
मंसिर ३० , २०८१
नेपालको पहिलो केबलकार सेवा मनकामना केबलकार दुई दिनका लागि बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनका अनुसार केबलकारको टावर मर्मत सम्भारका लागि आगामी पुस १ र २ गते सेवा बन्द गरिने छ। उनले पुस ३ गते बुधबारदेखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो।
दर्शनार्थीहरूका लागि मनकामना मन्दिरसम्मको यात्रा सहज बनाउन विसं २०५५ मङ्सिर ८ गतेदेखि सुरु गरिएको यो केबलकारले हालसम्म लाखौँ यात्रुहरूको सेवाग्राहीता कायम गरेको छ। चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसस्थित वटम स्टेशनबाट सुरु हुने यस केबलकारले गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध मनकामना मन्दिरसम्मको यात्रा छोटो र सरल बनाएको छ।
रेष्टुरेन्ट सेवा यथावत् रहने
दुई दिनसम्म केबलकार सेवा बन्द रहेपनि वटम स्टेशनस्थित रेष्टुरेन्ट भने नियमित रूपमा सञ्चालन हुनेछ। दर्शनार्थीहरूलाई यो अवधिमा पनि अन्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
धार्मिक महत्त्व र आकर्षण
मनकामना मन्दिर नेपालको प्रसिद्ध धार्मिक स्थल हो, जहाँ दर्शनार्थीहरूको ठूलो संख्याले मनोकामना पूरा हुने विश्वासका साथ पूजा-अर्चना गर्छन्। केबलकारको सुविधा सुरुवात भएपछि यो स्थल पर्यटक र भक्तजनहरूका लागि अझै आकर्षणको केन्द्र बन्न पुगेको छ।
केबलकार सेवा मर्मतपछि थप सुरक्षित र गुणस्तरीय बनाउनका लागि सेवा बन्द गरिएकाले यस अवधिमा यात्रुहरूले अन्य वैकल्पिक माध्यम प्रयोग गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस