाल’ बताउने सञ्जयको अब जरुरी छैन ।

प्रतिक्रिया दिनुहोस