
चितवन । आज प्रणय दिवसको अवसरमा सौराहा फुड फेस्टिवल झनै रोमाञ्चक बन्ने भएको छ। प्रेमिल जोडीहरूलाई नचाउनका लागि प्रमोद खरेल, अर्जुन सापकोटा, मञ्जु पौडेल, शान्तिश्री परियार, र परम्परा ब्याण्ड लगायतका चर्चित कलाकारहरू सौराहा आइपुग्दै छन्।
संगीतमय माहोलसँगै रत्ननगर कला मन्दिरका कलाकारहरूको प्रस्तुति र विभिन्न खेलकुद प्रतियोगिता समेत महोत्सवको आकर्षणका रूपमा रहेका छन्। महोत्सवको आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल ९रेवान०, सौराहा का महासचिव नवीन नेपालका अनुसार, महोत्सवले पर्यटकहरूलाई रमाइलो अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
माघ २९ गतेदेखि सुरु भएको सौराहा फुड फेस्टिवल भोलि (फागुन ३) गते समापन हुँदैछ। फेस्टिवलअन्तर्गत आयोजना गरिएको प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता को फाइनल खेल पनि भोलि सम्पन्न हुनेछ।
रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार, सौराहाको पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति र खानाको प्रचारप्रसार गर्ने उद्देश्यले हरेक वर्ष यो फेस्टिवल आयोजना गरिन्छ। प्राकृतिक सौन्दर्यताले भरिएको सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।
उक्त अवसरमा स्थानीय व्यवसायीहरूले आवास र खानामा १०५ छुट सुविधा प्रदान गरेका छन् भने फेस्टिवललाई रत्ननगर नगरपालिका ले संरक्षकता दिएको छ भने सहआयोजकका रूपमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा, र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन्।
प्रणय दिवस विशेष फेस्टिवलमा रोमान्टिक संगीत, प्रतिस्पर्धात्मक खेलकुद र स्वादिष्ट परिकारहरू का साथ सौराहा पर्यटकहरूको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यदि तपाईं पनि अविस्मरणीय क्षणहरू अनुभव गर्न चाहनुहुन्छ भने, आजै सौराहा जान नबिर्सनुहोस् !

प्रतिक्रिया दिनुहोस