
चितवन । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस), क्षेत्रपुर, भरतपुर–२ ले आफ्नो १८ औं स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत देवघाट–५, तनहुँस्थित माँ कल्याणी वैदिक कन्या गुरुकुलमा अध्ययनरत ३२ बालिकालाई भोजन तथा फलफूल वितरण गरेको छ भने संस्थामा आवद्ध १० जना ज्येष्ठ शेयर सदस्यलाई घरमै पुगेर सम्मान गरेको छ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालका अनुसार गुरुकुलका बालिकाहरुलाई भोजन, फलफूल वितरण तथा स्नेह सन्देश प्रदान गर्दै सामाजिक सेवामा सहकारीको भूमिका पुष्टि गरिएको हो। “आगामी दिनमा वृद्धाश्रम, विपन्न वर्ग तथा विकट क्षेत्रका सेवा अभावमा परेका समुदायलाई सहयोग विस्तार गर्दै लैजानेछौं,” अध्यक्ष धितालले प्रतिबद्धता जनाए।
गुरुकुलका बालिकाहरुले अतिथिहरूको स्वागत स्तुति वाचन, टिका र फूलका गुच्छाले गरेका थिए। गुरुआमाहरू र ३२ बालिकासहित हाल गुरुकुलमा ४५ जना बसोबास गरिरहेका छन्। कार्यक्रमको संयोजनमा संस्थाका सल्लाहकार भगवती पाण्डे, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेल लगायत पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो।

त्यसैगरी, बिहीबार कार्यालय परिसरमा १८ वटा दिप प्रज्वलन गरी स्थापनाको १८ औं वर्षगाँठको उद्घाटन गरिएको थियो। संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि शालिकराम घिमिरेले दिप प्रज्वलन गर्दै संस्थाको स्थायित्व र समर्पणको प्रशंसा गरे। उनले संस्थालाई अझ सशक्त र परिस्कृत बनाउने खाका प्रस्तुत गर्दै सदस्यमुखी मात्र नभइ व्यवस्थागत सुधार आवश्यक रहेको बताए। कार्यक्रममा केक काट्दै सबै पदाधिकारी र सदस्यहरुले एकापसमा खुशी साटासाट गरेका थिए।
अर्को महत्त्वपूर्ण कार्यक्रमका रूपमा संस्थाले ७५ वर्ष नाघेका १० जना ज्येष्ठ शेयर सदस्यलाई ‘ज्येष्ठ सदस्य सम्मान’ प्रदान गरेको छ। व्यवस्थापक विकास पौडेलका अनुसार उनीहरुलाई दोसल्ला, फलफूल र नगदसहित सम्मान गरिएको हो। संस्थाका प्रतिनिधिहरू उनीहरूको घर–घरमै पुगेर सम्मान गरेका थिए। यो सम्मान कार्यक्रम यसैवर्षदेखि सुरु गरिएको व्यवस्थापक पौडेलले जानकारी दिए।
सम्मानित हुनेहरुमा पदमकुमारी देवकोटा (भरतपुर–२), निरप्रसाद अधिकारी (भरतपुर–११), तेजप्रसाद शर्मा (भरतपुर–४), दिपकुमार उप्रेती (भरतपुर–७), छमकुमारी रिजाल (भरतपुर–१०), रेवतीप्रसाद रिमाल (भरतपुर–१२), टेकबहादुर प्रधान (तीनखोले), गणेश गुरुङ (बुद्ध टोल), रामचन्द्र लामा (तालिम केन्द्र पछाडि) र विष्णुमाया पाण्डे (गोर्खाली टोल) रहेका छन्।
स्थापना दिवसको पहिलो दिन बुधबार संस्थाले शेयर सदस्यहरूका लागि ‘सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ पनि आयोजना गरेको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा सदस्यहरुको सहभागिता रहेको थियो।
कार्यक्रम समापन गर्दै उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले संस्थाको संस्थागत हितलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाउँदै सबैलाई सहकार्यका लागि आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस