Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

विदेशीले बोकाइदिएको विषको भारी फ्याँकेर अघि बढ्ने साहस गर्नुपर्छ


  • आक्रमण न्युज
  • २०८१ मंसिर २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३१५ पाठक संख्या
  • मंसिर २१, २०८१ / प्रभातराज पाण्डे

    प्रायः मानिस आफ्नै लागि मात्र बाँच्छन् । दार्शनिकहरू जीवनलाई ‘जन्मदेखि मृत्युसम्मको अथक र अर्थपूर्ण यात्रा’ भन्छन् । खाने, पिउने, सन्तान जन्माउने र अन्त्यमा जीवन विसर्जन गर्नेहरूको संख्या धेरै हुन्छ । कतिपय मानिस छरछिमेक, गाउँ, टोल र अलि परका मानिसलाई पनि आफ्नै ठान्छन् । गच्छेअनुसार उपकार गर्न खोज्छन्, गर्छन् । उनीहरू आफ्नो र परिवारको भन्दा राष्ट्रको हितमा समर्पित हुन्छन् । विन्स्टन चर्चिलका शब्दमा उनीहरू उत्तम, अब्बल र सराहनीय नागरिक हुन् । राष्ट्रका लागि अहोरात्र सोच्ने र काम गर्ने यस्ता व्यक्ति थोरै हुन्छन् । उनीहरू सरकारलाई प्रश्न सोध्ने साहस गर्छन् । नसोधिएका प्रश्नहरू खोतल्छन् । राजनीति बिग्रियो, कूटनीति बिथोलियो र अर्थव्यवस्था हुँडलियो भनेर चिया दोकानमा गन्थन गर्ने जनताले बेथिति सहेर बस्नुभन्दा सरकारका गलत कर्मको सशक्त विरोध गर्ने साहस गरे भने राष्ट्र सुरक्षित र समृद्ध हुन सक्छ ।एकजना हजुरबा ससाना नाति–नातिनीहरूलाई राति सुत्ने बेलामा दिनैपिच्छे नयाँनयाँ कथा सुनाउँथे । महिनौँ दिन कथा सुनाउँदा बाजेको कथा–भण्डार रित्तियो । पुरानै कथा सुनाउँदा बाठा नानीहरू भन्थे, “यो कथा त हजुरले पहिले नै सुनाइसक्या हो ।” बाजेलाई फसाद प¥यो । उनले ‘चरा उडेको कथा’ सुनाउँछु भन्दै नयाँ जुक्ति झिके । केटाकेटीलाई फुस्ल्याउन खोजे ।

    बूढा बाजे कथा सुनाउन थाले, “एकजना राजा आठ-दश जना सिपाही लिएर जंगलमा सिकार खेल्न गएछन् । बाघ, भालु, चितुवा, हरिण, बँदेल, चित्तल, घोरल आदि केही नभेटेपछि उनले चरा मारेर भए पनि सिकारको धोको मेट्ने विचार गरेछन् । एउटा ठूलो रुखमा हजारौँ चरा बसेका थिए । राजाले हाँगाहाँगामा बन्दुक हान्दै एउटा चरा खसाले । अर्को पनि खसाले । तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौ“, आठौ“, नवौ“, दशौ“, गर्दैगर्दै एक हजार एक, एक हजार दुई, तीन, चार पाँच” बूढालाई यत्तिकैमा कान्छो नातिले सिरकभित्रैबाट तिघ्रामा चिमोटेछ । “अइया .. किन चिमोट्छस् । बद्मास केटो ।” वृद्ध रिसाए । नातिले अभिनय गर्दै प्रतिवाद ग¥यो, “राजाले ड्याम्म बन्दुक हानेर एउटा चरा खसाल्दा अरू चरा उडेर भाग्छन् कि ट्वाल्ल परेर रूखमै बसिरहन्छन् ? हामीलाई मूर्ख बनाउने हजुरबाले ? धत् ” हाहाहा केटो हाँस्यो । अरू केटाकेटी पनि हाँसे । नातिको प्रश्नले बूढा झस्किए । नेपाली जनतालाई पनि मूर्ख ठानेर नेताहरूले दिनहुँ त्यस्तै कथा सुनाउँछन् तर चिमोटिदिने कोही छैनन् । तसर्थ, राजनीति बिग्रियो, कूटनीति बिथोलियो र अर्थव्यवस्था हुँडलियो भनेर चिया दोकानमा गन्थन गर्ने जनताले बेथिति सहेर बस्नुभन्दा सरकारका गलत कर्मको सशक्त विरोध गर्ने साहस गरे भने राष्ट्र सुरक्षित र समृद्ध हुन सक्छ । आफूले रुचाएको दलले राष्ट्रघात गर्दासमेत थप्पडी मार्ने जनताले चुनावमा प्रिय नेताको हबिगत देखेका छन् । जघन्य अपराधी, डाँका, तस्कर, हत्यारा, घुस्याहा, विदेशीका एजेन्ट आदि केही कुमान्छेहरूलाई जिताउने जनताले “मन परेको” दललाई त जिताए तर सत्य परास्त भयो । न्याय, इमान, देशप्रेम, आदर्श, मूल्यमान्यता धुलिसात् भयो । भोलि त्यस्ता कुमान्छेहरू त अझ धनी होलान् तर गाउँ, नगर सबै उजाड बन्छन् । राष्ट्र बर्बाद बन्छ । विदेशीको थिचोमिचो बढ्छ । राष्ट्रिय एकता खल्बलिन्छ ।

    धेरै वर्षदेखि राजनीतिका नाममा ढाँट्ने, ठग्ने र राष्ट्रघात गर्नेमध्ये कतिपयले नेपालमा यसपाली पनि चुनाव जिते । कैयन् राजनीतिक प्रवञ्चक र रहस्यमय पात्र परास्त भए । सत्ता नपाउँदा राजतन्त्र ठिक र सत्ता पाउँदा गणतन्त्र नै ठिक भन्ने अवसरवादीहरू पनि पराजित भए । जनताले प्रत्यक्ष रूपमा प्रश्न नगरे पनि नसोधिएका प्रश्नको उत्तर आफै दिए । माओवादीका एजेन्डा बोकेर आफ्नो पहिचान गुमाएका कैयन् नेता ठाउँठाउँमा हारे । संसदमा प्रवेश गर्नै नहुने कैयन् पात्रहरूले पनि चुनाव जिते । यस्ता घटनाले मतदाताहरूको क्षमता, योग्यता र इमानदारीको परीक्षा लिइरहन्छन् । राजनीति वा युद्धमैदान, कूटनीति होस् वा फुटबल मैदान, नेतृत्व गर्ने व्यक्ति (कमान्डर) योग्य छ भने विजय निश्चित छ । भनिन्छ, “भेडाले नेतृत्व गरेको छ भने सिंहको बथान पनि काम लाग्दैन । तर सिंहले नेतृत्व ग¥यो भने भेडाको फौजले पनि जित्छ ।” किनभने सिंह दुर्दमनीय हुन्छ । हार्दैन, भाग्दैन र पुच्छर लुकाएर मर्दैन । राजनीतिक नेता पनि त्यस्तै हुनुपर्छ भनेर चाणक्यदेखि मेकियाभेलीसम्मले वर्णन गरेका छन् । पद ओगटेर बस्दैमा कोही नेता हुँदैन । नेताले नीति बनाउँछ, मार्गचित्र बनाउँछ । उत्प्रेरणा जगाउँछ । अहर्निश क्रियाशील बन्छ । संगठन गर्छ । कार्यकर्ता, शुभेच्छुक र जनतामा उत्साहको सञ्चार गराइरहन्छ । घच्घच्याइरहन्छ । निराश बन्न दिँदैन । संगठनलाई सजीव राख्छ ।
    संसद् भवनमा निदाएर, जिस्किएर वा अनुपस्थित भएर हरेक महिना मोटो रकम तलब भत्ता खाने निर्लज्ज बथान ठूलो छ । आउँदा दिनमा सातवटा प्रान्त (प्रदेश) का विधानसभा र केन्द्रीय संसद्मा त्यही रोग र प्रवृत्ति दोहोरिन सक्छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रका आज्ञाकारी बन्न तँछाडमछाड हुन सक्छ । राष्ट्रको भलो चिताउनेहरू अल्पमतमा परे भने महाकाली सन्धिजस्ता राष्ट्रघाती कुकर्महरू बल्झिन सक्छन् । स्वधर्म, संस्कृति, परम्परा, राष्ट्रको मूल्यमान्यता र हाम्रा राष्ट्रिय एकताका आधार भत्काउने होडबाजी चल्न सक्छ । त्यसबेला राष्ट्रको रक्षक भएर उभिने राष्ट्रनायक को हुन्छ ? राजनीतिमा दलनायक र गुटनायक मात्र छन् । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र राज्यको चौथो अंग विदेशी रंगले पोतिएको छ । तल्लो वर्गको जनता आफ्नो कुटो र हलोमा जोतिएको छ । विदेशीले हरेक दलमा घोडा चढेका छन् र आफ्ना चिन्तन लादेर दौडाएका छन् । अक्कलबेगरको नक्कल गरेर नेता बन्न खोज्ने प्रवृत्ति त्याग्ने हो भने प्रमुख दलहरूले विदेशीले बोकाइदिएको विषको भारी भीरमा फ्याँकेर अघि बढ्ने साहस गर्नुपर्छ । पहिलो चरणमा उपचार गर्दा क्यान्सर पनि निको हुन्छ, छिप्पिएपछि रोगीले मृत्युवरण गर्नैपर्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑