आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्ययोजना गोष्ठी चल्दै


  • आक्रमण न्युज
  • २०८१ माघ ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४५९ पाठक संख्या
  • माघ ११, २०८१

    चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्नो आगामी तीन वर्षे कार्ययोजना निर्माणका लागि विशेष गोष्ठीको आयोजना गरेको छ। माडीस्थित शिवद्वार होमस्टेमा भएको पहिलो दिनको गोष्ठीमा महासंघको कार्ययोजना निर्माणमा महत्त्वपूर्ण छलफल र सुझावहरू प्रस्तुत गरेको छ।

    गोष्ठी नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा संचालन भएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारी, पूर्व अध्यक्षहरु महेन्द्रलाल श्रेष्ठ, कृष्ण भण्डारी, जनक अर्याल तथा जन पत्रकार संगठन चितवनका जिल्ला अध्यक्ष होमनाथ न्यौपाने लगायतले आआफ्नो सुझाव व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी र विभिन्न संघ संगठन का प्रमुखहरुको उपस्थिति रहेको थियो ।

    गोष्ठीमा अध्यक्ष बसन्त पराजुलीले तीन वर्षे कार्ययोजनाबारे विस्तृत प्रस्तुत गर्नु भएको थियो। उहाँले महासंघको आगामी कार्यदिशा, पत्रकारहरूको क्षमता अभिवृद्धि, उनीहरूको हक अधिकारका विषय, सञ्चार क्षेत्रमा आइपर्ने चुनौतीहरूको समाधान, र संगठनात्मक सुदृढीकरणका विषयमा प्राथमिकता दिँदै तयार पारिएको कार्ययोजनाको प्रस्तुति गर्नुभयो।

    कार्यक्रममा उपस्थित सहभागीहरूले आफ्ना विचार र सुझाव प्रस्तुत गरेका थिए। विभिन्न क्षेत्रका पत्रकारहरूले स्थानीयस्तरमा सञ्चार क्षेत्रका चुनौती र सम्भावनाबारे अनुभव र दृष्टिकोण राख्दै कार्ययोजनालाई थप समृद्ध बनाउन र व्यवहारिक बनाउनका लागि महत्वपूर्ण सुझावहरू दिएका थिए।

    गोष्ठीका प्रमुख अतिथि दिपक आचार्यले सञ्चार क्षेत्रको भूमिकाको महत्त्वबारे प्रकाश पार्दै यस क्षेत्रलाई थप व्यावसायिक र प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीयस्तरका सञ्चारकर्मीहरूको योगदानको प्रशंसा गर्दै महासंघले आगामी दिनमा पनि पत्रकारहरूको हक अधिकार र क्षमता विकासका लागि निरन्तर कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा सहभागी निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरूले पनि महासंघको प्रगतिमा आफ्नो सुझाव र अनुभव बाँडेका थिए। उनीहरूले नयाँ कार्ययोजनालाई व्यवहारिक, सन्तुलित र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याए।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष पराजुलीले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै तीन वर्षे कार्ययोजनालाई व्यावहारिक रूप दिन सहभागीहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    गोष्ठीले आगामी दिनमा चितवन क्षेत्रका पत्रकारहरूको सुदृढीकरण र पत्रकारिता क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट