
मंसिर २२, २०८१
काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गरेका छन् ।
गठबन्धनले १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि पद बाँडफाँट गरेको छ। अध्यक्षका लागि प्रेस चौतारीकी निर्मला शर्मालाई अघि सारिएको छ । महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, र समावेशी सचिवमा सविन प्रियासन रहेका छन् ।
प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, र महासचिवमा रामप्रसाद दाहाल चयन भएका छन् । अन्य सचिवहरूमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली, र अशोक तिवारी रहेका छन् ।
गठबन्धनले प्रदेश र जिल्ला तहमा पनि जिम्मेवारी बाँडफाँट गरेको छ । कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष प्रेस चौतारीले लिनेछन् भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट, र प्रतिष्ठानका अध्यक्ष प्रेस युनियनले पाउने सहमति भएको छ ।
गठबन्धनसँग प्रतिस्पर्धा गर्न प्रेस सेन्टर नेपालले माओवादी केन्द्र र अन्य वामपन्थी समूहहरूसँग संयुक्त प्यानल खडा गरेको छ । अध्यक्ष पदका लागि कमल गिरी उम्मेदवार छन्, जसको समर्थनमा प्रेस सेन्टरका विष्णु सापकोटा र समाजवादी प्रेस संगठनका विश्वमणि सुवेदी रहेका छन् ।
यसअघि महासंघका अध्यक्ष विपुल पोख्रेलले सदस्यता विवादका कारण राजीनामा दिएका थिए । विवाद समाधान भएपछि महाधिवेशनको तयारी भइरहेको छ ।
महाधिवेशनको नतिजाले महासंघको आगामी नेतृत्वको दिशा निर्धारण गर्नेछ । यसपटकको निर्वाचन कांग्रेस र एमालेनिकट संस्थाहरूबीचको सहकार्य र वामपन्थी समूहहरूको संयुक्त मोर्चाबीच रोचक प्रतिस्पर्धामा हुने देखिन्छ । पत्रकारहरू स्वतन्त्र हुनुपर्ने सामान्य मान्यता रहे पनि दलनिकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ । दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन् । यसरी निर्वाचित हुने दलनिकटका व्यक्तिले पत्रकारिता क्षेत्रको व्यावसायिक हितमा कम, दलीय आज्ञा बढी मान्ने गरेका छन् ।
यसपालि निष्कृय पत्रकारहरूलाई हटाउनुपर्ने ुशुद्धीकरणु अभियान चलाइएको थियो । तर, यिनै दलनिकट संगठनहरूले यसमा लामो किचलो गरे । जेठमै हुनुपर्ने निर्वाचन सर्दै(सर्दै मंसिरमा पुगेको हो ।
देशभरि दलमा आवद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन् । तर, नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन । यसले पत्रकारिताको क्षेत्रलाई थप चुनौतीमा पार्ने आशंका गरिएको छ ।
महाधिवेशनको परिणामले पत्रकार महासंघको भविष्य र पत्रकारिताको दिशा निर्धारण गर्ने महत्वपूर्ण भूमिका खेल्नेछ । यसले पत्रकारहरूको पेशागत मान्यता र स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कदम उठाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस