
भरतपुर महानगरपालिका वडा नम्बर १० र जनता सेवा सिपमूलक तालिम केन्द्र, भरतपुर-१२ को सहकार्यमा सञ्चालन गरिएको एक महिने मादल बजाउने तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रम वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने वडा नं. १० का वडा सचिव पदमप्रसाद अधिकारी, सदस्यहरू सूर्यबन्दना हमाल, पार्वती नेपाली, रेशम थापा लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
महिला दिदीबहिनीलाई सशक्त बनाउन तथा सिपमूलक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिममा १०३ जना सहभागी भएका थिए, जसमा ४ जना पुरुष र उनान्सय जना महिला सहभागी थिए । सहभागीहरुलाई विहान १० वजेदेखि एक एक घण्टाको अन्तरालमा प्रशिक्षण दिईएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा सीता सिग्देल र नारायणप्रसाद वर्तौलाले मादल तथा मुजुरा बजाउनलाई महिना दिन सम्म प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको समापनमा प्रमुख अतिथी समेत रहनु भएका भरतपुर महानगर पालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले प्रमाणपत्र वितरण गर्दै जनता सेवा सिपमूलक तालिम केन्द्रका अध्यक्ष देवराज थपलियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस