
पौष ९, २०८१ / प्रभातराज पाण्डे



भनिन्छ, मान्छेको दुई पटक मृत्यु हुन्छ । एउटा मृत्यु, जो शारीरिक हुन्छ । दोस्रो मृत्यु, जुन स्मृतिमा हुन्छ । शारीरिक मृत्युलाई स्वीकार्नै परेपनि अक्सर मान्छे स्मृतिहरुमा बाँचिरहन चाहन्छन् । विवेक धेरै मानिसको स्मृतिमा बाँचिरहनेछन् ।
विवेक पंगेनी र सिर्जना सुवेदीको जोडीलाई देख्नासाथ हरेकको मनमा स्वतःस्फूर्त प्रतिध्वनित हुन्थ्यो, ‘माया त यस्तो होस् ।’ जो सांसरिक दुनियाँसँग पलपल हारिरहेका थिए, उनीहरु नै प्रेमको अजम्बरी भाषा रच्दै थिए । त्यसैले त उनीहरूको त्यो अटुट सम्बन्ध घर–घरको कथा बनेको थियो । यस्तो कथा, जसले आदर्श प्रेमको वकालत गर्छ । आदर्श प्रेम अर्थात् जहाँ कुनै देहित आकर्षण हुँदैन । कुनै लेनदेन हुँदैन र नाफा–नोक्सानको हिसाब हुँदैन । त्यस्तो निस्वार्थ प्रेम, जसलाई केवल महसुस गर्न सकिन्छ । यस्तै प्रेमका उदाहरण थिए, विवेक र सिर्जना । तर, अब उनीहरू फेरि कहिल्यै एकसाथ देखिने छैनन् । क्यान्सरसँग जुधिरहेका विवेक पंगेनीको हालैमात्र निधन भयो । उनलाई चौथो स्टेजको ब्रेन क्यान्सर थियो र अमेरिकाको अस्पतालमा उपचार गराइरहेका थिए ।
विवेक–सिर्जना कुनै सेलिब्रेटी जोडी थिएनन् । तर, उनीहरूको निस्वार्थ प्रेम, त्याग र समर्पणले धेरैको हृदय पगाल्यो । खासगरी सिर्जना सुवेदी, जसले क्यान्सरग्रस्त पतिलाई कहिल्यै हिम्मत, हौसला र मायाको अभाव हुन दिइनन् । संभवत हरेक रातसँगै छोटिंदै गएको पतिको जीवनलाई उनी सकेसम्म सहज र सौहार्दपूर्ण बनाउने यत्नमा थिइन् । त्यसैले त हरबखत अस्पतालको शैयामा लडिरहेका पतिलाई स्नेहपूर्वक स्याहारसुसार गर्ने, हँसाउने, खेलाउने, घुमाउने गरिरहिन् । र, त्यसैमा उनले आफ्नो खुसी र आकांक्षाहरू पनि समाहित गरिन् ।
उनीहरूको यो प्रेममय सम्बन्ध धेरैका लागि पाठ बन्यो । अस्पतालमा छटपटाइरहेका कतिले उनीहरूबाट ऊर्जा र उत्साह लिए । दुःख र पीडामा बिलौना गरेर मात्र बसिरहनु पर्दैन भन्ने कुरा बुझे । सानोतिनो रोगसँग हिम्मतका साथ जुध्नका लागि प्रेरणा बन्यो । किनभने विवेक यस्तो रोगसँग जुधिरहेका थिए, जसको पूर्ण उपचार चिकित्सा विज्ञानको वशमा थिएन । चौथो चरणको ब्रेन क्यान्सर आफैंमा पीडादायी मात्र होइन मृत्युउन्मुख पनि थियो । एकदिन मर्नु त छँदै थियो । तर, उचित स्याहारसुसार, माया र हौसलाले मृत्युको मिति धकेल्न सकिन्छ भन्नेमा उनीहरू दृढ थिए ।
जटिल रोगले थलिएका एक पतिलाई पीडाबाट मुक्त राख्न र बाँच्नका लागि आत्मविश्वास भरिरहन सिर्जनाले हरसंभव प्रयास गरिरहिन् । कहिल्यै थाकिनन् । कहिल्यै हारिनन् । कहिल्यै रोइनन् । उनको त्यही त्याग र समर्पणले सामाजिक सञ्जालमा करुणा र प्रेमको धुन गुञ्जाइरह्यो । उनीहरूको फोटो, भिडियो राखेर खासगरी टिकटक प्रयोगकर्ताहरूले समर्पित प्रेमको बखान गरिरहे । बर्दिया बढैयाताल गाउँपालिका-५ राजापुर भएका विवेक १२ वर्षअघि पूर्ण छात्रवृत्ति पाएर अध्ययनका लागि अमेरिका पुगेका थिए । उनी भौतिकशास्त्रमा पिएचडी गर्दै थिए ।
त्यसको पाँच वर्ष नबित्दै उनको आमाको निधन भयो । आमा पार्किन्सन्स रोगले थलिएकी थिइन् । अक्सर बुढ्यौलीमा सताउने यो समस्या एक न्यूरोडिजेनेरेटिभ डिसअर्डर हो । आमाको निधनपछि विवेक नेपाल आए । काजक्रिया सकाए । अनि अमेरिका फर्कने तयारीमा लागे । ठीक त्यहीबेला उनको स्वास्थ्यमा पनि समस्या देखियो । उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल गए । रिपोर्टले देखायो, उनलाई क्यान्सर जस्ता रोगले समाइसकेको छ । उनलाई त्यसबेला ब्रेन ट्युमर भएको थाहा भयो । त्यो पनि चौथो स्टेजको ।
अब उनको अमेरिका उडान पढाईभन्दा उपचारका लागि केन्द्रित थियो । अमेरिकामा उनको उपचार सुरु भयो । दुई पटक शल्यक्रिया गरियो । यसबाट ७० प्रतिशत ट्युमर निकाल्न संभव भयो । बाँकी उपचारको लागि किमोथेरापी र रेडिएसन दिनुपर्ने भयो । पति थलिएपछि सिर्जना निरन्तर स्यहारसुसारमा लागिन् । र, त्यस क्षणका कतिपय फोटो भिडियो सामाजिक सञ्जाल खासगरी टिकटकमा राख्न थालिन् । एउटा शिथिल र रोगी जीवनसाथीका लागि सिर्जनाले जसरी आफूलाई समर्पित गरिरिहन्, त्यसले धेरैको हृदय स्पर्श गरिदियो ।
अन्ततः उनीहरु टिकटकमा आदर्श जोडीको रूपमा स्थापित भए । त्यसो त सिर्जना र विवेकको टिकटक यसअघि नै ‘भाइरल’ हुने गरेको थियो । सिर्जनाले आफ्ना पति विवेकलाई नचाउने अभ्यास गराउँथिन् र त्यसैको भिडियो टिकटकमा राख्ने गर्थिन् । त्यसैले सिर्जनालाई टिकटकमा ‘बुढो नचाउने दिदी’ भनेर सम्बोधन गर्थे, धेरैले । उपचार क्रम चलिरहेकै थियो । पछिल्लो समय विवेकको स्वास्थ्य स्थिति क्रमशः नाजुक हुँदै गयो । र, उनलाई बचाउनका लागि गरिएका अनेक प्रयासहरू विफल भयो । विवेकको निधनसँगै यतिबेला धेरैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरिरहेका छन् । पत्नी प्रेम र पत्नी धर्ममा उत्तीर्ण भएपनि मृत्युकै जित भयो । किनकि मृत्यु परम सत्य हो । तर, अपनाउन अत्यन्तै कठिन छ । सिर्जनाले लैला मजनु, मुना मदनले झै भिन्नै प्रेमकहानी कोरेकी छिन्

प्रतिक्रिया दिनुहोस