आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

सरकारी कार्यालयहरूमा श्रम शोषणको विरोध : आउटसोर्सलाई इन्सोर्समा रूपान्तरणको माग गर्दै चितवनमा पत्रकार सम्मेलन


  • आक्रमण न्युज
  • २०८१ माघ २६, शनिबार मा प्रकाशित १ साल अघि
  • १०६४ पाठक संख्या
  • माघ २६, २०८१/ टिकादत्त तिमिल्सिना
    चितवन । सरकारी कार्यालयहरूमा श्रमिकहरूलाई वस्तुसरह खरिद गरी काममा लगाउने अमानवीय कार्यको अन्त्य गर्न माग गर्दै चितवनमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन चितवन जिल्ला कमिटी र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन चितवन जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा श्रम मापदण्डको उल्लङ्घन, न्यून पारिश्रमिक, र श्रमिकको अस्थिर रोजगार सम्बन्धका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको थियो।
    कार्यक्रमका प्रमुख अतिथि प्रेमबहादुर कार्कीले सरकारी कार्यालयहरूले न्यूनतम श्रम मापदण्ड कार्यान्वयन नगरेकोप्रति आक्रोश व्यक्त गर्दै आगामी दिनमा श्रमिकहरूको हकहितका लागि आफ्नो सक्रियता अझ बढी रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
    त्यस्तै विशिष्ट अतिथिहरू उद्धवप्रसाद दाहाल, गोविन्दप्रसाद अर्याल तथा उदयचन्द्र अर्यालले सरकारी निकायहरूबाट श्रमिकहरूको मर्यादा र अधिकार हनन भइरहेकोमा कडा आपत्ति व्यक्त गर्नु भएको थियो ।


    सरकारी कार्यालयमा श्रमिकको वस्तुसरह खरिद : अमानवीय व्यवहारको विरोध
    पत्रकार सम्मेलनमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष आशमान तामाङ्गले सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत बोलपत्र टेन्डरमार्फत श्रमिक आपूर्ति गर्ने प्रथाले श्रमिकहरूको रोजगार असुरक्षित बनेको र उनीहरूको मानव अधिकार उल्लङ्घन भएकोबताउनु भएको थियो । सरकारी कार्यालयहरूले श्रमिकहरूलाई न्यून पारिश्रमिकमा राख्ने मात्र नभई उपचार सुविधासमेत नदिने, बिरामी हुँदा अन्य व्यक्तिलाई प्रतिस्थापन गर्ने धम्की दिने लगायतका अमानवीय व्यवहार गर्ने गरेको आरोप लगाइएको छ ।
    कानूनी संशोधनको माग
    पत्रकार सम्मेलनमा सार्वजनिक खरिद ऐन २०६३ र श्रम ऐन २०७४ मा संशोधन गरी श्रमिकहरूको रोजगार सम्बन्ध कानूनी रूपमा सुरक्षित गर्नुपर्ने माग गरिएको छ। साथै, दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने, अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग गठन गर्नुपर्ने, र श्रम विभागले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग पनि उठाइएको थियो ।
    आउट सोर्सिङ प्रणालीको अन्त्यको माग
    श्रमिक संगठनहरूले आउटसोर्सिङ प्रणालीको अन्त्य गरी इन्सोर्सिङ प्रणालीलाई प्रवर्द्धन गर्न सरकारलाई आग्रह गरेका छन्। कार्यक्रममा बोल्दै श्रमिकहरूले सरकारी निकायले नै श्रमिकहरूको शोषणमा अग्रपंक्तिमा रहेको आरोप लगाउँदै मर्यादित कामको व्यवस्था गर्न सरकारसँग अपिल गरेका थिए ।
    सरकार प्रतिको खबरदारी
    सरकारी कार्यालयहरूलाई श्रमिकहरूप्रति मानवीय व्यवहार गर्न आग्रह गर्दै कार्यक्रमले खबरदारीसमेत गरेको छ । श्रमिकहरूले आफूहरूले काममा योगदान दिएको बावजूद ऐनले तोकेको भन्दा कम तलब पाउँदै आएको गुनासो गरेका थिए ।
    कार्यक्रम नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन चितवन जिल्ला कमिटीका अध्यक्ष रुकुमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    अध्यक्ष श्रेष्ठका अनुसार चितवन मेडिकल कलेज अन्तर्गत आदित्य एण्ड सप्लायर्स एण्ड प्रालिले श्रमिकहरूमाथि तोकिएको तलब नदिएको र समस्या समाधानका लागि सरसल्लाह गर्न जाँदा विभिन्न धम्की दिने गरेको आयोजित पत्रकार सम्मेलनमा यो तथ्य सार्वजनिक गर्नु भएको थियो । चितवनमा मात्रै निजी तथा सरकारी कार्यालयमा गरि एक हजार भन्दा बढी र देश भरमा करीब ५ लाख बराबर श्रमिकहरु कार्यरत रहेको जानकारी गराईएको थियो । उक्त कार्यक्रममा विभिन्न संस्थाबाट आएका सहभागीहरूले श्रमिकहरूको हकहितका लागि निरन्तर संघर्ष गर्ने प्रतिज्ञा समेत गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट