
माघ ०४, २०८१ / प्रभातराज पाण्डे



गणतन्त्रवादीले नेपालका ‘अन्तिम राजा’ भनेर २०६२/६३ सालपछि घोर अपमान गरेका राजा ज्ञानेन्द्र शाह षड्यन्त्रपूर्वक गद्दीच्यूत भएपछि किन आफ्नो मुलुक छोडेर गएनन् भनेर गणतन्त्र समर्थकले बुद्धिबिनोद गरिरहे तर राजा आफ्नो मुलुक नछोड्नुको कारणबारे मीमांसा गरेनन् । केही प्रश्न विचारणीय र गम्भीर छन् । राजाले संसद् पुनःस्थापना नगरेको भए के हुन्थ्यो ? विदेशीले नयाँ खेल सुरु गर्थे कि मौनधारण गरिरहन्थे ? अथवा, किनाराका साक्षी भएर बस्थे ? आफू बलियो हुन चीन, अमेरिका, भारत वा कुनै शक्तिलाई परराष्ट्र, राष्ट्रिय सुरक्षा आदि अत्यन्तै संवेदनशील विषयमा सहमति, सम्झौता र समझदारी गरेर राजतन्त्रविरोधीहरूलाई दमन गर्ने अवस्था सिर्जना गरिएको भए के हुन्थ्यो ? नेपाल अस्थिर, असहज र अन्योलको बाटोमा हिँड्दा चीन र भारत कति सुरक्षित रहलान् भन्दै अनन्त कालसम्म सुरक्षा सन्धि गरेको भए नेपाली सेना समेत भारतीय “गोर्खा पल्टन” सरह हुने थियो कि अरू शक्तिशाली बन्ने थियो ?
राजा सपरिवार कुनै राष्ट्रमा शरणार्थी भएर बसेको भए नेपालमा चल्ने शक्ति संघर्षको रूप र परिणाम कस्तो हुने थियो ? त्यसबखत यहाँ को सुरक्षित रहन्थे ? आन्दोलनमा सक्रिय दलका केही प्रभावशाली नेतालाई कुनै प्रलोभनमा पारेर अन्य सीमित नेतालाई कठोर कारवाही गर्दा ध्रुवीकरणको दुष्परिणामले आन्दोलनकै रूपरेखा बदलिने सम्भावना थियो कि थिएन ? राजा ज्ञानेन्द्रले किन त्यस्तो बाटो लिएनन् ?
यस्ता उदाहरण धेरै छन् । राजाले आफ्नो मुलुक छोडेर गएको अवस्था हुँदा अराजकता बढेका उदाहरण पनि धेरै छन् । राजा ज्ञानेन्द्रले राजगद्दी त्याग्दा हाँसेर विदा लिए । आवश्यकताको सिद्धान्त भनिए झैँ राष्ट्र र जनताको कल्याण होस् भनेर सत्ता त्यागेर सामान्य नागरिक सरह जीवन बिताउने प्रण गरे । यो नेपालको शान्ति प्रक्रियालाई सहजरूपमा सहयोग गरेको घटना थियो कि थिएन ? उनले शान्ति प्रक्रिया बिथोल्न चाहेको भए । आफ्नो प्रभावमा रहेका राजनीतिक व्यक्तिहरू, जङ्गी, प्रहरी, निजामती लगायतका शक्तिलाई प्रयोग गरेर शान्ति प्रक्रियालाई अर्कै बाटोमा मोड्न सक्थे । तर राष्ट्र र जनताको एकता तथा हितका लागि उनले शक्तिसञ्चय गर्ने प्रयास पनि नगरेर लोकसम्मतिको कदर गर्दै परिवर्तनलाई सामान्यरूपमा लिए । तर गणतन्त्र स्थापना भएपछि राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्ता अत्यन्त कमजोर भयो । के यो राजा ज्ञानेन्द्रले गरेको हो ?
उनी गद्दी त्यागेर जहाँ पुगे पनि लाखौं जनताको माया पाइरहेका छन् । धेरै राजनीतिक दलहरूले राष्ट्र, जनता बिर्सेर स्वार्थकेन्द्रित भएको गुनासो गर्दै राष्ट्रनायकका रूपमा राजाले राष्ट्र सम्हाल्न आग्रह गरिरहेका छन् । केही राजनीतिक नेताले “पूर्वराजा सक्रिय हुनु आपत्तिजनक छ” भने पनि आफ्ना कमी कमजोरीको आत्मसमीक्षा र आत्ममूल्यांकन गरेको पाइँदैन ।राजाले राजदरबार त्यागेर विदेशमा बस्ने इच्छा किन गरेनन् ? किन अर्बौं रुपियाँ खर्च गरेर भव्यमहलमा विदेशतिर बाँकी जीवन बिताउने रहर गरेनन् ? किन विदेशीसंग अपवित्र गठबन्धन गरेर पुनः शक्तिसञ्चय गरेनन् ? घृणा, तिरस्कार, अपमान र निराधार आरोप सहँदै किन उनले मातृभूमिमै बस्ने प्रण गरे ? गणतन्त्रप्रति जनताको मोह बढ्नुको सट्टा घट्दैछ किन ? ठूलो अपराध, कसुर, षड्यन्त्र वा पाप गरेको भए देशका कुना–कुनामा घुमिरहने थिएनन् राजा ज्ञानेन्द्र । गणतन्त्रपछि बनेका सरकारले छानबिन गरेर नारायणहिटी राजदरबारभित्र भएका घटनाको यथार्थ सूचना जानकारी गराउन किन साहस गरेनन् ? किन उनीहरू गालीगलौज मात्रै गरिरहेका छन् ?
राजा दोषी हुन् भने गणतन्त्रवादी नेताले संयुक्त समिति वा आयोग बनाएर किन उनलाई दण्ड दिन सकेनन् ? उनले ठूलो अपराध, कसुर, षड्यन्त्र वा पाप गरेको भए देशका कुना–कुनामा सरल बनेर निर्भीकतापूर्वक घुमिरहने थिएनन् । गणतन्त्रपछि बनेका सरकारले छानबिन गरेर नारायणहिटी राजदरबारभित्र भएका घटनाको यथार्थ सूचना जानकारी गराउन किन साहस गरेनन् ? के उनीहरूले ज्ञानेन्द्र शाहबाट घुस खाएका थिए ? किन, अनर्गल प्रलाप र मिथ्याका बलमा दलका केही नेता आफूलाई उच्च तथा अपरिहार्य देखाउने दुस्साहस गरिरहेका छन् । कुनै दिन “गणतन्त्र चाहिन्छ वा चाहिँदैन” भन्ने जनमत संग्रह भएछ भने “चाहिन्छ” भन्नेहरू बहुमतमा होलान् कि अल्पमतमा ?
राजा ज्ञानेन्द्रले पनि म्याद गुज्रेको संसद् पुनःस्थापना गरेर शान्ति स्थापना होस् भन्ने सदाशयले ‘प्रत्यक्ष शासन’ संवैधानिक र राजनीतिक भूल स्वीकार गरेकै हुन् । विगतका कर्म, कमजोरी वा अहंकार दोहोरिन नदिन आफै उदाहरण बनेकै हुन् । कतिपय दलले त्यसलाई जय र पराजयका रूपमा अपव्याख्या गरे । राजा वीरेन्द्रले नेपाललाई “शान्तिक्षेत्र” घोषणा गर्दा ११६ राष्ट्रको समर्थन पाए पनि भारतले स्वीकार गरेन । त्यस्तै राजा ज्ञानेन्द्रले दरबारका उच्चपदस्थ कर्मचारी, आफन्तजन, समर्थक र प्रियपात्रहरूबाट मद्दत पाएनन् । राजा ज्ञानेन्द्रको देशभक्ति, त्याग, विवेक र उदार प्रवृत्तिको मूल्यांकन नै भएन । मार्च १२, २०२४ मा भारतको ‘हिन्दु’ अंग्रेजी दैनिकले नेपालमा राजतन्त्रको समर्थनमा राष्ट्र बचाउन राजा चाहिन्छ भन्ने आवाज फैलिएको समाचार दियो । धेरै विदेशी अखवार, टेलिभिजन र सामाजिक सञ्जालमा नेपालमा गणतन्त्र बदनाम भएका टिप्पणी, समीक्षा र समाचारहरू आए । केहीले त दलहरूले दुराग्रह राखे पनि नेपालको संरक्षण, सम्बद्र्धन र सम्पोषण निम्ति राष्ट्रिय एकता र मेलमिलाप हुनुपर्ने राजाको धारणा सदाशयपूर्ण र देशभक्तिपूर्ण छ भनेका छन् ।
यहाँ विचारणीय कुरा के छ भने राजाले नारायणहिटी परित्याग गर्दा राजपरिवारकी ज्येष्ठ सदस्य राजा महेन्द्रकी धर्मपत्नी तथा आफ्नी मुमा रत्नराज्यलक्ष्मीदेवी शाहलाई राजदरबारमै बसोबास गर्ने प्रबन्ध मिलाए । राजा महेन्द्रले बनाएको महेन्द्र मन्जिल निवासमा अहिले पनि मुमा रत्नको बसोबास छँदैछ । यसले के सन्देश दिन्छ भन्ने कुरा गणतन्त्रवादीहरूले बुझ्न आवश्यक छ । यस्तै राजाले नारायणहिटीबाट नागार्जुन दरबार प्रस्थान गर्नु अघि दिएको सन्देशमा राजमुकुटका वारेमा जनताको नासो जनतालाई सुम्पेर जाँदैछु भन्नुको तात्पर्य स्पष्ट छ । नेपाली शब्दकोषमा नासोको अर्थ पछि फिर्ता हुने गरी राख्न दिइएको वस्तु भन्ने बुझिन्छ । अन्तर्राष्ट्रिय आयाम, बाह्य षड्यन्त्र तथा शक्तिराष्ट्रहरूको स्वार्थका कारण राजा महेन्द्र र राजा वीरेन्द्रले अनेक घात, प्रतिघात भोग्नुपरेको थियो । ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनका लागि ३६ महिना मात्र मागेका थिए तर विदेशीको आदेश/निर्देशमा दलहरूले काम गर्न दिएनन् । राजा ज्ञानेन्द्रबाट कुनै भूलचुक भएकै छैन भन्नु अतिशयोक्ति हुनेछ तर राष्ट्रघात भएको पाइँदैन । “योग्यं योग्याय दातव्यम्” भन्ने शास्त्रीय मान्यता अनुसार योग्यहरूलाई मात्रै राजकाजमा सहभागी बनाइएको भए त्यसले केही सकारात्मक परिणाम दिने थियो ।
निचोडमा र सारांशमा भन्नुपर्दा राजा ज्ञानेन्द्र प्रबल राष्ट्रबादी राष्ट्रनायक हुन् । उनी विदेशीसँग झुकेनन् र झुक्दैनन् पनि । राजीव गान्धीले उनकै शासनमा भारतीय गुप्तचर संस्था “रअ” मार्फत नेपालको राजतन्त्र समूल नष्ट गर्न चाहेका थिए । राजा ज्ञानेन्द्र फलामका काँडा टेक्दै हिँडे तर पीडा देखाएनन्, उनको हृदयमा धेरै चोट थिए तर आँसु देखाएनन् । राष्ट्र र जनताका लागि ‘कुर्वानी’ गरे तर त्यो बुझिदिने कोही भएनन् ।


प्रतिक्रिया दिनुहोस