
मंसिर १६, २०८१ / प्रभातराज पाण्डे
आफ्नो अर्वौ सम्पत्ति भएको दाबी गर्दै आएका दुर्गा प्रसाईले आफूलाई सर्वहारा वर्गको मुक्तिदाता भएको दाबी गर्न समेत छुटाएनन् । प्रसाईं तिनै हुन् जो करोड रुपैयाँ मूल्य पर्ने गाडी चढ्छन् । वरिपरि एक दर्जन निजी सुरक्षा गार्ड राखेर हिँड्छन् । दुर्गा प्रसाईंले नेतृत्व गरेको भीड देखेर कतिपयले भने ‘एक जना मान्छेको पछाडि यत्रो मान्छे आएछन् ।’त्यो भीडको ठूलो हिस्सा तिनीहरू थिए जसले बैंकमा निक्षेपको रूपमा राखेको रकम नै प्रसाईंले कर्जाको रूपमा लिएका थिए । जबकि दुर्गा प्रसाईले बैंकबाट ५ अर्ब ५७ करोड बढी ऋण लिएका छन् । त्यो रकम तीनै समर्थकले बैंकमा बचत गरेको पैसा हो ।
बैंकको ऋण लिएका लघुवित्त वित्तीय संस्थाको ऋणको मारमा परेकाहरू सरकारले समस्या समाधानका लागि चासो नदिएको भन्दै आक्रोश पोख्न प्रसाईंको आन्दोलनमा आएका थिए । कतिपय त दूध खाँदै गरेका काखे बालक च्यापेर रातभर बसयात्रा गरेर अनिँदै आइपुगेका थिए । दिनभर आन्दोलनमा सहभागी भए, प्रहरीसँग घम्साघम्सी गरे । दुर्गा प्रसाईले आन्दोलनमा हिन्दुराष्ट्र फर्काउन् र गणतन्त्र फाल्ने नारा लगाएपछि उनका समर्थकहरू ऋण मिनाहा हुने आशले आएका थिए । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ भनेर उनले गाउँगाउँका लघुवित्त र बैंकका ऋणीलाई उठाएर ल्याएका थिए २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै मान्छेलाई बहकाएका थिए । ऋण मिनाहा हुने आशमा सर्वसाधारण आन्दोलनमा आएका थिए ।
आफ्नो अर्बौं सम्पत्ति भएको दाबी गर्दै आएका दुर्गा प्रसाईले आफूलाई सर्वहारा वर्गको मुक्तिदाता भएको दाबी गर्नसमेत छुटाएनन् । प्रसाईं तिनै हुन् जो करोड रुपैयाँ मूल्य पर्ने गाडी चढ्छन् । वरिपरि एक दर्जन निजी सुरक्षा गार्ड राखेर हिँड्छन् । पाँचतारे होटलमा खान्छन् बस्छन्। ‘बैंकको पैसा र ब्याज तिर्न बन्द गर्नुहोस् । ब्याज उठाउन आए लखेट्नुहोस्’ बल्खुमा उनले फेरि अराजक भाषण दोहोर्याए । बैंक कब्जा गर्न उक्साए । प्रसाईंले पीडितलाई भड्काउन खोजे । दुर्गा प्रसाईंको भड्काउ भाषण सुनिरहेका सर्वसाधारण भने भन्दै थिए, ‘ऋण मिनाहा भयो भने त ठिकै छ। भएन भने त गाह्रो हुन्छ । बैंकले घरजग्गा कब्जा गरिहाल्छ नि ।’
‘कतिपयले भने बैंकको मान्छेलाई लखेटेमा आफूहरू जेल परिने’ बताउँदै थिए । कतिपयले भने बैंकको ऋणले थला परेका सयौँ मान्छेलाई प्रसाईंले आफ्नो स्वार्थको लागि दुरुपयोग गरेको आरोप लगाएका छन्। प्रदर्शनमा हजारौँ मानिसलाई उतार्ने दाबी गरेका प्रसाईंले भिड जम्मा पार्न लघुवित्त तथा बैंकको ब्याजको तिर्न नसकेका सर्वसाधारणलाई प्रयोग गरेको देखियो । लघुवित्तको चर्को ब्याजबारे पीडितहरूले यसअघि दुर्गा प्रसाईंलाई साथ दिएका थिए । तर, लामो समय आन्दोलन गरे, तर उनीहरूको समस्या सम्बोधन भएको छैन । त्यही बेला प्रसाईंले उनले २० लाखसम्म ऋण मिनाहाको झुटो नारा दिएर सर्वसाधारणलाई काठमाडौं ल्याएका थिए । फेरि पनि उनीहरू दुर्गा प्रसाईंको आश्वासनमा लागेर काठमाडौं आए । प्रदर्शनमा प्रसाईंले आफ्नो भाषणमा वर्तमान व्यवस्था फाल्ने र राजा ल्याउने बताए । पुराना दल नेताहरूलाई फाल्ने बताए । अहिले राजनीतिक नेतृत्वविरुद्ध चर्को अभिव्यक्ति दिए । कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छत्रछायाँ पाएका उनी अहिले उनीहरूलाई फाल्ने बताए ।
प्रतिक्रिया दिनुहोस