
१९ आश्विन २०८०/ टिकादत्त तिमिल्सिना
चितवन । नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तर्गत आज शुक्रवार चितवनको भण्डारा र भरतपुरमा कोणसभा सम्पन्न गरिएको छ । कोणसभामा हजारौं कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थिति रहेको थियो । भण्डारामा आयोजित कोणसभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनालले देशको शासन सत्ता दलाल पुँजीवादमा सिमित रहेको बताए । जव सम्म दलाल पुँजीवाद जारी रहन्छ तव सम्म साना किसान तथा व्यवसायीले उन्नति गर्न नसक्ने भन्दै समाजवाद नै जनताको भोलिको आवश्यकता रहेको औल्याए ।

भरतपुरको कोणसभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले अहिलेको समयमा प्रचण्ड सरकारको कुनै विकल्प नरहेको बताए । उनले भने, ‘अहिले अरु कुनै सरकार बन्नसक्ने सम्भावना छैन । अर्को कुनै विकल्प छैन । हामी सामेल सरकारलाई सही दिशामा अघि लिएर जान भूमिका खेल्नुपर्छ । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन समाजवादी मोर्चा पनि बनाएका छौं । वामपन्थी शक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरेका छौं । लोकतान्त्रिक र देशभक्त शक्तिहरुलाई अगाडि लिएर जान्छौं ।’ नेता नेपालले प्रतिगमनकारीहरुले अहिले पनि यो व्यवस्थालाई भत्काउने योजना बनाइरहेको आरोप लगाए ।



उक्त कोणसभामा भएको पार्टी प्रवेश कार्यक्रममा भण्डारामा करिव १०० जनाको हाराहारीमा र भरतपुरमा ५० जना जतीले नेकपा एमाले लगायत अन्य पार्टी छोडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । नवप्रवेशी हरुलाई पार्टि अध्यक्ष लगायतका नेताहरुले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । सो अभियान कार्यक्रमलाई निरन्तरता दिनको लागी भोली वुटवल जाने तयारी रहेको आजका आयोजक जिल्ला कमिटी चितवनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस