
मंसिर २२ २०८१
चितवन । चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा इभी भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
शुक्रबार राति करिब ११ः१५ बजे हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ०५५५ नम्बरको भ्यानले राप्ती–२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवालीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका रुवालीलाई तत्कालै भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा राति १२ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले ठक्कर दिने भ्यान र त्यसका चालक खोटाङ बाराह पोखरी गाउँपालिका–१ का २४ वर्षीय दीपक मगरलाई नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस