
चितवन असार १८, – मुग्लिन–मलेखु सडक खण्ड विस्तार र स्तरोन्नतिको काम निकै सुस्त गतिमा रहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम शुरु गरिएकामा १६ महिनाको अवधिमा जम्मा १३ प्रतिशत काम भएको छ । सम्झौताअनुसार ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।



नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का सूचना अधिकारी कृष्ण आचार्यले नक्साङ्कन, वर्षा र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताउनुभयो । सम्झौता गर्ने बेलाको नक्साङ्कन परिवर्तन गर्दा छ महिना थप समय लागेकाले पनि काममा ढिलाइ भएको उहाँले बताउनुभयो ।
आचार्यका अनुसार मुग्लिन–मलेखु खण्डमा रहेका आठ वटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भर्ट विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडक खण्डमा छ वटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलामा रहेको पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।
विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शर्मा–जेडआई सिजी जेभीले चार अर्ब रुपैयाँमा ठेक्का पाएको छ ।


प्रतिक्रिया दिनुहोस