आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

विद्यालयहरूको वर्गीकरण गरी पढाइ शुल्क निर्धारण


  • आक्रमण न्युज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३३२ पाठक संख्या
  • वैशाख ११ बाँके – , नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्कसमेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

    उपमहानगरभित्रका विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरी सोहीबमोजिम निर्धारण गरिएको शुल्क लिनसमेत जानकारी गराइएको उहाँले बताउनुभयो ।

    शिक्षा महाशाखाका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ८१ वटा विद्यालय रहेका छन् । जसमध्ये प्रक्रिया पूरा नगरेका केही विद्यालयको मापदण्ड मूल्याङ्कन रोकिएको छ । त्यस्ता विद्यालयलाई पाँच हजार जरिबाना तिराएको छ ।

    शिक्षा महाशाखाले वर्गीकरणका लागि स्वमूल्याङ्कन फाराम नभर्ने १४ वटा विद्यालय रहेको जनाएको छ । शिक्षा समितिका अनु्सार ‘क’ वर्गमा १३ वटा विद्यालय परेका छन् ।

    संस्थागत विद्यालयले आफूखुसी शुल्क लिने गरेको अभिभावकको गुनासोपछि उपमहानगरपालिकाले वर्गीकरण गरेर वर्ग अनुसार शुल्क निर्धारण गरेको हो । उपमहानगरपालिकाले ‘क’ वर्गका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम चार हजार पाँच सय, ‘ख’ वर्गकाले तीन हजार ७५० र ‘ग’ वर्गका विद्यालयले तीन हजार शुल्क लिन पाउने निर्णय गरेको छ ।

    त्यस्तै माध्यमिक तहतर्फ ‘क’ वर्गका विद्यालयले मासिक अधिकतम पाँच हजार पाँच सय, ‘ख’ वर्गका विद्यालयले चार हजार छ सय र ‘ग’ वर्गका विद्यालयले तीन हजार ७५० शुल्क लिन पाउने निर्णय गरिएको छ ।

    उपमहानगरले विद्यालयको शुल्क निर्धारण गरेकोमा खुसी व्यक्त गर्दै नेपालगन्ज–११ का अभिभावक मुबारक सिद्दिकीले विभिन्न नाममा लिइने शुल्कसमेत खारेज हुनुपर्ने बताउनुभयो । संस्थागत विद्यालयले विभिन्न नाममा मनपरी तरिकाले विभिन्न शुल्क लिने गरेको गुनासो अभिभावकको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑