आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन


  • आक्रमण न्युज
  • २०८१ बैशाख ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५०३ पाठक संख्या

  • वैशाख ४, २०८१
    चितवन । २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ । सामुदायिक वनमा चराको अवस्था पत्ता लगाउन सौराहाको जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन गरिएको हो ।

    चराको अवस्था अध्ययन गर्नाका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातिको बारेका जानकारी दिइएको वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिँडारीले बताए । उनका अनुसार यहाँका सामुदायिक वनमा पनि चराको राम्रो बासस्थान भएका क्षेत्र छन् । चितवनमा रहेका छ सय ५५ प्रजातिमध्ये ५० प्रतिशत प्रजाति जनकौली सामुदायिक वनमा रहेका बिँडारीले जानकारी दिए ।

    ओझेलमा रहेका जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासका लागि दबाब सृजना गर्न वन्यजन्तु सप्ताहको अवसरमा पारेर चरा अवलोकन कार्यक्रम राखिएको वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीका गिरीले बताए ।

    मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आकर्षित गर्ने गतिविधि आवश्यक रहेको उनले बताए ।

    घिमिरेले पर्यटकलाई डुङ्गा सयर गराइरहेको जनकौलीमा निकट भविष्यमा जिप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जनको आधार तयार गरिने उल्लेख गरे ।

    जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले यस वनमा चराको राम्रो बासस्थान रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । अन्य देशबाट आउने चराहरूले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेका उनको भनाइ छ ।

    जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेसन सोसाइटी सौराहा र नेचर गाइड एसोसिएसन सौराहाको सहकार्यमा आवश्यक उपकरणको प्रयोग गरी चरा अवलोकन गरिएको थियो

    सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वसम्बन्धी विद्यालयस्तरीय नेतृत्वकला प्रतियोगिता, भोलि डुङ्गा सयर, वैशाख ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली गरिने आयोजकले जनाएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट